नेकपामा ‘गालीगलौज’को होडबाजीः जनताको दुःखमा हेराहेर, आफूले भनेको नहुँदा रिस फेराफेर !

लोकसंवाद टिप्पणी

नेकपामा ‘गालीगलौज’को  होडबाजीः जनताको दुःखमा हेराहेर, आफूले भनेको नहुँदा रिस फेराफेर !

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १६, २०७७

सत्ता स्वार्थका लागि एक ठाउँ भएका नेकपाका नेताहरुको चर्तिकलाले यतिबेला बजार तताएको छ । करिब २ वर्ष ७ महिनअघि एक पार्टीमा रहेका भनिएका  नेताहरुबीच यतिबेला एक अर्काको पोल खोलाखोला र आरोप–प्रत्यारोपमा होड चलिरहेको छ । नेतादेखि कार्यकर्तासम्म सामाजिक सञ्जालदेखि सडकसम्म एक अर्कोलाई राजनीतिक रुपमा नांगेझार बनाउने अभियान जारी छ । 

२८ कात्तिकमा ५ जना शीर्ष नेताका तर्फबाट प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध प्रवृत्तिगत समस्या र सरकारमा बसेर गरेका कमजोरी औंल्याउँदै एक प्रस्ताव पार्टीमा प्रस्तुत गरे । त्यसलाई प्रधानमन्त्री ओली तथा ओली समूहले त्यो प्रस्तावलाई ‘आरोप पत्रको पुलिन्दा’ भनेर नामकरण दिंदै १३ मंसिरमा ओलीले पनि प्रचण्डमाथि व्यक्तिगत आरोपसहितको ‘प्रत्यारोपत्र’ ल्याएका थिए ।

प्रचण्डसहित ५ जनाको तर्फबाट ल्याइएको भनिएको आरोपसहितको प्रतिवेदन लयाउनका उद्देश्य प्रधानमन्त्री ओलीलाई झुकाउने र केही लाभका पदहरुमा  आफु र आफुु निकटलाई पुर्‍याउने ‘सामूहकि सौदाबाजी’ थियो भने प्रधानमन्त्री ओलीको जम्माजम्मी उद्देश्य भनेको उक्त प्रतिवेदन फिर्ता गराउने थियो ।   

 यी ‘आरोप’ र ‘प्रत्यारोप’ पत्रबाट कोरिएको विभाजन रेखाले अन्ततः   प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमसँगै नेकपा विभाजन यात्राले पूर्णता पायो  । विभाजनलगत्तै एकले अर्कामाथि अनेकौं भाषा, शैली र भावभंगीमा आरोप प्रत्यारोपमा को भन्दा को कमका हिसावले प्रतिश्पर्धा चलिरहेको छ । 

सत्ताको लुछाचुडीमा नेताहरुले देखाएका दैध चरित्रका पछिल्ला केही उदाहरणमात्रै हुन् । नेपाली जनताले परिवर्तनका लागि लडेका हरेक लडाइपछि जनता त्यो व्यवस्थाको मालिक बन्न पाएकै छैनन् । केही थान सीमित मुठ्ठीभर नेता  तीनका आसेपासे बिचौल्याहरुले मोजमस्ती गर्ने साधन बनिरेहको छ । त्यसमा केही धक्का भयो कि उनीहरु प्रतिगमन देखिहाल्छन् । अहिले ओली राजमा त्यसतै देखिएको पनि त्यही हो ।

प्रसंग–१

बुधबार नेकपा (ओली पक्ष) ले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आफू पक्षीय सुदूरपश्चिमका कार्यकर्ताको प्रशिक्षणको आयोजना गर्‍यो । जसलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोे पल्ट बालुवाटार भन्दा बाहिर सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गरे । प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्नेमा केन्द्रित भएको भन्दै आफूले मित्रताको अंगालो लगाउँदा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको उनको आरोप थियो । उनले भने, ‘षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर तीन वर्ष सम्झाएँ । उहाँलाई धुँदाधुँदा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो ।’

ओलीले प्रचण्ड र माधवकुमार नेपालमाथि गरेको यो पहिलो र अन्तिम टिप्पणी होइन । उनले यस्ता दर्जनौं व्यंग्यवाण प्रहार गर्दै आएका छन् । उनले लामो समय एमालेलाई नेतृत्व गरेका माधवकुमार नेपाल अब प्रचण्डको कार्यकर्ता भएको समेत भन्न भ्याए । 

