विश्व मूलतः कोभिड–१९, लकडाउन, आइसोलेसन, क्वारेनटाइन, खोप जस्ता शब्दको 'कब्जा'मा सन् २०२०

विश्व मूलतः कोभिड–१९, लकडाउन, आइसोलेसन, क्वारेनटाइन, खोप जस्ता शब्दको 'कब्जा'मा  सन् २०२०

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  पुष १७, २०७७

अङ्ग्रेजी वर्ष सन् २०२० औपचारिक रुपमा बिदा भएको छ । सन् २०२० विगतका वर्षभन्दा धेरै फरक र आम मानिसका लागि त्रासदीको वर्ष रह्यो । यो वर्ष विश्व नै कोरोना भाइरसको महामारीका कारण  ठप्प रहन पुग्यो । ठुला–साना, धनी–गरिब सबै राष्ट्र कोरोना भाइरसको महामारीबाट प्रभावित हुन पुगे । कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको कडा लकडाउनका कारण विश्वभरका मानिसले यो वर्ष घरभित्रै थुनिनुपर्‍यो भने विश्वको अर्थतन्त्र एकै पटक ठप्प बन्यो । करोडौँले आफ्नो रोजगारी गुमाए । 

कोरोना भाइरसको महामारीको मार विश्वमा सबै क्षेत्रमा एकै पटक आइपर्‍यो । सन् २०२० मा मानिसहरूले कोरोना भाइरस, कोभिड–१९, लकडाउन, आइसोलेसन, क्वारेनटाइन, खोपजस्ता शब्दहरूले 'कब्जा'मा  नै गर्‍यो । सन् २०२० लाई खासगरी कोरोना महामारीको वर्षका रुपमा चिनिनेछ । सन् २०२० को पूर्व सन्ध्यामा ३१ डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरसको महामारी केही महिनामा नै विश्वव्यापी बन्न पुगेको थियो । वर्ष भरी नै चर्चाको केन्द्रमा रह्यो । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी अमेरिका, युरोप, ल्याटिन अमेरिका र एसियाली राष्ट्रहरू प्रभावित भए । कोरोना महामारीले छायामा पारेको वर्ष सन् २०२० का केही प्रमुख घटना यस्ता छन् :

कोरोना महामारी 

सन् २०२० को सबैभन्दा ठुलो परिघटना नै चीनको मुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी हो । यसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पछि मात्रै कोभिड–१९ नामकरण गरेको हो । कोरोना भाइरस यो वर्षको मात्रै होइन केही शताब्दीयताकै भयानक त्रासदीका रुपमा चित्रण हुने छ । विश्वयुद्ध आफैँमा त्रास भए पनि कोरोना महामारी भने विश्वलाई एकै पटक सबै क्षेत्र पूर्ण रुपमा ठप्प पार्‍यो । जुन विश्वयुद्धमा समेत भएको थिएन । कोरोनाले निम्त्याएको क्षतिको पूर्ति गर्न अब केही दशक नै लाग्ने अनुमान गरिएको छ । तर यसले पारेको मानवीय र आर्थिक क्षतिलाई मात्रै चर्चा गर्ने गरेको पाइन्छ । कोरोनाका कारण हालसम्म करिब १८ लाख २० हजारले ज्यान गुमाएका छन् भने सङ्क्रमितको सङ्ख्या ८ करोड ३३ लाखभन्दा बढी पुगेको छ । आर्थिक क्षतिको भने तथ्यांंक  आउन  सकिरहेको  छैन । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विश्वभर विभिन्न खोपहरू प्रयोगमा आएका छन् । फाइबर/बायोएनटेकले निर्माण गरेको खोप, मोडेर्ना, एस्ट्राजेनेकासहित केही खोप प्रयोगमा आएका छन् । खोप आइसकेपनि बेलायतबाट सुरु भएको नयाँ प्रकारको अत्यन्तै सङ्क्रामक रहेको भनिएको कोरोना भाइरस फैलिएका कारण कोरोनाबारे आशा र संशय कायमै छ । 

अमेरिकामा अफ्रिकी अमेरिकीले लामो आन्दोलन नै चलाए भने यसै आन्दोलनबाट ‘ब्ल्याक लाइभ म्याटर्स’ अभियानले चर्चा पायो । यसैवर्ष भारत र चीनबिच सीमा क्षेत्रमा हिंसात्मक झडप भयो । लद्दाखस्थित चीनसँगको सीमा क्षेत्रमा चिनियाँ सेनासँगको भीडन्तमा २० जना भारतीय सेनाले ज्यान गुमाए । भारत–चीन सीमामा पछिल्लो ४५ वर्षपछि पहिलो पटक सैनिकले ज्यान गुमाएका हुन् । 

इयूबाट बोलयताको बहिर्गमन

लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली सङ्घबाट बेलायत बाहिरिएको छ । ३१ जनवरीमा बेलायत युरोपेली सङ्घबाट औपचारिक रुपमा बाहिरिएको हो । पछिल्लो तीन वर्षदेखि युरोपेली सङ्घबाट बाहिरिने प्रक्रिया अन्यौलता परेको थियो । युरोपेली सङ्घबाट बाहिरिएपछि अहिले व्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ । एक साताअघि मात्रै बेलायत र ईयूबीच व्यापारसम्बन्धी महत्त्वपूर्ण सम्झौता सम्पन्न भएको छ । 

