प्रा.डा.विद्यादेव शर्मा : सादगी जीवनदेखि सामुदायिक मानिसक स्वास्थ्यको अभियानसम्म

प्रा.डा.विद्यादेव शर्मा : सादगी जीवनदेखि सामुदायिक मानिसक स्वास्थ्यको अभियानसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष १८, २०७७

सामान्यतया डाक्टर भनिसकेपछि सुटेड बुटेड भन्ने जुन हाम्रो मानसिकता छ त्यो भन्दा बिलकुल भिन्न हुनुहुन्छ प्रा‍.डा. विद्यादेव शर्मा (लुइटेल) । नेपालका वरिष्ठ मनोचिकित्सक डा.शर्मालाई उहाँको लवाई खवाइबाट डाक्टर भनेर चिन्न गाह्रो छ । उहाँ आफ्नो कामबाट भने प्रशस्तै चिनिनु हुन्छ । 

जेपी हाइस्कुलको एउटा सामान्य शिक्षकको छोरो कसरी दुःख, लगन र मेहनतबाट आफ्नो क्षेत्रमा स्थापित नाम बन्न सफल भयो भन्ने कुराको दृष्टान्त हो यो आलेख । 

पारिवारिक अवस्था 

उहाँ काठमाडौँको खाँटी काँठे । उहाँको जन्म काठमाडौँको ढुङ्गे अड्डामा भएको हो । पहाड घर कता भनेर कसैले सोध्दा उहाँ निरुत्तर हुनुहुन्छ । उहाँलाई पनि थाहा छैन पहाड घर कता हो भनेर । 

उहाँ भन्दा अगाडिका सत्र पुस्ता नै यहीँ रहेकोले पहाड घर उहाँका लागि अज्ञात भएको हो । उहाँको पिताजीलाई पनि थाहा छैन त्यसका बारे । हुन त पिताजीलाई ज्ञात भएको भए उहाँलाई जानकारी नहुने कुरै थिएन । 

उहाँको हजुरबा पनि किर्तिपुरमा त्यस बेलाको संस्कृत स्कुलका शिक्षक । उहाँको पिता वासुदेव शर्मा लुइँटेल भने जेपी हाइस्कुलको शिक्षक तथा साहित्यकार पनि । 

उहाँ आफ्नो परिवारलाई मध्यम भन्न रुचाउनहुन्छ । एउटा जेपी हाइस्कुलको शिक्षकको तलबले चलाउनु पर्ने घरलाई मध्यम नभनेर के भन्ने ? उहाँले व्यङ्ग्य पनि कस्नुभयो । साहित्यकार पिताको गुण केही मुखरित गर्नुभयो । 

जन्म र बाल्यकाल 

उहाँको पिताजीको उहाँ एक्लो सन्तान । उहाँको खास जन्म भने २०१४ सालमा भएको हो । तर, आधिकारिक दस्ताबेजमा भने २०१६ साल उल्लेख गरिएको छ । अब त्यो बेला एसएलसी दिने समयलाई हेरेर उमेर मिलाउने एक प्रकारको प्रचलन नै थियो । 

उहाँले बाल्यकालमा खास खेल्ने आदि इत्यादि गरेको उहाँलाई सम्झना छैन । कारण उहाँको त्यस बेलाको बसाई अहिले पुलचोकको युएन बिल्डिङ भएको स्थानमा थियो । त्यस बेला त्यहाँ करिब ५२ रोपनी खाली जमिन थियो । त्यसमा केवल उहाँको र अर्को एउटा गरी दुई वटा घर मात्र थियो । बाँकी सबै जमिन मात्रै । 

एक प्रकारले भन्नुपर्दा एकान्त जस्तै थियो उहाँ भन्नुहुन्छ । उहाँहरूको भने पाँच रोपनी जमिनमा घर थियो । पछि सरकारले मुआब्जा दिएर त्यस ठाउँ खाली बनाएको हो भन्नुहुन्छ उहाँ । त्यस बेला सरकारले मुआब्जा कति दियो ? के दियो ? भने उहाँलाई केही थाहा छैन । पिताजीका अनुसार सरकारी अधिग्रहणका विरुद्ध लामो समय मुद्दा मामिला पनि चल्यो रे ! 