प्रचण्ड र नेपालको व्यवहार र राजनीतिबारे ओली अहिलेसम्म अनविज्ञ रहेको र पार्टी विभाजनपछि मात्रै थाहा पाएका होइनन् । मंगलबारमात्रै ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्धको एक विरोधसभामा प्रचण्ड–नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले आफ्नो आयु १८–२० महिनामात्रै रहेको र पार्टी हस्तान्तरण गर्ने उपयुक्त नेताका रुपमा प्रचण्डलाई पाएको भन्दै पार्टी एकता गरेको उल्लेख गरेका थिए । त्यसो त ओली आफैंले नेकपालाई जेट विमानसँग तुलना गर्दै प्रचण्ड र आफू त्यसको चालक भएको टिप्पणी गरेका थिए । उनले पार्टी एकताका समयमा प्रचण्डको खुबै प्रशंसा गर्ने गर्दथे । तर पार्टीभित्र विवाद बड्दै गएर विभाजनको अवस्थामा आएपछि उनलाई राक्षसीकरण गर्न कुनै कसर दुबै पक्षले बाँकी राखेका छैनन् । 

त्यसो त प्रचण्डले पनि मंगलबार आयोजना गरेको विरोधसभामा ओलीलाई चिन्न आफूहरुले कमजोरी गरेको भन्दै उनी गणतन्त्र समाप्त पार्न लागिपरेको आरोप लगाएका थिए । तिनै प्रचण्ड हुन्, जसले पहिलो पटक ओलीलाई प्रधानमन्त्री बनाउन काँध थापे र केही महिनापछि उनको सरकार ढलाए र कांग्रेस सभापति शेरबहादुर देउवासँग समीकरण गर्दै आफू नै प्रधानमन्त्री हुन पुगेका थिए ।  देउवासँग सहकार्य गरिरहेका बेला त्यसलाई छाडेर पुनः ओली नेतृत्वको एमालेसँग कार्यगत एकता हुँदै पार्टी एकताको तहसम्म पुगे ।  प्रचण्डले त्यसबेला आफूहरु र एमालेबीच विचार मिलेको भन्दै ओलीको प्रशंसा गर्ने गर्थे । 

प्रसंग–२ 
एक वर्षअघि ओली नेतृत्वको सरकारले फोन ट्यापिङ गर्न सक्नेगरी विधेयक ल्यायो । यो विधेयक ल्याउँदा वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री थिए । उनले यो विधेयकको विरोध गरेनन् । उनी सदस्य रहेको मन्त्रीपरिषद्ले ल्याएको कल–ट्यापिङ सम्बन्धी कानुनले अहिले भने आफैलाई अप्ठ्यारोमा पारेपछि विरोध गर्न थालेका छन् । 
विधेयकमा सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापका लागि संदिग्ध वा निगरानीमा रहेका व्यक्ति, संघ संस्थाबाट सार्वजनिक सञ्चार माध्यम वा अन्य माध्यमबाट भएका कुराकानी, श्रव्य, दृश्य वा विद्युतीय संकेत वा विवरणलाई निगरानी, अनुगमन र इन्टरसेप्सन गर्न तथा अभिलेख गर्न पाइने उल्लेख गरिएको छ । 

रोल्पामा आयोजित विरोधसभामा पुनले प्रधानमन्त्री ओलीले ‘कल ट्यापिङ’ गरेको आरोप लगाए । तर ओलीले गरेको यो कामलाई गैरकानुनी भन्न उनीहरुसँग ‘नैतिक दम’ भने छैन । किनकि विधेयकमा अधिकृत तहको कर्मचारीले मनलागेको व्यक्तिको टेलिफोन ट्यापिङ गर्न पाइने स्पष्ट व्यवस्था छ । यो विधेयक ल्याउनुअघि भने यस्तो कार्य गैरकानुनी थियो । पुनले लोकतान्त्रिक मुलुकमा टेलिफोन ट्यापिङ स्वीकार्य नहुने बताए । तर उनी मन्त्री हुँदा यही चेतना उनमा देखिएन । अहिले सत्ताबाट बाहिरिएपछि उनले लोकतन्त्र सम्झिएका छन् । 

