फूलहरूको राजा गुलाफ : नामाकरण र विश्व बगैचाकाे नालीबेली

फूलहरूको राजा गुलाफ : नामाकरण र  विश्व बगैचाकाे नालीबेली

आशिष पौडेल  |  दृष्टिकोण  |  पुष १६, २०७७

A thing of beauty is a joy forever —John Keats
सुन्दरताको चिज सदा आनन्दको चिज हो —जोन किट्स

उहाँका दर्जनौं परिचय छन् । तर, अब ती पुराना भए । र, उहाँलाई अब ती परिचयबाट पुनः परिचित हुने कुनै रहर छैन । यसकारण हामी पनि उहाँको नयाँ परिचय केलाउने, खोतल्ने र उजागर गर्ने कोशिश गरिरहेका छौं । 

विश्व बस्नेत नामै काफि छ । यो नाममा क्यान्सरको वैकल्पिक उपचार पद्धतिका अनुसन्धाता, अध्यात्म साधक, अध्येता हालै जोडिएको परिचय हो । अझ यसमा थप गर्नुपर्ने एउटा विधा छ, प्रकृतिप्रेमी र गुलाफ विज्ञ । 

फूल गुलाफको...
उषाको लालीमा 
आँखा मिच्दै
शीतका थोपाहरुले 
नित्य चोखिएर
मन्द हवाको गती सँगै
ताल मिलाउँदै
रवीको रोशनीमा
मुसुक्क हाँसेर
मनै लोभ्याईदिने,
जती हेर्‍यो, 
 हेरी रहुँ झै लाग्ने
अति सुन्दर 
सुगन्धमय
'फूलबारीकी रानी' 
फूल हो यो गुलाफको !

-बिस्व बस्नेत

नायक भएका कारण नै गुलाफको सुन्दरता र सौन्दर्यले तानेको त होइन भन्दा उहाँ यसलाई नकार्नुहुन्छ । यो सबको कारण रहेछ उहाँको अध्ययनप्रतिको रुचि । 

उहाँको एक जना काका हुनुहुन्थ्यो नगेन्द्रबहादुर बस्नेत, जो झापा तोपगाछीको प्रधानपञ्च समेत हुनुहुन्थ्यो पञ्चायतका बेला । उहाँको घर थियो धरानमा । उहाँ कहिलेकाहीँ काकाकोमा जानुहुन्थ्यो । त्यहाँ उहाँको घरमा पुस्तकालय थियो । अनि त्यहाँ बस्दा उहाँले सबै पुस्तक पढेर सकाउनु भयो । 

कतिपय पढ्ने मानिसको एक प्रकारका किताब पढ्ने स्वभाव हुन्छ । तर, उहाँ भने फिक्सनदेखि ननफिक्सनसम्म जुनसुकै विषयवस्तुका किताब पनि पढ्ने । जस्तै : अगाथा क्रिस्टीका मर्डर मिस्ट्री र जेम्स बन्डका स्पाई थ्रिलर देखी लिएर रोम्यान्स, वेस्टर्न, हरर, एडभेन्चर, साईन्स फिक्शन, वार, हिस्टोरिकल तथा अन्य । अनि ननफिक्शनमा ‘हाउ टु विन फ्रेनड्स एण्ड इन्फ्ल्युयन्स पिपल’ र ‘थिंक एण्ड ग्रो रिच’ देखी ‘अटोवायोग्राफी अफ अ योगी’ र ‘लिभिङ विथ द हिमालयन मास्टर्स’ सम्म । 

त्यहाँ एउटा फोटैफोटा भएको फूलको आकर्षक किताब पनि थियो । अब अरु सबै किताब त पढिसकियो भने यो मात्रै किन बाँकी राख्ने भनेर उहाँले त्यो पनि पढी सिध्याउनु भयो । त्यसले उहाँलाई फूलप्रति आकर्षित गरायो । र, धेरै फूलको बारेमा ज्ञान भयो र नाम पनि । 

स्रब रोज जातको गुलाफ बाेनिका :  Shrub Rose : Bonica 
'रोज हल अफ फेम'  मा मनोनित सन् २००३

अधिकांश नेपालीहरूलाई गुलाफ, सयपत्री, मखमली, कमल, भ्यागुते फूल, गोदावरी, लालुपाते, सूर्यमुखी, इन्द्र कमल आदि आठ, दस वटा भन्दा बढी फूलहरूको बाहेक नाम थाहा हुँदैन । धेरै जसो फूलहरूका नेपालीमा नाम समेत हुँदैनन् अतः अङ्ग्रेजी नाम नै याद गर्नुपर्ने हुन्छ जुन अक्सर नेपालीहरूलाई थाहा हुँदैन । 

