केशपोखरीमा झण्डै दुई करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु

केशपोखरीमा झण्डै दुई करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १५, २०७७

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिको केशपोखरीमा झण्डै दुई करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । गाउँपालिका–५ स्थित ग्वालीचौरको केशपोखरी सामुदायिक वनको टाकुरामा दृश्यावलोकन स्तम्भको निर्माण थालनी गरिएको बडिगाड गाउँपालिकाले जनाएको छ ।

अत्यन्तै पर्यटकीय सम्भावना बोकेको सो स्थानमा पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने उद्देश्यका साथ केशपोखरीमा दृश्यावलोकन निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बडिगाड गाउँपालिकाको साझेदारीमा पाँच तलाको दृश्यावलोकन स्तम्भ निर्माण गर्न थालिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभयो । 'गाउँपालिकामा पर्यटकीय सम्भावनाको पहिचान गर्ने क्रममा ग्वालीचौरको केशपोखरी टापु दृश्यालोकनका लागि उत्कृष्ट मानियो', गाउँपालिका अध्यक्ष पाइजाले भन्नुभयो । 

पाइजाका अनुसार कङ्क्रिटबाट निर्माण हुने पाँच तलाको दृश्यावलोकन स्तम्भ दुई वर्षभित्र निर्माण अपेक्षा छ । अहिले स्तम्भ शिलान्यास गरी ठेक्का प्रक्रियामा अगाडि बढेको छ । समुद्री सतहदेखि दुई हजार ६०० मिटर उचाइमा रहेको सो स्तम्भ निर्माण गर्ने स्थलबाट रुकुम, रोल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, पाल्पा, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जा जिल्ला देख्न सकिनेछ ।

केशपोखरी नजिकै रहेको अन्धाअन्धी तालसमेत पुनःनिर्माण गर्ने योजना गाउँपालिकासँग छ । सन् २०३३ मा अन्धाअन्धी ताल फुटेको थियो । ताललाई पुनःनिर्माण गर्नका लागि डिपिआरको काम भइरहेकको छ । बहुवर्षे योजनाअनुसार दृश्यावलोकन स्तम्भ निर्माण थालिएको र आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिनुभयो । 

बडिगाड गाउँपालिकाले दृश्यावलोकन निर्माणमा ५० लाख रुपैयाँ लगानी गर्नेछ । दृश्यावलोकन निर्माणका लागि दुई करोड रुपैयाँ बढी खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । गण्डकी प्रदेश सरकारले बडिगाडकै चमेरे गुफाको पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ यही आर्थिक वर्षमा खर्च गर्न थालेको छ ।