प्रसंग–३

उखु किसानलाई मिल सञ्चालकले लामो समयदेखि भुक्तानी नदिएपछि काठमाडौंमा आएर पुसको चिसोमा लामो समयदेखि आन्दोलन गरे । अन्त्यमा सरकारले भुक्तानी नपाईकन टालटुले सहमतिमा चित्त बुझाउनुपरेको छ । यही उधारो सहमति भएको सुनेलगत्तै हृदयघात भएका उखु किसान नारायण राय यादवले ज्यान गुमाए । उखुको भुक्तानी लिन आन्दोलनमा आएका यादवको शवमात्रै घर फर्कियो । यो आन्दोलनमा किसानका समस्या समाधान गर्न कुनै पनि राजनीतिक दलले दृढ रुपमा आवाज उठाएनन् । केही नेताहरु आन्दोलनमा गएपनि त्यो केबल चर्चा बटुल्न गएजस्तो मात्रै थियो । उनीहरुले पनि किसानका समस्या समाधान गर्न राजनीतिक पहल गरेनन् । तर अहिले ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै मुलुका प्रधानमन्त्री भइसकेका ५ नेताहरु कुनै न कुनै रुपमा सडकमा छन् । उनीहरुले लोकतान्त्रिक गणतन्त्र, अधिकार, परिवर्तन र प्रतिगमन सबै देखेका छन् । तर यी नेताहरु जनताले दशकौंदेखि भोग्दै आएको सास्ती, बिचौलियाका कारण किसानले भोग्दै आएको दुःख देखेनन् र उनीहरुका समस्यामा ‘चुँ’ सम्म बोल्ने आँट र हिम्मत  गरिरहेका छैन्न ।  

प्रसंग–४ 

२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा तत्कालीन एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको कीर्तिपुमार पराजित भए । उनी सिरहाबाट पनि पराजय नजिक पुगेका थिए । तर एकाएक मतगणना स्थगित भयो र पछि भएको मतगणनामा उनी विजयी भएको घोषण गरिएको थियो । उनले पराजित गरेका लीला श्रेष्ठ यतिबेला मन्त्री छन् । त्यसबेला प्रचण्ड विजयी भएको नभई जिताइएको अनुमान त्यसबेलै लगाइएको हो । तर अहिले आएर तत्कालीन एनेकपा (माओवादी) का नेता र हाल नेकपा ओली पक्षका नेता लेखराज भट्टले प्रचण्डलाई बत्ती निभाएर मतपेटिका साटेर चुनाव जिताइएको  आरोप लगाएका  छन् । उनी प्रचण्डको सिफारिसमा नै ओली सरकारमा मन्त्री भएका हुन् । पार्टी एक हुँदा सम्म प्रचण्डलाई जिताएको सो घटनालाई जायज ठानेका भट्टले पार्टी विभाजित हुनेबित्तिकै त्यसलाई नाजायज ठाने र बुधबार भएको कार्यकर्ता भेलामा यो कुरा सार्वजनिक रुपमा आराेप लगाए । 

यी त सत्ताको लुछाचुडीमा नेताहरुले देखाएका दैध चरित्रका पछिल्ला केही उदाहरणमात्रै हुन् । नेपाली जनताले परिवर्तनका लागि लडेका हरेक लडाइपछि जनता त्यो व्यवस्थाको मालिक बन्न पाएकै छैनन् । केही थान सीमित मुठ्ठीभर नेता  तीनका आसेपासे बिचौल्याहरुले मोजमस्ती गर्ने साधन बनिरेहको छ । त्यसमा केही धक्का भयो कि उनीहरु प्रतिगमन देखिहाल्छन् । अहिले ओली राजमा त्यसतै देखिएको पनि त्यही हो । 

यस्ता दर्जनौँ उदाहरणले अहिलेका राजनीतिक दल र नेताहरूको मुखमा परिवर्तन तथा लोकतन्त्र र व्यवहारमा कति जनविरोधी छन् भन्ने पुष्टि हुन्छ । जनताका दुःख र समस्यामा हेराहेर गर्ने राजनीतिक दलहरूले आफ्नो सत्ता स्वार्थमा धक्का लाग्ने बित्तिकै देखाएको ‘गाईजात्रे प्रहसन’ले उनीहरूको चरित्रलाई उदाङ्गो पारिरहेको छ अर्थात् हेर्न र जनता विवश छन् । । अझै कति पोल खोलाखोल र हिलो छेपाछेप  गर्ने हुन  त्यो चाहिँ आउँदो समय थप  नेपाल र नेपालीलाई  पिडा भुक्तान गर्न बाध्य हुनुपर्ने छ ।