नेपाली नामाकरण नभएका यस्ता फूलमा, म्याग्नोलिया, एन्थुरियम, एलिसम, क्यामोमाईल, फ्लक्स, भर्बिना, बर्ड अफ प्याराडाईज, एस्टर, एजालिया, बेगोनिया, क्यालेन्डुुला, कार्नेशन, कोसमस, साईक्लामेन, ड्याफोडिल, डेल्फिनियम, जेरानियम, होलीहक्, ह्यासिन्थ, ईम्पेसियन्स, मर्निङ ग्लोरी, न्यास्टर्टियम, भायोलेट, र्यानन्कुलस, जिनिया, क्लेम्याटिस, प्यान्जी, पेटुनिया, फक्सग्लोब, पियोनी, एमराईलिस, पिस लिली आदि । तर दार्जिलिङ, कालेबुङ तिरका नेपालीहरू भने फूलहरू प्रति चाख र चाह राख्ने हुन्छन् अनि त्यहाँ फूलका नर्सरीहरु पनि धेरै छन् ।

१० देखी २०, २५ पात (petals) को सेमी डबल गुलाफ: ग्राह्याम स्टुवार्ट थमस्  
Simi-double : Graham Stuart Thomas

अनि धरानबाट फर्किएर विराटनगर घर गएपछि उहाँले फूल किनेर लगाउन थाल्नुभयो । त्यसै सिलसिलामा गुलाफको बारेमा थाहा हुने एक दुई जना साथीसँग भेट भयो । गुलाफको बारेमा कुरा हुन थाल्यो । अनि एक जना साथीसँग गुलाफको किताब पनि रहेछ डा. वि.पी. पाल द्वारा लिखित  ‘द रोज इन इण्डिया’ । 

त्यो किताब पढेपछि हरेक गुलाफको नाम हुँदो रहेछ, प्यारेन्टेज हुँदो रहेछ, कुनबाट क्रस गरेर बनाएको पनि हुँदो रहेछ, कसले उत्पादन गरेको पनि हुँदो रहेछ साथै कुन देशबाट कुन सालमा प्रस्तुत भएको अनि कुन देशको कुन पुरस्कार पाएको आदिका बारेमा जानकारी समेत भयो ।  

त्यो पुस्तकले गुलाफमा जति प्रजाति तथा विविधता अन्य फूलमा नहुने कुराको पनि जानकारी भयो । साथै गुलाफ सुगन्धित तथा सुगन्ध रहित, रङ्गमा हुने विविधता तथा अन्य विशेषताका कारण आफैँमा विशेष मानिएको रहेछ । 

गुलाफको आकार प्रकार, रङ्ग, अत्तर, इसेन्सियल आयल, औषधि लगायत अन्य थुप्रै बहु आयामिक उपयोग भएका कारण पनि गुलाफलाई फूलको राजा मानिएको रहेछ । गुलाफको वासनामा समेत विविधता पाइन्छ । फ्रुटी, डमास्क, स्पाईसी, टि सेन्टेड, मस्क, मर, सिट्रस लगायत अन्य । 

जसरी गुलाफको आफ्नै विशेषता छ, विश्व बस्नेतको पनि आफ्नै । उहाँको अङ्ग्रेजीमा लेखिएको गुलाफ सम्बन्धी यो कविताले यसै भन्छ:

The Rose Is My Favorite Flower

Everybody says it, it’s true,                      
No doubt it’s my choice too,
Since above all others it towers,
The Rose is my favorite, among flowers.

The smell, the shape, the colours,
The size of plants and flowers,
A mind boggling infinite variety
Which in the plant world is a rarity.

Except for pure blue and charcoal black
Which unfortunately the rose world lacks,
Numerous shades and colours to choose from
Among those in which they come.

Pink, red, yellow, orange, white and cream,
To those which are coloured even green.
Bicolours, multicolours, even those with streaks,
To ones with a different colour on the petals' tips.

With a choice to satisfy every kind of taste,
In selecting the plants do not make haste.
First, know the subtle and generic differences
Between miniatures, floribundas and hybrid tea roses.

Understand that there are roses fascinating
To gratify every need and flavours scintillating,
For there are unlimited sizes and shapes
From thumb−nailed ones to as large as diner plates.

From the little ones that fill a six inch pot,
To the giant climbers that cover a parking lot.
Tree rose, bush rose, specimen and climbers
To decorate beds, borders, pergolas and pillars.

From the tea scented roses to the spicy, fruity ones,
To over powering damask, the true rose fragrance,
Made even Juliet respond in her balcony speech:
'A rose by any other name would smell as sweet'.

The petals can be made into sweet tasting jelly.
Some berries can be eaten when ripe and cherry.
Attar of roses, is yet another product in demand,
The 'rose−water' has its own place of command.

'Queen of the Garden', no wonder it is called
Among all the flowers found in the world.
I cannot explain its irresistible power,
As the rose indeed is my favorite flower.