अन्ततः पिताजीले बताए अनुसार त्यहाँको पाँच रोपनी जमिन र घरको मुआब्जाले पहिले नारायणी होटेल भएको स्थान भन्दा तीन कम्पाउन्ड पूर्वतर्फ एक रोपनी जमिनसम्म किन्न पुगेको थियो रे ! बाल्यकालमा त्यो सुनसान ठाउँमा हुर्किएको हुनाले साथी भन्ने खासै थिएनन् । त्यसको पूर्ति भने स्कुल गएपछि मात्र भयो उहाँ भन्नुहुन्छ ।

उहाँ एकवर्ष ललितपुरको चण्डी विद्याश्रममा पढ्नु भयो । कक्षा भने थाहा भएन । खाली एकवर्ष पढियो त्यति मात्र थाहा छ, उहाँ भन्नुहुन्छ ।  चण्डी विद्याश्रमको रमाइलो स्मरण छ उहाँसँग । कक्षा भइरहेको हुन्थ्यो । अनि पर्यटक (टुरिस्ट भनिन्थ्यो त्यो बेला) फोटो खिच्न स्कुलमा आएपछि सबै विद्यार्थी खुरुखुरु बाहिर आएर लाइन लागेर बस्थे । 

प्रारम्भिक शिक्षा 

त्यसपछि भने उहाँ सेन्टजेभियर्समा पढ्न थाल्नुभयो । सेन्टजेभियर्समा भने एक कक्षादेखि एघार कक्षासम्म आफूले पढेको बताउनुहुन्छ, उहाँ । उहाँ आफूले सेन्ट जेभियर्समा पढेको भन्दा पनि हुर्किएको बताउनुहुन्छ । उहाँको हुर्काई नै सेन्ट जेभियर्समा भयो ।

उहाँ जन्मजात सनातनी हिन्दु । पूरा दश वर्ष क्रिष्चियानिटीमा बिताएर पनि म हिन्दु बनेर निस्किएँ, उहाँ भन्नुहुन्छ ।  सेन्ट जेभियर्स पहिले कक्षा एकदेखि पाँचसम्म मात्र जाउलाखेलमा थियो । त्यसपछिको कक्षा भने गोदावरीमा । तर, उहाँले भने गोदावरी जानु परेन । उहाँ जति कक्षा उक्लँदै जानुभयो कक्षाहरू बिस्तारै गोदावरीबाट जाउलाखेल आउँदै गए ।

अहिले पढाउँदा कुट्नु हुन्न भनिन्छ, तर हामीले जति कुटाई कसैले पनि खाएन होला, उहाँ भन्नुहुन्छ । त्यो बेलाको समय परिस्थिति नै त्यस्तो थियो ।  त्यस बेला उहाँको कक्षामा उहाँलाई हेक्का रहेसम्म चालीस जना थिए । ती चालीस जनामा आर्थिक हैसियत भने सबैभन्दा कमजोर उहाँकै थियो कि भन्ने लाग्छ उहाँलाई । उहाँ भने हिँडेर स्कुल जानुहुन्थ्यो । तर, त्यस बेला उहाँको साथीहरूलाई भने त्यो बेलाका महँगा महँगा गाडीमा पुर्‍याउन ल्याउँथे, उहाँ भन्नुहुन्छ । 

तर, स्कुल कम्पाउन्ड भित्र भने सरहरुले कहिल्यै पनि त्यो भावना आउन दिनुभएन । उहाँहरूको व्यवहार नै ‘एभ्री वान इज इक्वेल’ भन्ने हुन्थ्यो । त्यसैले उहाँले कहिल्यै पनि लघुताभास अनुभव गर्नु परेन ।  घरबाट कसैलाई केही ल्याउन दिँदैनथे त्यस बेला । कलमको गुणस्तर समेत तलमाथि होला भनेर छ कक्षासम्म सिसाकलमले नै लेख्नुपर्थ्यो । कोर्स अनुसार पढ्ने कुरा छँदै थियो । 

