युरोप हुँदै क्यानडा र जापान पुग्यो ‘नयाँ कोरोना’! नयाँ प्रकार अत्यन्तै सङ्क्रामक !?

युरोप हुँदै क्यानडा र जापान पुग्यो ‘नयाँ कोरोना’!  नयाँ प्रकार अत्यन्तै सङ्क्रामक !?

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १४, २०७७

विश्वभर कोरोना भाइरसविरुद्धको खोप यति बेला तीव्र गतिमा लगाउने क्रम जारी छ । अमेरिका, बेलायतसहित युरोपेली सङ्घमा आबद्ध २७ देशसहित विश्वका विभिन्न देशमा फाइजर/बायोएनटेक कम्पनीले बनाएको र मोडेर्ना कम्पनीको खोप लगाउने क्रम जारी रहेको छ । तर बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारले भने यति बेला फेरि  विश्वलाई चिन्तित तुल्याएको छ । कोरोना भाइरसको यो नयाँ प्रकार अत्यन्तै सङ्क्रामक रहेको समेत बताइएको छ । 

सोमबार नेपालमा पनि बेलायतबाट आएका ५ जनामा कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण पुष्टि भइसकेको छ । बेलायतबाट आएकामा कोरोना पुष्टि भए पनि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइसकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनीहरू हाल क्वारेनटाइनमा बसिरहेको जानकारी दिएको छ । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउनेलाई १० दिन अनिवार्य क्वारेनटाइनमा बस्न भनिएको छ । क्वारेनटाइनमा बसेकामध्ये ५ जनालाई लक्षण देखिएपछि गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ प्रकारको कोरोना हो कि हैन भनेर पत्ता लगाउन उनीहरूको जिन सिक्विनिङ गर्ने तयारी भइरहेको बताइएको छ ।  

कोरोना भाइरसको उत्परिवर्तन

भाइरसको आनुवंशिक परिवर्तन वा ‘म्यूटेशन’लाई सामान्य कुरा मानिन्छ ।  अधिकांश यस्ता परिवर्तनले ठुलो अर्थ राख्दैनन् र भाइरसमा आएको ‘म्युटेशन’ले सङ्क्रामक हुन छाड्छ र आफैँ हराएर जाने पनि हुन्छ । तर कहिलेकाहीँ आएको परिवर्तनले भाइरस थप सङ्क्रामक वा घातक हुने स्वास्थ्यविद्हरुले बताउने गरेका छन् । बेलायतमा हालै देखिएको कोरोना भाइरसको ‘नयाँ स्ट्रेन’ पनि पहिलेको भन्दा धेरै सङ्क्रामक भएको पुष्टि भएको छ । तर यो थप घातक वा खोप प्रतिरोधी छ कि छैन भन्ने प्रमाण फेला परिसकेको अवस्था छैन । 

यद्यपि धेरै सङ्क्रमण भइरहेका स्थानमा यो भाइरस फेला परेको छ भने यसमा धेरै ‘म्युटेशन’ भएका कारण वैज्ञानिकहरूले यसमा ध्यान केन्द्रित गरिरहेका छन् । ‘यसमा एकदमै धेरै ‘म्युटेसन’ भइरहेका छन् । हामीले अपेक्षा गरेकोभन्दा धेरै । अनि केही परिवर्तन रोचक देखिन्छन्,’ कोभिड–१९ जिनोमिक्स यूके (सीओजी–यूके) कन्सोर्सियमका प्राध्यापक निक लोम्यान भन्छन् । 

प्रयोगशालामा गरिएका परीक्षणमा केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको जनाइएको छ । निकै सङ्क्रामक रहेको भए पनि नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण पाइएको छैन । यद्यपि हालै प्रयोगमा ल्याइएका खोप पनि नयाँ प्रकारको भाइरस सङ्क्रमण रोक्न सहयोगी हुन्छ कि हुँदैन भनेर समेत चासो व्यक्त गरिएको छ । 

दुईवटा उल्लेखनीय ‘म्यूटेशन’ भएका देखिन्छन् । दुवै परिवर्तन कोरोना भाइरसको सतहमा देखिने तीखा ‘स्पाईक’ प्रोटिनमा भएका देखिन्छन् । यिनै स्पाईकको सहयोगले कोरोना भाइरस हाम्रो शरीरको कोषमा टाँसिएर भित्र छिर्छन् र रोग सङ्क्रमण गराउँछन् । 