Bishwa Basnet July14, 2003

गुलाफको सेन्ट संसारभर चर्चित छ । साथै गुलाफको इसेन्सियल आयल संसारकौ सबैभन्दा महंगो इसेन्सियल आयलका रुपमा मानिन्छ । झण्डै तीनसय किलो गुलाफबाट दश एम.एल. इसेन्सियल आयल निस्कन्छ । यसको मूल्य झण्डै दशलाख रुपैयाँ पर्छ एक लिटरको । 

नेपालमा दुइ प्रकारका रैथाने गुलाफ अधिक देखिन्छन । हल्का गुलाफी रङ्गको डबल र सेतो सिंगल । रैथाने बोटको रोगसँग लड्न सक्ने क्षमता र जरा बलियो हुने हुनाले त्यसलाई रुट स्टक् (root stock)को रुपमा प्रयोग गरिन्छ अर्थात विकसीत जातको गुलाफलाई त्यसमा कलमी गर्ने गरिन्छ । 

गुलाफ पाँच पत्र (पेटल्स/petals) भएको सिंगल, १० देखी २० पत्र भएको सेमीडबल अनी २५, ३० देखी १०० या बढी पत्र भएको डबल पनि हुने गर्छ । 

सिंगल ५ पाते (petals) गुलाफ : सिम्प्ली चार्मिङ 
Single rose: Simply Charming

गुलाफको बारे यति धेरै ज्ञान भई सके पछि आफैंले गुलाफ लगाउनु र फुलाउने चाहना राख्नु स्वाभाविक हो । अतः विराटनगरको घरमै उहाँले गुलाफको नाम सहितको बिरुवाहरू त्यहाँ स्थित एक नर्सरी मार्फत मगाएर लगाउन थाल्नुभयो । अनि त्यो गार्डेन सानो भए पनि सिजनमा निकै आकर्षक देखिन्थ्यो अनि विराटनगरका मानिसहरू हेर्न समेत आउने गर्थे । 

पछि काठमाडौँमा पनि उहाँले छिमेकी तथा हालका सन्त राप्रपाका धार्मिक संयोजक पुष्पराज पुरुष सँग मिलेर सिनामंगलमा एउटा जग्गा लिएर दुई सय थरीका १२०० जति गुलाफका नाम सहितका बिरुवाहरू ल्याएर रोज गार्डन समेत सञ्चालन  गर्नुभयो । केही समय पछि त्यो गार्डेन पत्रकार आनन्द राई र उहाँले सञ्चालनमा ल्याउनुभयो । तर, विभिन्न कारणले त्यसलाई निरन्तरता दिन भने सक्नुभएन । त्यसमध्येको एउटा कारण थियो जग्गा भाडाको हुनु अथवा आफ्नो नहुन । 

संसारमा यसअघि नै अत्यन्त सुन्दर गुलाफहरू रहेका छन् । यस कारण पनि बजारमा जहिले पनि ती भन्दा राम्रा तथा आकर्षक गुलाफको माग हुने गर्छ । यसै कुरालाई मध्यनजर गरी युरोप, अमेरिकातिर गुलाफको पुस्तैनी व्यवसाय गर्ने नर्सरीहरुले सालै पिछे सयौँ नयाँ गुलाफहरू विकास/उत्पादन गर्ने गर्छन् । अनि ती मध्ये आफ्नो उत्कृष्ट उत्पादन संसारका विभिन्न देशमा हुने गुलाफ प्रतियोगितामा पठाउने गर्छन् । जहाँ संसार भरीका अन्य उत्पादकहरूले पनि आफ्नो उत्पादन त्यहाँ पठाएका हुन्छन् । 

१० देखी २०, २५ पात (petals) को सेमी–डबल गुलाफ : ब्लु फर यु 
Semi-double Floribunda: Blue For You
'
रोयल हर्टिकल्चरल सोसाईटी' को 'अवार्ड अफ गार्डेन मेरिट'  पुरस्कार बिजेता सन् २००६

अमेरिकन रोज सोसाईटीको गुलाफ परिक्षण गर्ने ५ वटा टेस्ट गार्डेनहरु छन् जुन अमेरिकाको विभिन्न राज्यहरुमा विविध हावापानी भएका स्थलहरुमा अवस्थित छन । जहाँ अमेरिका भित्रका साथै विभिन्न देशबाट प्राप्त भएका नयाँ गुलाफहरुको परिक्षण गरिन्छ । 

प्रत्येक महिना उनीहरुले त्यहाँ गएर त्यसको आकार, प्रकार, रंग, टिकाउ अवधि आदि विभिन्न गुणहरुको निरीक्षण गर्ने गर्छन् । त्यहाँ दुई वर्ष कडा परिक्षण पश्चात ती मध्येका पनि सर्वोत्कृष्ट जुन हरेक टेस्ट सेन्टरमा सफल सावित भएका हुन्छन, लाई चुनेर उत्पादकलाई सूचना गरिन्छ र ‘अल अमेरिका रोज सेलेक्शन अवार्ड (AARS)’ विजेता घोषणा गरी पुरष्कृत गरिन्छ । 

यति बेलासम्म ती गुलाफहरुको नम्बर मात्र हुन्छ नाम हुँदैन । पछि मात्र उत्पादकले आफ्नो चाह अनुसारको नामाकरण गरेर बजारमा ल्याउँछन । यसरी हरेक साल दुई, चार वटा विशिष्ट प्रकारका गुलाफहरु बजारमा आउने गर्छन् । 

गुलाफको नामाकरणको पनि बडो रमाइलो किस्सा छ । यसको नाम विभिन्न राजनेता जस्तै अब्राहम लिंकन, जोन अफ केनेडी, क्वीन एलिजावेथदेखि विभिन्न नामबाट गर्ने गरिएको पाइन्छ । 

कसैले भने आफ्नो परिवारको नाम पनि राख्ने गर्छन् । फ्रान्सको पापा मिलाँ, बेलायतको रोजमेरी हार्कनेस यस्तै नाम हुन् । चलचित्र अभिनेता, अभिनेत्री, गायक तथा अन्य विशिष्ट व्यक्तिहरुको नाम बाट पनि गुलाफहरु छन जस्तै : ईन्ग्रीड वर्गम्यान, लिन एन्डरसन्, ज्युडी गाल्यान्ड, बार्बरा स्ट्राईसेन, क्यारी ग्रान्ट, बिटलका गायक पल म्याकार्थी, क्रिस्टियन डियोर, आदि । 

रंङ्गबाट  ह्वाईट मास्टरपिस, ब्ल्याक लेडी, अरेन्ज सेन्सेशन, एलेक्स रेड् , क्रिमसन ग्लोरी, ब्लु मून, गोल्डन जायन्ट, डीप पर्पल, पिंक चार्म, स्कार्लेट पर्फेक्शन आदि । 

ठाउँको नाम बाट जस्तै: मन्ट्रीयल, सिटी अफ बेल्फास्ट, क्युबेक् , स्रेभेपोर्ट, ओक्लाहोमा, लास् भेगस् । तथा अन्य विविधः लभ, एन्जलिक्, एपोलो, ब्रान्डी, फ्राग्रेन्ट ड्रिम, ह्यापी डेज, लभर्स मिटीङ, भेल्भेट फ्रागेन्स, पर्फियुम डिलाईट, समर सनशाईन, प्याराडाईज, ओरियन्ट एक्सप्रेस, टच अफ क्लास आदि । 

स्व. बहामहारानी ऐश्वर्यको नामको पनि गुलाफ रहेको छ । जसलाई गुलाफ उत्पादक (फ्रेनडस रोजरी, लखनाउ) ले दरबारको स्वीकृति लिएर नामाकरण गरेको भनेर उल्लेख गरेको पाइन्छ । 

केही विश्व प्रशिध्द गुलाफहरुका नाम यस प्रकार छ :
'वर्ल्ड फेडरेशन अफ रोज सोसाईटी' ले ' रोज हल अफ फेम' का लागि अनुमोदन गरेको मितिका साथमा । जुन हरेक तीन वर्षमा हुन्छ । 

पिस (Peace- 1976)
क्वीन एलिजाबेथ (Queen Elizabeth- 1979)
फ्राग्रेन्ट क्लाउड (Fragrant Cloud- 1981)
आईसवर्ग (Iceberg- 1983)
डबल डिलाईट (Double Delight- 1985)
पापा मिलाँ (Papa Meilland- 1988) 
पास्कली (Pascali- 1991)  
जस्ट जाेए ( Just Joey- 1994)
न्यु डन्  (New Dawn- 1997)
ईन्ग्रिड बर्गम्यान (Ingrid Bergman- 2000)
बोनिका  (Bonica- 2003) 
एलिना (Elina-2006) 
पेरी डी राेन्सार्ड (Pierre de Ronsard 2006 )
ग्राह्याम थमस्  (Graham Thomas- 2009)
स्याली होल्मस् (Sally Holmes- 2012)
कक्टेल (Cocktail- 2015)
नक् आउट् (Knock Out- 2018)

केही विश्व विख्यात गुलाफ उत्पादक र नर्सरीहरु :

Meilland International, France
Harkness Roses, UK
David Austin Roses, Uk
Dickson Roses,  Belfast, Northern Ireland
Kordes Roses, Schleswig-Holstein, Germany
Jackson & Perkins, South Carolina, USA
Ralph S. MooreCalifornia, USA

Weeks Roses, California, USA
De Ruiter Innovations, The Netherlands
Sam McGredy, New Zealand 
Ludwig's Roses, South Africa

तर, नेपालमा भने नर्सरी संचालकलाई गुलाफको नाम तथा ब्राण्डका बारेमा खासै थाहा भएको पाइँदैन । उही परम्परागत रुपमा रातो, सेतो गुलाफी मात्र भन्ने गरिएको पाइन्छ ।

तर, यसमा यदि तपाईँले खरिद गरेको गुलाफ मर्यो र लिन जानु पर्यो भने उही गुलाफ नपर्न सक्छ । किनकि सेतो, रातो भन्दैमा त्यहाँ एउटै जात र गुणको गुलाफ हुन्छ भन्ने कुराको केही ग्यारेण्टी छैन । किनकी त्यही रङ्गका सयौं गुलाफ हुन्छन तर बोट, आकार, प्रकार, सुगन्ध आदि फरक फरक हुन्छ । त्यसैले नाम थाहा हुनु अति आवश्यक छ । 

गुलाफको अत्तर, कट फ्लावर तथा बेर्ना बेच्ने लगायत विभिन्न व्यवसाय हुन्छन् । बुल्गेरिया संसारमा अत्तर तथा गुलाफको फूलको लागि प्रख्यात मानिन्छ । 

यदि गुलाफको एउटा सुइरोबाट एउटै फूल फल्छ भने त्यसलाई  'र्हइब्रिड टि' भनिन्छ, यसको फूल ठूलो हुन्छ । अनि एउटा सुइरोबाट चारपाँचवटा फुल्छ भने त्यसलाई फ्लोरीबुन्डा भनिन्छ । यो भने हाइब्रिड टि भन्दा सानो हुन्छ तर झुप्पा झुप्पा फुल्छ । 

६ इन्च सम्म चौडा हुने 'रोज अफ दि सेन्च्युरी'  उपाधी पाएको तथा 'वर्ल्ड फेडरेशन अफ रोज सोसाईटी'  ले सन् १९७७ मा 'रोज हल अफ फेम' मा मनोनित गरेको प्रथम गुलाफ हो हाईब्रिड टी जातको : पीस  
Hybrid Tea Rose: Peace bred by Meilland, France

मिनिएचर भन्ने जाति भने हाम्रो बुढी औंलाको नङदेखि सानो सानो कागती जत्रो पनि हुन्छ । भुँइमा फुल्नेलाई ग्राउण्ड कभर भनिन्छ । लहरा जानेलाई क्लाइम्बर भनिन्छ । त्यस्तै ट्री रोज (अथवा स्ट्यान्डर्ड रोज ), स्रब रोज, ल्यान्डस्केप तथा अन्य पनि हुन्छन । 

गमलामा मिनीएचर गुलाफ : सन्ब्लेज
Miniature rose: Sunblaze

गुलाफ मात्र उत्पादन गर्ने संसारका विभिन्न उत्पादक मध्ये अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, दक्षिण अफ्रिका, ईटली आदि प्रख्यात छन । न्युजिल्याण्ड, जापान, चिन, स्पेन आदिले पनि यस्ता गुलाफ उत्पादन गर्छन् । भारतमा पनि केही नर्सरीहरु छन गुलाफ उत्पादन गर्ने तर यिनीहरु विदेशी कम्पनीहरु जस्तो प्रख्यात वा उच्च स्तरका छैनन् । 

औलाको टुप्पा जत्रो मिनीएचर रोज 
Thumb sized miniature rose

भारतका भूतपूर्व राष्ट्रपति जाकिर हुसेनको नामबाट चन्डीगढ स्थित जाकिर रोज गार्डेन निकै प्रख्यात छ । र यो संसारकै ठूलो गुलाफको बगैचा मध्येमा मानिन्छ । यसको क्षेत्रफल ३० एकडको रहेको छ । 

नेपालमा भने आफू बाहेक गुलाफको बारेमा अध्ययन गर्ने अनि रुचि राख्ने अर्को एकजना कर्पुर राणा नाम गरेका व्यक्ति हुनुहुन्थ्यो, उहाँ भन्नुुहुन्छ । उहाँको घरमा पनि गुलाफको राम्रो कलेक्शन थियो । वहाँ झम्सिखेल निवासी तथा जुनी फिल्मका लगानीकर्ता समेत हुनुहुन्थ्यो । 

नेपालमा बालाजु, त्रिभुवन विश्वविद्यालय तथा त्रिभुवन पार्कमा गुलाफका केही संकलनहरु रहेको पाइन्छ । तर ती प्राय पुराना र आउटडेटेड छन् । 

गुलाफको औपचारिक बगैचा : पेगी रकफेलर रोज गार्डन, न्यु योर्क 

विश्व विख्यात अन्तर्राष्ट्रिय गुलाफका बगै‌ंचा 

Elizabeth Park Rose Garden, Hartford, UK
Queen Mary's Gardens, London, UK
Royal National Rose Society Display Gardens, Hertfordshire, UK
David Austin Rose Gardens, Albrighton, UK
Belfast International Rose Garden, Belfast, Northern Ireland
Westbroek Park, Hague, Holland
The Valby Park Rose Garden, Copenhagen, Denmark
Zweibrucken Rosarium, Germany
The Rosarium of the German Rose Society, Germany
Parc De La Grange in Geneva, Switzerland
Jardin de Bagatelle, Paris, France
Parc de Bagatelle, Paris, France|
La Roseraie De L'Hay Les Roses, Paris, France
Parc De La Tete D' Or, Lyons, France
Princess Grace Rose Garden, Monaco
Montreal Roseto Municipale, Rome, Italy
Roseto Botanico di Cavriglia, Tuscany, Italy
Parque Del Oste, Madrid, Spain
Ludwig's Roses, Pretoria, South Africa
Hershey Rose Garden, Pennsylvania, USA
Tyler Municipal Rose Garden, Texas, USA
International Rose Test Garden, Portland, Oregon, USA
Columbus Park Of Roses, Ohio, USA
Rose Garden Of The Montreal Botanical Garden, Quebec, Canada
Botanical Garden, Montreal, Canada
Rosedal de Palermo, Buenos Aires, Argentina
Zakir Hussein Rose Garden, Chandigarh, India
Sakura Rose Garden, Sakura, Tokyo, Japan
The Rose Gardens, Canberra, Australia
The Botanic Gardens Sydney, Australia
Araluen Botanic Park, Perth, Western Australia
Dunedin Botanic Gardens, Dunedin, New Zealand

गुलाफको उचाई ६, ७ ईन्च देखी लिएर पाँच, छ फिटसम्म हुने गर्छ । तर लहरे गुलाफ भने ७, ८ फिट देखी लिएर २०, २५ फिट उचाई सम्मका हुन सक्छन । यसको फैलावट पनि २, ३ फिट देखी लिएर ५, ६ फिट सम्मको हुन सक्छ । 

यसकारण लगाउँदा पनि एक स्थानमा एकैनासको बिरुवामात्र लगाउने गर्नुपर्छ । यदि बगैंचा सुन्दर तथा आकर्षक बनाउने हो भने गुलाफको उचाईदेखि फैलावटसम्मलाई ध्यान दिएर लगाउने गर्नुपर्छ । अग्लो गुलाफ पछाडी अनि होचा अगाडी लगाउनु पर्छ । त्यस्तै ब्याडहरुमा एकै थरी गुलाफ ३ देखी ५ या बढीको समूह एक स्थानमा रोप्नु पर्छ । 

काठमाडौंमा पाइने अधिकांश गुलाफ भनेको गुलाफी रंगको ‘क्वीन एलिजावेथ’ हो । यसलाई हत्पति रोग लाग्दैन र बलियो प्रजातिको मानिन्छ । त्यस बाहेक ‘पिस’ अनि 'आईसबर्ग' पनि पाईन्छ । यि तिनै ' रोज हल अफ फेम'  उपाधी पाएका गुलाफहरु हुन ।  


ग्रान्डिफ्लोरा जातको गुलाफ : क्विन एलिजाबेथ 
Grandiflora: Queen Elizabeth bred by Dr. Walter Lammerts, USA 
सन् १९७९ मा 'वर्ड फेडरेशन अफ रोज सोसाईटी'  ले 'वर्ड फेभरेट रोज' मा छनोट गरि  'रोज हल अफ फेम' मा मनोनित 
अन्य पुरस्कारहरुः पोर्टल्यान्ड गोल्ड मेडल १९५४, अल अमेरिका रोज सेलेक्शन्स विनर, यु.एस.ए. १९५५ अमेरिकन रोज सोसाईटी गोल्ड मेडल १९५७, गोल्ड रोज अफ दि हेग १९६८ अवर्ड अफ एक्सिलेन्स फर बेस्ट ईस्टाबिलिस्ट रोज २०१५

पहिले गुलाफको खपत हुने दिन भनेकै भ्यालेन्टाइन डे को दिनलाई मानिन्थ्यो । तर, अहिले भने यसको माग अत्यधिक भएका कारण यसको बजार पनि विस्तार भएको छ । 
जावलाखेल, त्रिपुरेश्वर, कमलादि लगायत काठमाडौंका थुप्रै स्थानमा यस्ता कट फ्लावर गुलाफको बजार देख्न पाइन्छ । यहाँ गुलाफ मात्र नभएर अन्य फूलहरु पनि पाइने गर्छ । 
प्राय रातो गुलाफ यानेकी रेड रोजलाई प्रेमको प्रतिक मानिन्छ । हुनत यसको अन्य रंगका पनि आफ्नै प्रतिक रहेका छन् । 

गुलाफ धेरै रङ्ग र प्रकारमा पाइन्छ । तर, निक्खर कालो यानेकी चारकोल ब्ल्याक र गाढा निलो रंगको गुलाफ भने हालसम्म उपलब्ध छैन । 

गुलाफ उत्पादक कम्पनी यी दुई रङ्गको गुलाफ उत्पादनमा निरन्तर लागिरहेका छन् । तर, हालसम्म उनीहरुले सफलता प्राप्त गर्न सकेका छैनन् । 

कुनैबेला युरोपको एउटा नर्सरीले निलो गुलाफको उत्पादन गरेको भनेर सुन्नमा आएको छ । तर, नर्सरीका मालिकले गुलाफ पनि कहिं निलो हुन्छ ? गुलाफ र निलो रङ्गको समन्वय बिल्कुल हुनै सक्दैन । त्यसैले यसको बिऊ नै मासिदिनु भनेर नष्ट गरेका थिए रे जसका  बारे पछि उनीहरुलाई पछुतो भएको बताइन्छ । हाल भने यसको उत्पादनको प्रयास भएपनि हालसम्म सफल हुन भने सकेको छैन । 

