हिमाली जिल्ला हुम्लाका महिलामा बर्थिङ सेन्टरको आकर्षण

हिमाली जिल्ला हुम्लाका महिलामा बर्थिङ सेन्टरको आकर्षण

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष १५, २०७७

हुम्ला । सुढेनी महिलाको सहायतामा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् ।  सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाई र चङ्खेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज भएको हो ।
 
चङ्खेली गाउँपालिका वडा नं ४ मा रहेको पिप्पलाङमा असोजदेखि बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका छन् । पुस १३ गते सोमबार पहिलो पटक एकजना महिलालाई सेवा प्रदान गरिएको पिप्पलाङ बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स रमिता तामाङले जानकारी दिनुभयो ।
    
बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीले २५ वर्षीया हजारकला लुवारलाई पहिलो पटक सेवा प्रदान गरेका हुन् । बर्थिक सेन्टर स्थापना हुँदा गाउँका महिलाको आकर्षण बढेको नर्स तामाङले जानकारी दिनुभयो । हालसम्म पिप्लाङ बर्थिङ सेन्टरमा आठ महिलाले गर्भ जाँच गराउनुका साथै सोमबार स्वास्थ्यकर्मीको सक्रियतामा एक जनालाई सफलतापूर्वक सुत्केरी गराइएको उहाँले बताउनुभयो ।

यस्तै पुस महिनाभित्रै सुत्केरी हुने चारजना महिला रहेको उनीहरु सबै गर्भजाँचका लागि बर्थिङ सेन्टरमा आउने गरेका छन् । वडा नं ४ का नागरीकलाई सेवा प्रदान गर्ने उद्देश्यकका साथ सीप नेपालले सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गरेको छ । गर्भवती महिलालाई गाउँबस्तीमा सहज रुपमा सुत्केरी गराउन यो सुविधा पिप्पाल, पाली, गाउँलगायत महिलाले पहिलो पटक सेवा पाएका हुन् । 
      
यसअघि यहाँका महिलाले घरमै गाउँका परम्परागत सुढेनीबाट सुत्केरी गराउने गरेको भए पनि अब यसको विस्तारै न्यूनीकरण हुँदै जान लागेको छ । बेथाले निक्कै च्यापेपछि हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लाने गरिन्थ्यो तर अब बर्थिङ सेन्टरको स्थापनाले यो समस्याबाट ग्रामीण बस्तीका महिलाले मुक्ति पाउने भएका छन् । 
    
यहाँका महिलालाई स्वास्थ्य संस्था पुग्नका लागि दुईदेखि तीन घण्टासम्मको पैदल हिँडेर जानुपर्ने अवस्था छ । आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वर्षौंदेखि ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप एक हजार रुपैयाँ र यातायात खर्चबापत रु ४०० सुत्केरी महिलाले पाउने गरेका छन् । यसले गर्दा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिई सन्तान जन्माउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।