दशाैँ संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने

दशाैँ संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष १६, २०७७

लहान । दशाैँ संस्करणको पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता लहानमा हुने भएको छ । यही पुस २९ देखि आगामी माघ ३ सम्म गोलबजारमा हुने प्रतियोगितामा पुरुष र महिला एकल, पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यू–१७ एकल तथा ४५ वर्ष उमेरभन्दा बढीको भेट्रान्स युगल विधामा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घमा आबद्ध ४७ जिल्लाका खेलाडी तथा विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबका गरी झण्डै दुई सय खेलाडीको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा क्वाटरफाइनलमा विजयी हुने खेलाडीले जनही आठ हजार रुपैयाँ, सेमिफाइनलमा विजयी हुनेले १६ हजार तथा विजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । पुरुष र महिला एकल, युगल तथा भेट्रान्स युगलका विजेताले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ तथा सेमिफाइनलमा पुग्ने खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने सङ्घले जनाएको छ । 

यस्तै छात्रछात्रातर्फ यू–१७ का विजेताले  १५ हजार रुपैयाँ, उपविजेताले आठ हजार रुपैयाँ तथा सेमिफाइनलमा प्रवेश गर्नेले  चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता  ब्याडमिन्टन सङ्घ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको हो ।