प्रलेशमा परिक्रमावादीहरू हालीमुहाली

प्रलेशमा परिक्रमावादीहरू हालीमुहाली

उपासना संकल्प  |  समाज  |  चैत्र ३०, २०७५

प्रगतिशील लेखक सङ्घ (प्रलेस) को ११ औ सम्मेलन भर्खरै सम्पन्न भएको छ । वामपन्थी लेखकहरूको साझा सङ्गठनका रूपमा रहेको यो सङ्गठनमा धेरै जना लेखकहरू अटाउन नसकेको गुनासो आउने गरेको छ । स्वतन्त्र वामपन्थी बुद्धिजीवीदेखि भर्खरै लेखकका रूपमा उदाएका स्रष्टाहरू यो सङ्घमा आबद्ध हुनबाट वञ्चित भएको आरोप लाग्ने गरेको छ । 

११ औ महाधिवेशको सँघारमा आइपुग्दा केही असन्तुष्टिहरू सडकमा छताछुल्ल भए । खास गरी लेखकहरू नारायण ढकाल, आहुतिदेखि मित्रलाल पंज्ञानीसम्मले सङ्घभित्र देखिएका विकृतिका बारेमा महाधिवेशनको सँघारमा बाहिर ल्याउने देखि असन्तुष्टि पोख्ने कामहरू भए । यसरी राखिएको असन्तुष्टिको प्रभाव त्यतिप्रभावकारी भने देखिएनन् ।  

  तीन वर्षसम्म सङ्घले गरेका गतिविधि बारे केही नबोल्ने महाधिवेशनको सँघारमा केही काम नगरी बढी कुरा गर्ने केन्द्रीय सदस्यहरूलाई समेटेर असन्तुष्टि पोख्ने गरेको कारण प्रभावकारी भएको विषयमा असन्तुष्टहरू नै सहमत देखिएका छन् ।  असन्तुष्टिका बिचमा महाधिवेशन सम्पन्न भयो । त्यसबाट अध्यक्षमा मनोनयन गरियो प्रा. डा. जिवेन्द्रदेव गिरीलाई । सरकारी सेवाका सबै पदमा आसीन भइसकेका लोकसाहित्यका अध्येता गिरीलाई सङ्घको अध्यक्षमा मनोनयन गर्नुका पछाडि उनको आफ्नै इच्छा हो कि ? अमुक पार्टीको हो  ? भन्ने कुरा अझै खुल्न सकेको छैन । 

यसअघि तत्कालीन नेकपा एमालेको तर्फबाट प्रज्ञाप्रतिष्ठानमा सदस्यसचिव रहेका गिरी सङ्घको अध्यक्षमा ल्याइएको छ । उनी अध्यक्ष त भए तर सङ्घमा १० औ महाधिवेशनबाट निर्वाचित भएका कोही पनि अटाउन सकेनन् । १० औ महाधिवेशनले सङ्घलाई युवा नेतृत्वतर्फ धकेलेको थियो । अहिलेको महाधिवेशनको प्रबल दाबेदार थिए वर्तमान महासचिव आरएम डङ्गोल, उपाध्यक्ष डा. पुस्करारज भट्ट र अर्का उपाध्यक्ष खेम थपलिया अध्यक्षको दाबेदार थिए । त्यसमध्येका बलिया उम्मेदवार हुन आरएम डङ्गोललाई मानिएको थियो । काठमाडौँ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महासचिव समेत रहेका डङ्गोललाई पाखा लगाउनकै लागि मात्रै गिरीलाई यस पटक प्रयोग गरिएको थियो । पार्टीको निर्णय आएपछि डङ्गोलले पनि बलजफ्ती गर्न सकेनन् । १० औ महाधिवेशनले युवाहरूको काँधमा सुम्पेको नेतृत्वलाई यस पटक भने पुन वृद्धहरूको काँधमा दिएको  छ ।

