अझै जोगिएको छ इमान

अझै जोगिएको छ इमान

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३०, २०७५

काठमाडौं । तीन वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाइरहेका सिमल राई गत फागुन पहिलो साता अचानक चर्चामा आए । सामाजिक सञ्जाल फेसबुकमा उनको तारिफ गर्नेको लर्को लाग्यो । ट्याक्सी चलाउने साथीभाइ पनि उनलाई बोलाउँदै फोटो खिच्थे । ‘जीवनमै यस्तो कहिल्यै भएको थिएन,’ उनले सुनाए, ‘हल्का सेलिब्रेटीजस्तो पो भइयो ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार फागुन महिनामा मात्रै १०९७ ट्याक्सी कारबाहीमा परेका थिए । भनेको गन्तव्यमा जान नमानेर ८ सय ४८ र बढी भाडा माग गरेर २ सय ४० कारबाहीमा परेका थिए । यस्तो बेला सिमल ‘हल्काफुल्का सेलिब्रेटी’ कसरी भए ?

फागुन ८ सिमलका निम्ति एउटा सामान्य काम अनायासै असामान्य भइदियो । रातिट्याक्सी चलाउने सिमल बिहानै ५ बजे अनामनगरबाट केही यात्रुलाई लिएर नैकाप पुगे । त्यसपछि लगातार ५ टिप गरे अनि घर पुगेर ट्याक्सी सफा गर्न थाले । त्यही बेला उनले ट्याक्सीको डिक्कीमा एउटा झोला भेटे । कसको झोला होला भन्ने कौतुहलताले झोला खोलेका मात्रै के थिए, उनी चकित भए । झोलाभित्र आठ/दस तोला जति सुन र खुद्रा पैसाको बिटो थियो । तर यात्रुको परिचय खुल्ने कुनै कागजात थिएन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उक्त झोलामा मंगलसुत्र दुई थान, चन्द्रमुखी, तिलहरी, हार, टप एक–एक थान, बेरुवा रिङ तीन थान र नगद १५ हजार ३ सय ८० रुपैयाँ थियो । सामानको मूल्य झन्डै चार लाख थियो । ‘त्यतिबेला मलाई लोभभन्दा पनि को मान्छेले कति दुःखले जोडेको सम्पत्ति होला भन्ने भयो,’ सिमलले भने, ‘झट्ट मनमा कुरा खेल्यो, अर्काको दुःखको कमाइ खायो भने त जिन्दगीभर सराप लाग्छ ।’

रातभर ट्याक्सी चलाएकाले सुत्ने बेला भए पनि अनायासै फेला परेको झोला धनी खोज्ने दायित्व उनमा थियो । उनले ट्राफिक प्रहरीको निःशुल्क १०३ मा फोन गरे । अनि निद्राको माया मारेर सरासर महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाखा पुगे । ट्राफिक प्रहरीको हातमा झोलाभित्रको सामानको मुचुल्का बनाए । अनि झोला बुझाए । त्यही बेला टुप्लुक्कै आइपुगे झोला धनीका आफन्त । आजको कान्तिपुर दैनिकमा खबर छ ।