सवारी साधन आयातमा कमी– राजस्व प्रभावित

सवारी साधन आयातमा कमी– राजस्व प्रभावित

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १७, २०७७

वीरगञ्ज । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताउनुभयो । चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर तीन अरब २९ करोड रुपैयाँ मूल्य बराबरको ३७ हजार ६७१ थान मोटरसाइकल र दुई अरब ८२ करोड रुपैयाँ मूल्य बराबरको दुई हजार ५७४ थान जीप, कार र भ्यान आयात भएको छ । जबकी गत आवको यसै अवधिमा रु चार अर्ब १२ करोड मूल्य बराबरको चार हजार २५१ थान विभिन्न प्रकारका सवारी साधन आयात भएका थिए । 
 
समग्रमा हेर्दा चालु आवको मङ्सिर महिनासम्ममा ७२ करोड ६२ लाख रुपैयाँ  मूल्य बराबरको ५०६ थान डबल क्याब पिकअप गाडी,  ३५ करोड ७८ लाख रुपैयाँ  मूल्य बराबरको सिङ्गल क्याब पिकअप गाडी, एक अरब १२ करोड रुपैयाँ मूल्य बराबरको ४८० थान ट्रक, मिनि ट्रक र ५३ करोड ९९ लाख रुपैयाँ मूल्य बराबरको २९७ थान बस, ट्रक, कार, चेसिस आयात भएको छ । जबकी अघिल्लो आवको मङ्सिर महिनासम्मको तथ्याङ्क हेर्दा सो अवधिमा चार अरब १२ करोड रुपैयाँ मूल्य बराबरको चार हजार २५१ थान सवारी साधन नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको सोही पाँच महिनाको अवधिमा तीन अरब ६९ करोड रुपैयाँ मूल्य बराबरको ४३ हजार ५७२ थान मोटरसाइकल, ३५ करोड ७८ लाख रुपैयाँ मूल्य बराबरको ५६२ थान सिङ्गल क्याव पिकअप गाडी,  ५३ करोड ३४ लाख मुल्य बराबरको ७६५ थान अन्य सवारी सधान, दुई अरब २९ करोड रुपैयाँ मूल्य बराबरको ८६७ थान ट्रक, मिनी ट्रक,  एक अरब १३ करोड रुपैयाँ मूल्य बराबरको ६७८ थान बस, ट्रकका चेसिस भित्रिएको थियो ।

यो नाका भएर भारतबाट ८० प्रतिशत तथा तेस्रो मुलुकबाट २० प्रतिशत गाडी भित्रिने गरेको छ तर कोरोना सङ्क्रमणको कारण सिमानाका लामो समयदेखि बन्द रहेकाले गत वर्षजस्तो सवारी साधन आयात हुन नसक्दा चालु आवको मङ्सिरसम्मको राजश्व लक्ष्य भेट्टाउन नसकिएको भन्सार अधिकृत अधिकारीले बताउनुभयो । अहिले पनि आयातकर्ताले भारत तथा तेस्रो मुलुकबाट आयात गरेको सवारी साधन लग्न नसक्दा करिब ३०० सवारी साधन भन्सार वार्डमा थन्किएको छ । भन्सार विभागले चालु आवमा वीरगञ्ज भन्सार कार्यालयलाई एक खरब ७१ अर्ब राजस्व उठाउने लक्ष्य दिएको छ । आव ०७७/०७८ को मङ्सिर महिनासम्म ६५ अरब २५ करोड ५५ लाख राजस्व उठाउने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले तोकिएको अवधिमा ११ प्रतिशत कमअर्थात्  ५८ अरब १५ करोड ८९ लाख रुपैयाँ मात्र राजश्व उठाउन सकेको छ ।