३०० जना बन्दी क्षमता रहेको विराटनगर कारागारमा ९१८ जना कैदीबन्दी

३०० जना बन्दी  क्षमता रहेको विराटनगर कारागारमा ९१८ जना कैदीबन्दी

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १४, २०७७

मोरङ । मोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ ।  महिला ५०जना र  पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले  पुरुष ८३२ जना , महिला ८४ जना र नाबालक दुई  गरी ९१८ जना रहेका छन् 

कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड–१९ को कारण कसैको ज्यान नगएको जानकारी दिनुभयो । उहाँका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् ।  
    
कारागारमा कैदीबन्दीले सिदाको रुपमा दैनिक एक जनाले ६०  र ७०० ग्राम चामल सरकारबाट प्राप्त गर्दै आएका छन् । यसैगरी दशैँ खर्च ३००रुपैयाँ, जाडोको लुगा खरिद गर्न एक हजार ५२५ रुपैयाँ,गर्मीको लुगाको लागि एक हजार ४०० रुपैयाँ अतिरिक्त  प्रत्येक दुई वर्षमा सिरक डस्नासमेत कैदीलाई दिने गरिएको छ ।

कारागारमा बस्दै आएका कैदीमा जाडो र गर्मी  मौसममा शरीर चिलाउने, हातखुटा सुनिने, छालामा विभिन्न खालका  समस्या देखिने जनाइएको छ । दैनिक छ जनादेखि आठजना कैदी बिरामी हुने गरेका छन् भने उनीहरुको स्वास्थ्य उपचारका लागि कोशी अस्पताल विराटनगरमा लैजाने गरिएको कारागार प्रशासनले जनाएको छ ।
    
कारागारमा कैदी जीवन बिताउने बन्दीहरुको थप आयआर्जनका लागि उनीहरुले  मुडा र  टोपी तथा सामान्य किसिमको काठका सामान पनि बनाउने गरेको र सो बिक्री भएमा उनीहरुले थप आयआर्जन गर्ने गरेको बताइएको छ । महिला कैदीलाई सीपको विकास गर्न उनीहरुलाई कारागार प्रशासनले सिलाइकटाई, व्यूटिपार्लर तालीम दिनुका साथै सिलाइकटाई तालीममा सहयोग पुग्ने उद्देश्यले अहिले पाँच थान सिलाई मेसिन पनि उपलब्ध गराइएको छ । 
    
कारागार प्रशासनका अनुसार जोश र जाँगर भएका धेरै बन्दी सीप विकासमा ध्यान दिने गरेको पाइएको छ भने कतिपयले निराश भएर फुर्सदिलो जीवन बिताइरहेका छन् । सरकारले उपलब्ध गराइरहेको सिदा र रकमले बन्दीको दिनचर्यामा नपुग्ने भएकोले नै उनीहरु मेहनत गर्न चाहेको र यसबाट उनीहरुले अतिरिक्त आम्दानी गर्न सफल भएका छन् । 

कारागारमा रहेका बन्दीमध्ये आर्थिक रुपले सक्षम   व्यक्तिहरु निजी अस्पतालमा गएर उपचार गराउने गरेका छन् ।   कारागार प्रशासनले सानो ठाउँमा धेरै बन्दी राख्दा  जोखिम रहने र उनीहरुको उचित व्यवस्थापनमा समेत समस्या आएको जनाएको छ ।