प्रतिभा उजागर गर्न सहयोगी स्कुल

उहाँ लगायत केही साथीहरू इलेक्ट्रिक, इलेक्ट्रेनिकमा रहर भएका साथीहरू ल्याबमा रेडियो आदि बनाएर बस्नुहुन्थ्यो । उहाँले भने नौ कक्षामा इयरफोन लगाएर एउटा रेडियो बनाउनु भएको थियो जो त्यस बेला बिहान रेडियो नेपाल सुरु भएदेखि राति बन्द नहुने बेलासम्म खुलै हुन्थ्यो । 

खासमा आफूमा भएको केही चिजलाई उजागर गर्नमा निकै नै उत्प्रेरणा दिने काम गर्थ्याे स्कुलले । यदि कसैमा कुनै कुराको चाह वा क्षमता छ भने त्यसलाई उजागर गर्न समेत मद्दत गर्थ्यो स्कुलले ।

खेलकुदमा खासमा उहाँलाई रुचि भने थिएन । तर, पनि खेल्नै पर्थ्याे । सहभागिता जनाउनै पर्थ्यो । उहाँको ब्याचमा तीन जना अल्छी थिए रे ! उहाँ भन्नुहुन्छ । अनि ती मध्ये एक जना गोलकिपर बस्यो अरु दुई जना ब्याक कि । अनि बल अगाडि खेलिरहेका हुन्थे साथीहरू उहाँहरू भने पछाडि गफ गरेर बस्नुहुन्थ्यो । कहिले त गफ गर्दागर्दै गोल भइसकेको हुन्थ्यो, उहाँ भन्नुहुन्छ । 

त्यस बेला दश एघार कक्षामा हप्तामा एउटा सिनेमा देखाउने चलन थियो । अनि त्यो प्रोजेक्टर चलाउने काम चाहिँ उहाँ र एकनाले साथीले गर्नुहुन्थ्यो । अनि कतै सेन्सर गर्नुपर्ने भएमा फादरले उता हेर भनेर लेन्स छेक्ने गर्नुहुन्थ्यो । 

उहाँ नेता होइन र आफूमा नेतृत्व गर्ने क्षमता समेत नभएको बताउनुहुन्छ, उहाँ । तरपनि कसो कसो गरी हो उहाँको काँधमा नेतृत्व आयो । कारण रहेछ कोही साथी प्रजातन्त्री, कोही वामपन्थी । एकको नेतृत्व अर्कोलाई स्वीकार्य नहुने । तटस्थ मान्छेको खोजीमा नेतृत्व उहाँको काँधमा आएको रहेछ । प्रहरीको उहाँलाई पक्रने योजना समेत थियो । तर, त्यो वाकिटाकीमा भएको त्यो कुरा टिचिङका साथीहरूले रेडियोमा सुने र खबर गरेपछि उहाँ ढुंङ्गेअड्डाको घरबाट लुक्दै टिचिङ पुग्नुभयो । अनि प्रजातन्त्र घोषणा भएको पाँचौँ दिन उहाँ सार्वजनिक हुनुभएको हो । 

उमेरमा हुने दुष्ट्याइँ

उमेरमा हुने दुष्ट्याइँ त नगरिएको होइन, उहाँ भन्नुहुन्छ । तर, मलाई फलानोले कुट्यो, दुःख दियो भन्ने खालका संस्मरण छैनन्, उहाँ भन्नुहुन्छ । 

