स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १७, २०७७

तनहुँ । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् ।

तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेकामा उनी गत वर्षको दशैँ अगाडि नै समायोजनको क्रममा अन्यत्रै गएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । “समायोजन भएर गएपछि अर्काे स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दी नियमित स्वास्थ्य परीक्षणबाट बञ्चित भएका छन्”, अधिकारीले भन्नुभयो ।

अहिले कारागारमा अहेवको दरबन्दी कायम भएको तर स्वास्थ्यकर्मी भने नआइपुगेको अधिकारीले बताउनुभयो । स्वास्थ्यकर्मी नहुँदा सामान्य उपचारका लागि पनि कैदीबन्दीलाई दमौली अस्पतालमा लैजानुपर्ने बाध्यता छ । “सामान्य स्वास्थ्य समस्या भएकालाई पनि अस्पताल लैजानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

चिसो बढेपछि कैदीबन्दीमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको तर कारागारमा स्वास्थ्यकर्मी नहुँदा उनीहरुलाई उपचार र स्वास्थ्य परीक्षणका लागि दमौली अस्पतालसम्म लैजानुपरेको अधिकारीले बताउनुभयो । एक सय पाँच जना क्षमताको कारागारमा १८७ कैदी र ८२ थुनुवा गरी २६९ छन् । क्षमताभन्दा धेरै राख्नुपर्दा र एकापसमा टाँसिएर सुत्नुपर्दा कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको अधिकारीले बताउनुभयो । त्यसबाहेक रुघाखोकी र भाइरल ज्वरोजस्ता स्वास्थ्य समस्या कैदीबन्दीमा देखिन थालेको अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न रोगका कारण दैनिक चार÷पाँच कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि दमौली अस्पताल लैजाने गरिएको छ । कारागारको आफ्नै सवारी साधन नहुँदा जिल्ला प्रहरी कार्यालयबाट सवारी साधन मगाएर मात्र कैदीबन्दीको स्वास्थ्य परीक्षणका लागि लैजाने गरिएको छ ।