फागुनमा वार्षिक परीक्षा सञ्चालन गरेर नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा नाम्खा

फागुनमा वार्षिक परीक्षा सञ्चालन गरेर नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा नाम्खा

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष १६, २०७७

हुम्ला । जिल्लाका अन्य छ वटा गाउँपालिकाले हिउँदमा चिसो अत्यधिक हुने भएकाले फागुनमा वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् । गत वर्षको चैत महिनाबाट कोरोना सङ्क्रमण त्रासका कारण विद्यालय बन्द भएपछि हिउँदे बिदा सकाएर फागुनमा वार्षिक परीक्षा सञ्चालन गरेर नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो । 

हिउँदको समयमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएकाले हिउँदको समयमा पठनपाठन नगरी फागुनमा नयाँ वार्षिक परीक्षा गरेर पुनः नयाँ शैक्षिक सत्र शुरु गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो । नाम्खा गाउँपालिकाको महाबौद्ध याल्वाङसहित अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि शैक्षिक संस्था बन्द गरेर फागुनमा हिमपात नभएमा वार्षिक परीक्षा गरिने भएको अध्यक्ष लामाले बताउनुभयो । 

मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर पुस, माघ दुई महिना हिउँदे बिदा हुने भए पनि यो वर्ष कोरोनाका कारण पठनपाठन नहुँदा फागुनभित्रै परीक्षा सञ्चालन गरी शैक्षिक सत्र शुरु गरिने भएको हो । उत्तरी नाम्खा गाउँपालिकामा चिसो अत्यधिक हुने भएकाले कात्तिक महिनामा नै वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने गथ्र्यो तर यो वर्ष कोरोनाका कारण सिधै फागुनमा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।