त्यस बेला विद्यार्थीले नै आफूले गरेको दुष्ट्याइँको सजाय तोक्ने जिम्मा दिइन्थ्यो । जस्तै, नेपाली बोलेमा यति झापड, पिसाब फेर्दा सँगैको साथीसँग बोलेमा यति झापड आदि आदि । अनि यदि यस्तो गल्ती गरेमा कति सजाय भन्ने सेसनको सुरुमा आफैँले बनाउने हो । 

अब यस्ता बदमासीमा समातियो भने सजायका लागि पनि छाती फुलाएर जानुहुन्थ्यो फादरका अघि । जो पायो त्यही शिक्षकले कुट्न पनि पाउँदैनथे । कोही विद्यार्थीले अर्को शिक्षकको अघि बदमासी गरेमा पनि उसले सजाय दिन पाउँदैनथ्यो । 

सजाय पाउने एउटा छुट्टै कोठा थियो । भने सजाय दिने पनि छुट्टै व्यक्ति तोकिएको हुन्थ्यो । अब सजाय के हो भन्ने बारेमा त आफैँले सेसनको सुरुमा बनाएकै हुन्थ्यो । अनि सजायका लागि गएपछि कति चोटि भनेर सोधिन्थ्यो  । अनि यति पटक भनेपछि त्यति पटक सजाय खायो आयो । 

पढाई अनि बसाई

बस्दा कुम जुध्दैनथ्यो । बेन्च टेबल थियो कक्षा छ सम्म । त्यसपछि भने सिङ्गल चेयर हुन्थ्यो । स्कुलमा मान भन्दा पनि सम्मान गरेर पढाइन्थ्यो, उहाँ भन्नुहुन्छ । 

बस्ने सवालमा भने थरको वर्णानुक्रम विधि अनुसार हुन्थ्यो । तर, त्यसो गर्दा पनि सधैँ एकै ठाउँमा एउटै विद्यार्थी रहने हुनाले दायाँ पट्टिको एउटा लाइन तल लग्यो अनि अर्को लाइन लाने गरिन्थ्यो । त्यसो हुँदा कहिले पनि एउटै ठाउँमा पर्ने भन्ने हुँदैनथ्यो । 

उहाँको रिजल्टमा पनि फस्ट, सेकेन्ड थर्ड भन्ने हुँदैनथ्यो । पास, फेल मात्रै । तलको कक्षामा भने एंग्लो इन्डियन सरहरु हुनुहुन्थ्यो । नेपाली सरहरु पनि हुनुहुन्थ्यो । हाईस्कुलमा भने दुई जना नेपाली सर भएको याद छ उहाँलाई । बाँकी भने सबै विदेशी पादरी वा फादर भनिन्थ्यो । 

उहाँले एसएलसी दिनुभएन । यसको अन्य कुनै कारण नभएर त्यस बेला जेभियर्समा एघारको अन्त्यमा गएर सिनियर क्याम्ब्रिजको परीक्षा हुन्थ्यो । जसले एसएलसी सरहको मान्यता राख्ने गथ्र्यो । 

उच्च शिक्षा

सिनियर क्याम्ब्रिज पछि उहाँ अस्कल लाग्नुभो आइएस्सी पढ्नका लागि । २०३३/३५ को ब्याच हो उहाँको । सेमेष्टर सिस्टमको दोस्रो एक्सपेरीमेन्टल ब्याच ।

त्यसबेला बायो र फिजिक्स दुई समूह हुन्थे । बायोमा दुई सेक्सन थियो । उहाँ भने ‘ए’ सेक्सनमा हुनुहुन्थ्यो । भर्ना हुनेको सङ्ख्या सत्तरी भए पनि पढ्न आउने भने पचास जनजाति हुन्थे, उहाँ भन्नुहुन्छ । महिलाहरूको सङ्ख्या झन्डै एक तिहाइ हुन्थ्यो त्यस बेला ।

