नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गादान

नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गादान

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १६, २०७७

महोत्तरी । महोत्तरीको भङ्गहा नगरपालिकाको कार्यालय भवन निर्माणका लागि यहाँका समाजसेवीले  एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने जग्गा दान गर्नुभएको छ ।

भङ्गहा नगरपालिका–५ का कामेश्वर पाण्डेले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने पाँच कठ्ठा पाँच धुर जग्गा दान गर्नुभएको नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । 

आफ्नै कार्यालय भवनको अभावमा विभिन्न समस्या हुने गरेको तथा नगरवासीको सेवा प्रवाहमा समेत अवरोध खडा हुने गरेको कुरालाई देखेर नगरप्रमुख साहको विशेष अनुरोधमा मनकारी पाण्डेले भङ्गहा बजार क्षेत्र नजिकै रहेको सो जग्गा दान गर्नुभएको हो । त्यस क्षेत्रमा धुरको एकदेखि दुई लाख रुपैयाँसम्ममा जग्गा किनबेच हुने गरेको छ ।

नगरप्रमुख साहले जग्गादातालाई विशेष धन्यवाद दिदैं सो जग्गामा कार्यालय भवन निर्माणका लागि  एक करोड रुपैयाँ बजेट विनियोजन गरेकोे बताउनुभयो । 

यसैबीच बर्दिवास नगरपालिकाले गत आर्थिक वर्षमा करीब १६ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीका अनुसार आव २०७६/७७ मा बर्दिवास नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई नगरपालिकाबाट १५ करोड ९६ लाख ९५ हजार रुपैयाँ रकम वितरण गरिएको हो ।

बर्दिवास नगरपालिकामा बसोबास गर्दै आएका दुई हजार ६०६ ज्येष्ठ नागरिकलाई नौ करोड ८० लाख ६०० रुपैयाँ, एक हजार ४४९ एकल महिलालाई  तीन करोड ४९ लाख ६० हजार रुपैयाँ, ५४६ अपाङ्गता भएका व्यक्तिलाई एक करोड २४ लाख १८ हजार ४०० र चार हजार ७२६  बालबालिकालाई दुई करोड १२ लाख ३६ हजार रुपैयाँ सामाजिक सुरक्षावापत वितरण गरिएको बर्दिवास नगरपालिकाका प्रशासन शाखा प्रमुख चन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण व्यक्तिलाई यसअघि घरमा भत्ता वितरण गर्दै आएकामा अहिले बैंकमार्फत भुक्तानी गरिएको बताउनुभयो ।