बेहिसाब बेरुजु : आँकडा ६ खर्ब ८३ अर्ब

बेहिसाब बेरुजु : आँकडा ६ खर्ब ८३ अर्ब

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३०, २०७५

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा मुलुकको बेरुजु रकम ६ खर्ब ८३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको भन्दा ३६.७१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष कुल बेरुजु रकम पाँच खर्ब आठ करोड रुपैयाँ थियो।

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/७५ लेखापरीक्षणबाट एक खर्ब ४१ अर्ब रुपैयाँ बेरुजु थपिएको जनाएको छ। ‘यो वर्ष कुल ५९ खर्ब ७२ अर्ब रुपैयाँ रकमको लेखापरीक्षण सम्पन्न गरिएको छ,’ शुक्रबार महालेखा परीक्षक कार्यालयको ५६औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षक टंकमणि शर्मा दंगालले भने, ‘त्यसबाट एक खर्ब ४१ अर्ब रुपैयाँ बेरुजु देखिएको छ।’ यो वर्षको कुल बेरुजु रकममध्ये असुल गर्नुपर्ने ३५ अर्ब ४७ करोड रुपैयाँ रहेको उनले बताए। यो कुल बेरुजु रकमको २५.१५ प्रतिशत हो। त्यस्तै नियमित गर्नुपर्ने बेरुजु रकम ५१ अर्ब ६९ करोड र पेस्की ५३ अर्ब ८८ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। आजको नागरिक दैनिकमा खबर छ ।