त्यो बेलामा साइन्स पढ्न खोजेर नपाउनेहरू पनि हुन्थे । सम्भवतः शिक्षा मन्त्रालयले पहिलो र अन्तिम एक्सपेरीमेन्ट गरेको थियो होला त्यो ।  २०३३ को ब्याचलाई कलेजमा भर्ना लिन दिइएन । सबैको एउटै परीक्षा गरियो । अहिले बुझ्दा भने आइक्यू टेस्ट जस्तो कुनै परीक्षा थियो भन्ने लाग्छ उहाँलाई । उहाँले पढ्न खोजेको विषय साइन्स तथा कलेजमा अस्कल, त्रिचन्द्र यस्तै के के लेख्नुभएको थियो । 

त्यसपछि उनीहरूले ल तँ फलानोमा पढ् भनेर पठाइदिएका हुन् उहाँ भन्नुहुन्छ । त्यसैले त्यो ब्याचमा कानुन पढ्न खोज्छु भन्नेहरूको पनि अस्कलमा नाम निस्किएको थियो ।  जसलाई जहाँ पनि राखिदिएको थियो । आधार के हो ? भन्ने प्रस्ट उहाँहरूलाई थाहा थिएन । उहाँलाई लाग्छ त्यो एक्सपेरीमेन्ट यसरी फेल भयो कि अर्को साल त्यो नियम लागू भएन । 

२०३३ को ब्याचका धेरै साथीहरूले एक वर्ष गुमाए । कारण जसले जे पढ्न खोजेको थियो । त्यो पढ्न पाएन । धेरै विद्यार्थी फेल भए । अनि सर्न पनि दिइएन । र, अर्को वर्ष नयाँ भर्ना लिने काम गरियो ।   त्यस बेला सेमेस्टर सिस्टम पनि भर्खरै आएको थियो । अनि डिभिजन पनि फस्ट, सेकेन्ड नभनी मेरिट, पास र डिस्टिङ्कसन भन्ने थियो । उहाँको भने डिस्टिङ्कसन छोएन । 

कोर्सलाई चार वटा सेमेस्टरमा भाग लगाइयो । अनि हरेक सेमेस्टरमा एसेस्मेण्ट त्यो पनि दुई महिनामा एक पटक । अनि त्यो एसेस्मेण्टबाट एक सय बिस नम्बर ल्याउनुपर्ने हुन्थ्यो ।  किनकि त्यो नेपालको एक्सपेरीमेण्टल ब्याच थियो । एक सय बिस नम्बर नआएका खण्डमा सेमेष्टरमा बस्न पाइँदैन थियो । 

उहाँहरूको एउटा समूहले भने दुई वटा एसेस्मेण्टबाट नै एक सय बिस कटायो । अनि त्यसपछि भने एसेस्मेण्ट नै दिनु परेन उहाँ भन्नुहुन्छ । 

डाक्टरी पढाई 

आइएस्सी सकाएपछि २०३७ सालमा उहाँ आफ्नै खर्चमा डाक्टरी पढ्नका लागि कलकत्ता मेडिकल कलेजमा जानुभयो ।  जुन धेरै नै पुरानो मेडिकल कलेज हो । साथै ब्रिटिशले बनाएको साउथ इष्ट एशियाकोे पहिलो मेडिकल कलेज । उहाँ त्यहाँ  पढ्दा नै कलेजले एक सय पचासौँ जन्म जयन्ती मनाएको थियो । 

उहाँ त्यसभन्दा अघि घुम्न विदेश वा भारत कहीँ पनि जानु भएको थिएन । उहाँको एक जना काका उज्जैनमा पढ्नु भएको थियो । अनि उहाँसँग पछि लागेर कलकत्ता पढ्न जानु भएको हो ।  उहाँ काठमाडौँबाट हेटौँडा–चितवन हुँदै बसमा मुजफ्फरपुर पुग्नुभयो । त्यस बेला पन्जाबीहरूले चलाउने अगाडी मुख भएको हिमालयन ट्रान्सपोर्टको बस चल्थ्यो । 