गुलाफ फुलीसकेपछि बाँकी रहने बिउको डल्लोलाई ‘रोज हिप’ भनिन्छ । र, यसमा अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ । जसलाई एस्कर्भिक एसीड भनिन्छ । भिटामिन सी एउटा प्राकृतिक हुन्छ भने अर्को कृत्रिम । बजारमा पाइने भिटामिन सी का चक्कीहरु भने कृत्रिम हुन, प्राकृतिक रुपमा गुलाफको ‘रोज हिप’बाट बनाउने सकिन्छ र यसको महत्व पनि बढी हुन्छ । 

थाइल्याण्डलाई कन्ट्री अफ अर्किड, नेदरल्याण्डलाई कन्ट्री अफ ट्युलिप भनेजस्तै हाम्रो जस्तो सानो तर, विषम हावापानी भएको मुलुकलाई हामीले चाह्यो भने सजिलै कन्ट्री अफ रोज बनाउन सकिन्छ । जसको प्राकृतिक सुन्दरता र हावापानी पनि गुलाफका लागि उपयुक्त किसिमको रहेको छ । हुनत कतिपय गुलाफहरु छायाँमा लगाउने खालका पनि हुन्छन् । तर, अधिकांश गुलाफलाई भने छ देखि आठ घण्टा घाम चाहिन्छ । त्यसकारण गुलाफलाई पारिलो घाम लाग्ने दक्षिण मोहोडा भएको स्थान चाहिन्छ । घरको उत्तर पट्टीको स्थान गुलाफका लागि उपयुक्त हुदैन । गुलाफलाई प्रसस्त पानी चाहिन्छ तर जम्नु भने हुँदैन ।

काठमाडौँ मात्र होईन पुरै नेपालका मानिसहरुले गुलाफ लगाउन र स्याहर गर्न जानेको देखिंदैन । एक पल्ट बोट रोपे पछि सकियो । गुलाफ रोप्दा दुई फिट चौडा अनि डेड् देखी दुई फिट गहराईको खाल्डो खनेर राम्ररी मल हालेर बिरुवा रोप्नु पर्छ । 

फ्लोरिबुन्डा लहरे गुलाफ : आईसबर्ग 
Floribunda: Climbing Iceberg 
रोयल हर्टिकल्चरल सोसाईटीको प्रतिष्ठित 'अवार्ड अफ गार्डन मेरिट्'  पुरस्कर प्राप्त
 सन् १९८३ मा 'वर्ड फेडरेशन अफ रोज सोसाईटी'  ले 'वर्ड फेभरेट रोज'  मा छनोट गरेको  तथा 'रोज हल अफ फेम'  मा मनोनित ।

गुलाफलाई छुट्टै रोपनु पर्छ अन्य बोट विरुवा तथा रुखहरुको सेपमा रोप्नु हुँदैन । तर, गुलाफको बोट मुनी गहिरो जरा नजाने साना खाले सिजनल फुल भने रोप्न सकिन्छ, जस्तैः प्जान्जी, एलिसम, पेटुनिया आदि । 

गुलाफ धेरै गर्मी, बर्षा, जाडो तथा हिँउ पर्ने स्थानमा पनि राम्रो फुल्दैन । त्यसकारण तराईमा गुलाफ जाडो अनि गर्मी नलागुन्जेल सम्म राम्रो हुन्छ भने पहाडमा जाडो सकिने बेला देखी बर्खा नलागुन्जेल सम्म मात्र राम्रो फुल्ने गर्छ । 

अनि मुख्य कुरा गुलाफको बोटलाई वर्षमा एकपटक अनिवर्य काँटछाँट गर्नुपर्छ । जस्लाई प्रुनिङ गर्ने भनिन्छ । तराईमा सेप्टेम्बर, अक्टोबर तिर छाँटनु उचित हुन्छ भने पहाडमा नभेम्बर, डिसेम्बर तिर । 

ठूलो जातको हाईब्रिड टि रोजको बोटलाई फेदैदेखि तीन या चार बलिया निरोगी ६ देखी ८ ईन्च लम्बाईको हाँगा रहनेगरी छाँटनु पर्छ । 

'वर्ल्ड फेडरेशन अफ रोज सोसाईटी'  ले सन् १९८५ मा ' रोज हल अफ फेम'  मा मनोनित गरेको हाईब्रिड टी जातको गुलाफ : डबल डिलाईट्  
Hybrid Tea Rose: Double Delight bred by Herbert Swim, USA  
अन्य पुरस्कार : अमेरिकन रोज सोसाईटी (AARS) १९७७, बाडेन–बाडेन गोल्ड मेडल १९७६,  रोम गोल्ड मेडल १९७६, ग्याम्बल फ्रागेन्स अवार्ड १९८६
      