 अध्यक्ष गिरीदेखि उपाध्यक्ष गोपी रमण उपाध्याय तथा महिला उपाध्यक्ष सुशीला प्रधानाङ्ग सम्मलाई हेर्ने हो भने उनीहरू सङ्घसंस्थाबाट अवकाश लिएर बस्नुपर्ने उमेरका व्यक्तिहरू रहेको गुनासो आउने गरेको छ । सङ्गठनमा उमेरको कुरा भन्दा पनि कामको कुराले प्राथमिकता पाउनुपर्छ । जुनसुकै उमेरको व्यक्ति किन नहोस् उसमा सङ्गठन सञ्चालनको क्षमता छ, सिर्जनात्मक एवम् वैचारिक नेतृत्व प्रदान गर्ने क्षमता छ भने उसलाई उपेक्षा गरिनु हुँदैन भन्ने मान्यता राख्नुभन्दा पनि सङ्घभित्र परिक्रमावादीहरू हाबी भएका गुनासो आउन थालेको छ ।  

उपभोक्तावादी बजार सांस्कृतिक साम्राज्यवादीहरूको क्रीडास्थल बन्दै छ गरेको अवस्थामा सङ्घभित्र यसको नेतृत्व अभाव खट्किने त होइन ? भन्ने प्रश्न उठेन थालेको छ । राष्ट्रियतामाथि विभिन्न स्वरूपमा सङ्कट थपिँदै गएको समयमा अहम भूमिका खेल्नुपर्ने  सङ्घमा भने लेखकभन्दा बढी कार्यकर्ता हाबी भएको सङ्घकै पूर्वजहरुले बताउन थालेका छन् । 

महाधिवेशन अघि नेपालभित्रको विवादले उग्र रूप लिएको थियो  । सङ्घमा आबद्ध सल्लाहकार परिषद् सदस्य, केन्द्रीय पदाधिकारी तथा सचिवालय सदस्य र केन्द्रीय सदस्य तथा राष्ट्रिय परिषद् सदस्य समेत गरी ३८ जनाले सङ्घबाट विद्रोह नै गरी अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न आह्वान समेत गरिसकेका छन् । 

सङ्गठनात्मक क्षेत्रमा विचार–प्रतिबद्ध र सङ्गठन–सम्बद्ध लेखक–प्रतिभाहरूको साझा मञ्चका रूपमा सङ्घले  आफूलाई विकास गर्न नसकिरहेको भन्दै असन्तुष्टले पछिल्ला दिनमा खास पार्टीसँग प्रत्यक्ष तः असम्बद्ध सल्लाहकारहरू, केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई भेला, बैठक, कार्यक्रम र छलफलमा सम्पूर्ण तः निषेध गर्ने नेतृत्वको कार्यशैलीले प्रलेसलाई साझा मञ्चका रूपमा अघि लैजान नदिने अवस्था देखियो को दाबी गरेका थिए । अहिलेको संरचना पनि त्यस्तै बनेको छ । वामघटकका नाममा लेखकलाई भन्दा कार्यकर्तालाई बढी स्थान दिन थालिएको छ । 

वैचारिक बहस गर्ने र भिन्न मत राख्ने सदस्यहरूलाई ११ औँ राष्ट्रिय सम्मेलनका लागि बनाइएका उपसमितिहरूमा कतै पनि नराखिनु, खासपार्टीहरूसँग सम्बन्ध नराख्ने सल्लाहकारहरू तथा पूर्वअध्यक्षहरूसँग कुनै पनि सरसल्लाह नगरिनु, विधानले कल्पनै नगरेको निर्देशन समिति गठन गरेर अवैध रूपमा खासखुस पार्टी–प्रभुत्वलाई सिधै प्रलेस सञ्चालनको तजबिजी दिनु लगायत निर्णय र घटनाले प्रलेसलाई वैचारिक संस्थाका रूपमा विकास हुन नदिने पूर्वाभ्यास थियो ।  त्यसै गरी सत्तारुढ दल र केही अवसरछोपुवा लेखकहरूको भिडका रूपमा अघि बढाएको  पनि  आरोप लागी रहेको छ । 

