टिम नेपोले तनहुँ कारागारमा पुस्तकालय स्थापना

टिम नेपोले  तनहुँ कारागारमा पुस्तकालय स्थापना

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १७, २०७७

तनहुँ । कैदीबन्दीलाई समयको सदुपयोगसँगै चेतना वृद्धिमा सहयोग पुर्‍याउन टिम नेपोले कारागार तनहुँमा पुस्तकालय स्थापना गरेको छ । ज्ञान रचेतना अभिवृद्धि गराउन टिम नेपोले कारागारमा पुस्तकालय स्थापना गरेको हो । पुस्तकालयसँगै संस्थाले एक हजार ५०० थान पुस्तक र दराज सहयोग गरेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला अधिकारी सागर आचार्य, निमित्त जेलर नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

सो कार्यक्रममा नगरप्रमुख न्यौपानेले पुस्तकालय स्थापनासँगै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न कारणले कारागार आइपुगेका कैदीबन्दीलाई विभिन्न ज्ञानका कुरा सिक्न पुस्तकले सहयोग पुग्ने न्यौपानेले बताउनुभयो । 'युवाको सक्रियतामा रचनात्मक कामको शुरुआत गरिएको छ', उहाँले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले कारागारमा स्थापना गरिएको पुस्तकालयले कैदीबन्दीलाई सिर्जनशील बनाउन सहयोग पुग्ने बताउनुभयो । टिम नेपोका केन्द्रीय अध्यक्ष निगम पौडेलले पुस्तक परियोजनाअन्तर्गत तेस्रो जिल्लाको रूपमा तनहुँ कारागारमा पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो । यस अगाडि अर्घाखाँची र स्याङ्जा कारागारमा पुस्तकालय स्थापना भइसकेको छ । 

'पुस्तकले जीवन परिवर्तन गर्न सक्छ भन्ने उद्देश्यसहित संस्थाले दुई वर्ष अगाडि परियोजना शुरुआत गरेको हो', उहाँले भन्नुभयो, 'शुरुमा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गरे पनि अहिले कारागारमा अभियान सञ्चालन गरेका छौँ ।' टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमिल्सनाले रु एक लाखभन्दा बढी मूल्यका विभिन्न पुस्तक कारागारलाई सहयोग गरिएको जानकारी दिनुभयो ।