पहिलो ‘म्यूटेशन N501’ हो । यसले स्पाईकको सबैभन्दा महत्त्वपूर्ण भागमा परिवर्तन ल्याएको छ । यस भाग मार्फत नै स्पाइकले मानिसको शरीरको कोषमा पहिलो स्पर्श गर्छ । 

अर्को ‘म्यूटेशन’को नाम ‘ H69/V70 डिलिशन’ हो । यो चाहिँ यसअघि पनि धेरै पटक देखा परिसकेको छ । यो 'म्यूटेशन' भएको भाइरसबाट सङ्क्रमित भएका बिरामीहरूमा कोभिडबाट निको भएका बिरामीको एन्टिबडी प्रयोग गर्दा प्रभावकारी नभएको पाइएको थियो । 

‘हामीलाई थाहा छ नयाँ स्वरूपका भाइरस देखा परेका छन् । तर त्यसको जैविक अर्थ के हो भनेर हामीलाई थाहा छैन’, बर्मिङघम विश्वविद्यालयका प्राध्यापक एलन मक्नाली भन्छन्, ‘यो परिवर्तन कति महत्त्वपूर्ण हो भन्ने निष्कर्षमा पुग्न अहिले हतारो हुन्छ ।’

कहाँ कहाँ देखियो नयाँ भाइरस

निकै संक्रामक पाइएको कोरोना भाइरस बेलायतसहित अन्य कैयौ युरोपेली देश तथा क्यानडा र जापानमा समेत पुष्टि भएको छ । स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध बेलायतबाट फर्केका मानिसहरूसँग पाइएको छ । कोरोनाको नयाँ प्रकार देखिएपछि विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लगाइएको छ । 

कोरोनाको नयाँ प्रकार देखिएको पुष्टि भइरँदा युरोपेली सङ्घमा आबद्ध देशले आफ्ना नागरिकहरूलाई भाइरसविरुद्ध खोप दिन सुरु गरेका छन् । खोप दिन पुरै युरोपेली सङ्घमा समन्वयात्मक ढंगले सुरु गर्नु अगावै थालिएको हो । जर्मन अधिकारीहरूले थप एक दिन पर्खन सक्ने अवस्था नभएको भन्दै ज्येष्ठ नागरिकहरूलाई खोप दिन सुरु गरेको हो । हङ्गेरीको सरकारी समाचार संस्थाले त्यहाँ पहिलो खोप एक जना चिकित्सकलाई दिइएको जनाएको छ । स्लोभाकियाले पनि खोप दिने काम सुरु गरेको छ । 

युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले खोप वितरण गर्ने कार्यप्रति खुसी व्यक्त गर्दै यसलाई आफूहरूको एकताको मार्मिक क्षण बताएकी छन् । वैज्ञानिकहरूले बेलायतमा अनुसन्धान प्रणाली बलियो रहेका कारण भाइरसको नयाँ प्रकार सबैभन्दा पहिला देखिएको हुनसक्ने बताएका छन् । 

विज्ञहरू भन्छन्, ‘सो नयाँ प्रकार यसअघिको भन्दा धेरै सङ्क्रामक भए तापनि त्यो सङ्क्रमितका लागि थप खतरनाक नै हुन्छ भन्ने चाहिन् छैन । नयाँ प्रकारको कोरोना भाइरस सुरुमा सेप्टेम्बरमा इंग्ल्यान्डमा देखा परेको थियो । बेलायतमा जस्तै स्पेनमा पनि ७ जनालाई नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ । 

नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा यसले अरू प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको, यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको तथा प्रयोगशालामा गरिएका परीक्षणमा केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको जनाइएको छ । निकै सङ्क्रामक रहेको भए पनि नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण पाइएको छैन । यद्यपि हालै प्रयोगमा ल्याइएका खोप पनि नयाँ प्रकारको भाइरस सङ्क्रमण रोक्न सहयोगी हुन्छ कि हुँदैन भनेर समेत चासो व्यक्त गरिएको छ । 

एजेन्सीको सहयोगमा