फरक विचार राख्ने, आलोचनात्मक चेत भएका, वैचारिक बहस उठाउने र अग्रगामी सांस्कृतिक आन्दोलनमा जोड दिने पङ्क्तिलाई निरन्तर निषेध गर्ने प्रवृत्तिले उत्कर्ष लिएको भन्दै वैचारिक तथा व्यावहारिक रूपमा प्रलेसको मूल नेतृत्वले ११ औँ सम्मेलन अगावै सङ्गठनलाई एकल काँटे, एकपक्षीय र उस्तै स्वार्थ मिल्नेहरूको अड्डामा बदलिसकेको समेत आरोप प्रलेसबाट बाहिरिएकाहरूले लगाउने गरेका छन् । आहुति, ईश्वरचन्द्र ज्ञवाली, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा.ताराकान्त पाण्डेय, नारायण ढकाल,. मित्रलाल पंज्ञानी, राजबहादुर कुँवर, रोशन जनकपुरी,   विजयराज आचार्य  सरिता तिवारी, राजु स्याङ्तान, सङ्गीत श्रोता, अनिल श्रेष्ठ     अर्जुनकुमार,  ईश्वरी ओझा, कल्पना, खगेश्वर भण्डारी गुरुङ सुशान्त, गोपाल वैद्य, गोविन्द काफ्ले गौरी दाहाल, छायादत्त न्यौपाने, सरिता तिवारीलगायत ३८ जनाले विद्रोहको घोषणा गरे महाधिवेशनमा पनि सहभागी भएनन् ।     

वर्तमान सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थालाई अग्रगमनकारी यथार्थमा परिवर्तन गर्नका लागि साझा मञ्च निर्माणको पहल सुरु गर्न समेत असन्तुष्ट समूहले लेखक तथा साहित्यकारलाई आह्वान गरेको छ  ।प्रगतिशील लेखक सङ्घको अध्यक्षमा डा. जीवेन्द्र देव गिरी निर्वाचित भएका छन् । संंघको ११ औँ राष्ट्रिय सम्मेलनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अहिलेको महाधिवेशनले ४५ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत मनोनयन गरेको छ । प्रलेसको उपाध्यक्षमा  गोपिरमण उपाध्याय र सुशिला प्रधानाङ्ग, महासचिवमा समीर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिव प्रकाश थापा र बाबुराम आचार्य तथा कोषाध्यक्षमा डा. ध्रुव घिमिरेलाई मनोनयन गर्‍यो । त्यस्तै, केन्द्रीय सदस्यहरूमा नारायण मरासिनी, बालकृष्ण अधिकारी, मणि अर्याल, जनक रसिक, बम बानियाँ, झगिन्द्रराज ढकाल (पारस), लोकबहादुर थापा, सुमित्रा वाङ्देल चेली, इन्द्रराज लामा, पुरु लम्साल, मधु क्षेत्री, प्रदीप प्रधान, मीन बहादुर राना, जीवन शाही, तारा प्रसाद शर्मा, कमल कार्की, अर्जुन पौडेल, नवराज रिजाल, मधु पोखरेल, राममणि ढुङ्गेल, सरस्वती दुमी राई, डा. दीपक गौतम, नरेश न्यौपाने, शरद अधिकारी, ओमप्रसाद घिमिरे, शालिकराम तिमिल्सीना, केशव थापा, डा. देवी दुलाल, राजेश विक गिरिप्रसाद बुढा, रिद्दीरमण घिमिरे मनोनयन गर्‍यो । प्रलेसले ४५ सदस्यीय कमिटी बनाउने तयारी गरेको भए पनि हाललाई ३९ सदस्य चयन गरेको र पछि ६ जना मनोनयन गरिने जनाएको छ । यो महाधिवेशनपछि निवर्तमान पदाधिकारीहरू सबै बाहिरिएका छन् ।