पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि बिम मालिका सङ्घद्वारा पाँच रोपनी जग्गा खरिद

पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि बिम मालिका सङ्घद्वारा पाँच रोपनी जग्गा खरिद

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १४, २०७७

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा पहिराका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि जग्गा खरिद भएको छ । पहिराबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाको स्थायी बसोबासका लागि घर निर्माण गर्न बिम मालिका सङ्घले पाँच रोपनी जग्गा खरिद गरेको हो । गत असार २५ र २६ गतेको पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ घर भत्किएको थियो । आठको मृत्यु र एक जना बेपत्ता भएका थिए । 

घरवास गुमाएका मध्ये एकको काठमाडौँमा घर छ । बीस जनाको अन्यत्र जग्गा छ । घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माणका लागि वडाका जनप्रतिनिधि र अगुवाले पहिचान गरेको जग्गा सङ्घले खरिद गरेको हो । २० लाख रुपैयाँमा बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान नजिकै तल्लोबोट भन्ने ठाउँमा जग्गा खरिद गरिएको समन्वय गर्नुभएका दल शेरबुजाले बताउनुभयो । सो जग्गामा घर निर्माण गरेर पहिरोपीडितलाई हस्तान्तरण गर्ने तयारी भएको छ । स्वदेश तथा विदेशमा रहेका बिमवासीले आर्थिक स्रोत जुटाएका हुन् । वडाध्यक्ष रेशम जुग्जालीले अहिलेसम्म आठ परिवारले सो जग्गामा बन्ने घरमा बस्न सहमत भएका जानकारी दिनुभयो । म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०ले १० घर बनाउने तयारी गरेको छ ।

उनीहरुको पुनःवासका लागि समुदायस्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत सङ्कलन भएको छ । घरवास गुमाएकालाई विदेश र शहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ ।