बन्दीपुरमा घट्यो पर्यटक

बन्दीपुरमा  घट्यो  पर्यटक

लोकसंवाद संवाददाता  |  पर्यटन  |  पुष १७, २०७७

दमौली । सन् २०१९ मा एक लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरे । सन् २०२० मा दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले पनि सन् २०२० मा उक्त सङ्ख्यामा पर्यटक भित्र्याउन सम्भव रहेको भन्दै व्यवसायीले तयारी शुरु गरे । 

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ ले नेपाललाई पनि छाडेन । फलस्वरुपः चैत ११ गतेदेखि नेपालमा बन्दाबन्दी शुरु भयो । सन् २०२० मा पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी शुरु गरेका यहाँका व्यवसायीको लगानी पनि खेर गयो । 'जुन लक्ष्यका साथ लागेका थियौँ, कोरोनाले गर्दा लक्ष्य पूरा हुन सकेन', बन्दीपुरस्थित होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले भन्नुभयो, 'सन् २०२० लाई भनेर नयाँ होटल निर्माण भइरहेको थियो, व्यवसायीको सपना चकनाचुर भयो ।'

बन्दीपुर पर्यटन विकास समितिका अनुसार सन् २०२० को अवधिमा १५ हजार पर्यटकले मात्रै बन्दीपुर भ्रमण गरेका छन् । समितिका सचिव वसन्त पौडेलले कोरोनाका कारण सबै तयारी खेर गएको बताउनुभयो ।