नसुल्झिएका अपराध कथा

नसुल्झिएका अपराध कथा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ३०, २०७५

काठमाडाैं । अपराध अनुसन्धानमा नेपाल प्रहरीको प्रशंसा र आलोचना दुवै हुने गरेको छ । कतिपय जटिल घटनाका अनुसन्धानमा प्रहरी छोटो समयमै सफल भएको छ भने कतिपय घटनाको अनुसन्धान वर्षौँसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । धेरै राम्रा काम गर्दा पनि केही ठूला घटनाको अनुसन्धानमा असफलता हात लाग्दा प्रहरी बर्दीमा दाग लाग्ने गरेको छ । जति मिहिनेत गरे पनि अनुसन्धानमा सफलता नमिल्नुलाई प्रहरी अधिकारीले भाग्यले साथ नदिएको ठान्ने गरेका छन् । विश्वकै अपराध अनुसन्धानमा ९० प्रतिशत मिहिनेत र १० प्रतिशत भाग्यको भूमिका हुने विश्वास गरिन्छ ।

१० साउनमा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना वर्ष ०७५ को सर्वाधिक चर्चामा रह्यो । यो घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धानमै लापरबाही गर्दा प्रहरी मात्र होइन, सरकारसमेत आलोचित बन्यो । तर, करिब नौ महिना हुन लाग्दासमेत प्रहरी अनुसन्धान शून्यमै छ । अनुसन्धानमा लापरबाही गरेको र शोधपुछका लागि बोलाएकाहरूलाई यातना दिएको अभियोगमा आठ प्रहरीविरुद्ध मुद्दा चलिरहेको छ । 

गत ४ भदौमा बबरमहलस्थित घरमै हत्या गरिएका पूर्वराजदूत केशवराज झाका हत्यारालाई पनि प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । प्रहरी अनुसन्धान घटनाको अन्तर्यमा पुग्नै सकेको छैन । आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले हानेर झाको हत्या भएको थियो । एउटा झ्यालको जाली थोरै काटिएको भेटिए पनि हत्यारा कहाँबाट प्रवेश गर्‍यो भन्ने प्रहरीले मेसो नै पाउन सकेको छैन । परिस्थितिजन्य अवस्था हेर्दा उनकै घरका पाले कान्छा तामाङको संलग्नता देखिए पनि प्रमाण नभेटिएकाले उनी छुटिसकेका छन् । छोरा–बुहारी विदेश गएको भोलिपल्टै झाको हत्या भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।