ट्रम्पको पराजय र बाइडेनको विजय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहे पनि यस वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो । गत ३ नोभेम्बरमा भएको निर्वाचनमा उनी पराजित भए । निर्वाचनमा पराजित भए पनि उनले अझैसम्म पनि औपचारिक रुपमा पराजय स्वीकार गरेका छैनन् । उनी सन् १९९२ पनि दोस्रो कार्यकालका लागि निर्वाचन नहुने पहिलो राष्ट्रपति हुन् । त्यस बेला जर्ज एचडब्लु बुस दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा बिल क्लिन्टनसँग नराम्ररी पराजित भएका थिए । यस वर्ष ट्रम्पले पनि त्यस्तै पराजय भोगे । निर्वाचनका क्रममा ट्रम्पको विवादास्पद अभिव्यक्तिदेखि मास्क बहिस्कार, कोरोनाको उपचारमा देखाएको अन्योलपूर्ण नीति, हाइड्रोक्सिक्लोरोक्वीनजस्ता औषधिको प्रचारजस्ता कुराले उनी वर्ष भरी नै चर्चामा भने रही रहे । चर्चामा रहेर पनि दोस्रो कार्यकाल राष्ट्रपति बन्नबाट उनलाई जो बाइडेनले रोके । उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन् । वर्षको सुरुमा नै ट्रम्पमाथि जो बाइडेनका छोरा हन्टरमाथि अभियोग लगाउन युक्रेनलाई दिएको दबाबको आरोपमा महाअभियोगको लाग्यो । तल्लो सदनले पारित गरे पनि रिपब्लिकनको बहुमत रहेको सिनेटले त्यसलाई पास हुन दिएन । 

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता

अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट आफ्नो अमेरिकी सैनिक फिर्ता बोलायो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरेका थिए । त्यो घोषणा उनको कार्यकालको अन्त्यतिर मात्रै लागू भयो । तालीवान् विद्रोही र अमेरिकाबिच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको छ । तर शान्ति प्रक्रिया भने अझै पनि निष्कर्षमा पुगी सकेको छैन । 

सलह आतङ्क

यस वर्षका विश्वव्यापी चर्चित घटनामध्ये सलह आतङ्क पनि एक हो । विषेशगरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आनेसम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलो पटक यमनमा देखिएको सलह नै एक वर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठुलो क्षति पुर्‍याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको थियो । 

केही दुःखद घटना  

यस वर्षका ठुला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्व भरी नै तरङ्ग फैलायो । ३ जनवरीमा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकार गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । इरान र यूक्रेनसहित विभिन्न देशका गरी १७६ जनाले सो दुर्घटनामा ज्यान गुमाएका थिए । लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झन्डै ८० जनाको मृत्यु भयो । अष्ट्रेलियामा लागेको डढेलोका कारण करोडौ जनावरहरुले ज्यान गुमाए । अस्ट्रेलियाको यो आगलागी नियन्त्रण गर्न ठुलो सङ्घर्ष गर्नुपर्‍यो । अमेरिकामा एक जना अफ्रिकी–अमेरिकी जर्ज फ्लोइडको प्रहरीले गरेको हत्याको घटनाले ठुलो तनाव सिर्जना गर्‍यो । अमेरिकामा अफ्रिकी अमेरिकीले लामो आन्दोलन नै चलाए भने यसै आन्दोलनबाट ‘ब्ल्याक लाइभ म्याटर्स’ अभियानले चर्चा पायो । यसैवर्ष भारत र चीनबिच सीमा क्षेत्रमा हिंसात्मक झडप भयो । लद्दाखस्थित चीनसँगको सीमा क्षेत्रमा चिनियाँ सेनासँगको भीडन्तमा २० जना भारतीय सेनाले ज्यान गुमाए । भारत–चीन सीमामा पछिल्लो ४५ वर्षपछि पहिलो पटक सैनिकले ज्यान गुमाएका हुन् । 

किमको मृत्युको हल्ला  

बेला बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार समेत रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस वर्ष धेरैको ध्यान खिच्यो । दक्षिण कोरिया र केही पश्चिमा सञ्चार माध्यमहरूले किम २० दिनसम्म सम्पर्कबिहीन हुँदा उनको मृत्यु नै भएको समाचार सम्प्रेषण भए ।  उनको मृत्युको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुले समेत चासो र चिन्ता व्यक्त गरेका थिए । सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झन्डै २० दिनपछि उनी प्योङयाङ नजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक भएका थिए । उनको मृत्युको चर्चा यसअघि पनि पटक पटक हुने गरेकोमा यस पटक पनि झुटो सावित भएको छ । 

महान फुटबलर म्यारोडोनाको निधन

महान् फुटबलर डिएगो म्यारोडोनाको पनि यसै वर्ष निधन भएको छ । उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । सन् २००० मा फिफाले मतदान गराउदा अर्जेन्टिनाका फुटबलर म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भएका थिए । खेल जगमा उनी आफ्नो जादुमयी खेलका कारण चर्चामा थिए । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका खेलप्रेमी स्तब्ध भएका थिए । उनको निधनपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो । 

यी बाहेक पनि वर्ष सन् २०२० मा विश्वले अरु पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरूलाई गुमाएको छ । त्यसै गरी अरु धेरै दीर्घकालीन महत्त्व राख्ने घटनाहरू पनि भएका छन् । धेरै देशले कोरोना महामारीका बिचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादमा बेला बेलामा चर्चामा रहेका थिए ।