फ्लोरिबुन्डा अर्थात झुप्पा झुप्पा फूल्ने जातका गुलाफहरु डेड् दुई फिट लम्बाईका ८, १० हाँगामा सीमित राख्नु पर्छ । त्यसै रोजहरुलाई धेरै छाँटनु पदैन टुप्पा टुप्पा मिलाएर पुराना सुकेका हाँगाहरुलाई मात्र काटदा हुन्छ । 

लहरे गुलाफको भने पुराना सुकेका रोगी हाँगाहरु र साईडका साना मसिना हाँगाहरु छाँटनु पर्छ तलै सम्म होईन । अनि गुलाफ छाँटेको बेला जरा वरी परि खनेर राम्रोसँग मलजल गरेका खण्डमा आकर्षक तथा सुन्दर फूल फूल्ने गर्छ । 

गुलाफ सके सम्म जमिनमा लगाउँदा राम्रो हुन्छ तर स्थान नहुनेहरुले फ्लोरीबुन्ड, मिनीएचर र अन्य होचो थरीका गुलाफहरु गमलामा पनि लगाउन मिल्छ । गमलामा लगाउँदा पनि माटाेकाे गमला भएमा त्यसले वातावरण तथा फूल दुवैकाे लागि राम्राे हुन्छ । 

भरसक गुलाफलाई १५ ईन्च वा त्यो भन्दा ठूलो गमलामा रोप्दा राम्रो हुन्छ । र, वर्षमा एक पल्ट प्रुनिङ गरेपछि गमालाको पुरानो माटो पुरै झिकेर नयाँ मलिलो माटो हाल्दा राम्रो हुन्छ । गुलाफकै लागि भनेर नर्सरीहरु अथवा कृषी सामग्री तथा उपकरण बिक्रीमा गर्ने पसलहरु तिर विशेष मल पनि पाईन्छ ।

 


हाईव्रिड टि लहरे गुलाफ : न्यु डन
Climbing : New Dawn
'
रोज हल अफ फेम'  मा मनोनित सन् १९९७

गुलाफको प्रवर्द्धनका लागि वर्षमा एकपटक रोज शो गर्ने र पुरस्कृत गर्ने तथा आम मानिसलाई पनि घरमा एक, दुईबोट गुलाफ लगाउन प्रेरित गर्न सकेमा यसको व्यवसायीक खेती तथा पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ । 

नेपालीहरुले गुलाफको आकर्षक अनि आधुनिक फूलहरु देखेकै छैनन् भन्दा हुन्छ । साथै गुलाफको फूलको नाम र प्रकार आदिका बारेमा जानकारी भएको समेत पाइँदैन । यसकारण नाम, जात अनि आकार प्रकार सहितको राष्ट्रिय स्तरको आकर्षक गुलाफको बगैंचा बनाउनु आवश्यक देखिन्छ । 

स्रब रोज जातको : केयरफ्री स्पिरिट्
Shrub rose: Carefree Spirit 
सन् २००९ को 'अल अमेरिका रोज सेलेक्शन (AARS)' विजेता 
सन् २०१४ को यु.जि.ए. ट्रायल्समा 'प्लान्ट अफ डिस्टिङशन' पुरस्कार विजेता 

यसै सन्दर्भमा काठमाडौँ नगरपालिकाका एक जना पधाधिकारी सनत कुमार थापाले उहाँको गुलाफको ज्ञान बारे जानकारी पाएर उहाँलाई धापाखेलको नागदहमा ललितपुर महानगरपालिकाले निर्माण गर्न लागिएको भनिएको एक रोज गार्डन निर्माणका लागि १७ रोपनीको एउटा प्लट देखाएर सल्लाहकारको रुपमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर, अहिले तीन चार वर्ष बित्दा पनि त्यो कुरो कता हरायो थाहा छैन, उहाँ भन्नुहुन्छ । 

त्यस्तै झापा जिल्लामा पनि एक राष्ट्रिय स्तरकै गुलाफको बगैचा निर्माण गर्ने अनि सल्लाहकारका रुपमा उहाँको विज्ञता उपयोगका लागि कृषि विज्ञ रुद्र गिरीले पनि एउटा प्रस्ताव नल्याउनु भएको होइन । तर, कोभिड–१९का कारण त्यो कुरा पनि त्यतिकै सेलाएर गयो । 

यसरी नेपालमा गुलाफका बारेमा जानकार सीमित व्यक्तिका रुपमा भइकन पनि त्यसको ज्ञान अनुभव बाँड्न नपाएकोमा मात्र उहाँको दुखेसो हो । देशमा एउटा राष्ट्रिय स्तरकोे गुलाफको बगैंचा बनाएर त्यसमा आफ्नो विज्ञता पोख्न पाए आफू सबैभन्दा सन्तुष्ट रहने बताउनुहुन्छ उहाँ । 

विश्व बस्नेतले सिनामंगलमा संचालन गरेको नर्सरीमा गुलाफका विरुवाहरु

विश्व बस्नेतको काठमाडाैंस्थित घरको गुलाफ बारी