अनि मुजफ्फरपुरबाट रेल समातेर जानु भएको हो कलकत्ता । त्यस बेला गोरखपुरबाट रेल चलिसकेको थिएन । उहाँ तेस्रो वर्ष हुन्जेल पनि पनि मुजफ्फरपुरबाट नै आउजाउ गर्नुहुन्थ्यो ।  काठमाडौँ आउँदा त्रिभुवन राजपथ नै प्रयोग गर्नुपर्थ्यो । अर्को बाटो खुलेको थिएन । 

कलकत्ता मेडिकल कलेजको भव्यता र सरसफाइका बारेमा कुरा गर्दा उहाँ भन्नुहुन्छ, हामीले सोचे जस्तो सफा र फराकिलो थिएन । त्यो भन्दा त बरु अक्कल सफा थियो, उहाँ भन्नुहुन्छ ।  पढाईकन गुणस्तर राम्रो तर, भौतिक संरचना भने त्यति उम्दा होइन, उहाँ भन्नुहुन्छ । हामीलाई त बङ्गालीले तँ नै भनेर पढाए भन्नुहुन्छ उहाँ । अस्कलमा सम्म तिमी भने कि !

उहाँ भन्नुहुन्छ, अझै पनि मेडिकल एजुकेशनमा चाहिँ तपाईँ आइसकेको छैन । उहाँ आफ्ना एमडीका मेडिकल रेजिडेन्टहरुलाई अझै पनि तिमी भनेर सम्बोधन गर्नुहुन्छ ।  सम्बोधनले खासै अर्थ त राख्दैन । किनकि सबैभन्दा नजिकको साथीभाइलाई तँ भनिन्छ, जबकि भर्खरै चिनेको मान्छेलाई तपाईँ सम्बोधन गरिन्छ, उहाँ भन्नुहुन्छ ।  हुन त एमबिबिएस कोर्स साँढे चार वर्ष र इन्टर्नशीप एकवर्ण गरी साँढे पाँच वर्षको कोर्स हो । तर, स्ट्राइक आदिका कारण समय लम्बियो, सात वर्ष लाग्यो उहाँ भन्नुहुन्छ । 

डा.शर्मा 

उहाँ २०४३ को अन्ततिर एमबिबिएस सकाएर नेपाल फर्कनु भएको हो । नेपाल फर्केर आएको करिब एक महिना पछि काम गर्न थालेकै हाे हुकुम प्रमाङ्गीबाट टिचिङ हस्पिटलमा । त्यो पनि घोडे जात्राको दिन । त्यस बेला जागिरका लागि केही गर्नु परेन । सोझै हु.प्र.। हुकुम प्रमाङ्गी । हुकुम प्रमाङ्गी राणा अथवा राजाको नभएर टिचिङ हस्पिटलको डाइरेक्टरको । उहाँले रमाइलो गर्नुभयो ।

त्यस बेला टिचिङ हस्पिटलको डाइरेक्टर हुनुहुन्थ्यो भीष्मराज प्रसाईँ । त्यस बेला डाक्टरको दरबन्दी कम नै थियो । त्यसैले कुरा गर्ने बित्तिकै भीष्म सरले ल काम गर्न जाऊ भन्नुभयो, उहाँ सम्झनुहुन्छ । 

त्यस बेला टिचिङ हस्पिटल भर्खर भर्खर सुरु भएको थियो । त्यसैले यसको भविष्य के कस्तो हुने हो भनेर मान्छेहरू आउन हिचकिचाउँथे । अनि नेपालमा पनि टिचिङ हस्पिटल चल्छ र भन्ने एक किसिमको दुबिधा पनि थियो त्यस बेला । अनि त्यस्तो ठाउँमा पनि काम गर्न जाने हो र चार वर्षमा बन्द हुन पनि सक्छ भन्थे अरु साथीहरूले । 

बेतलबी जागिर 

उहाँले टिचिङ हस्पिटलमा काम गर्नुअघि आठ कक्षा भन्दा माथिको हरेक मिनपचास विदामा बेतलवी जागिर बनेर बिताउनु भयो । पिताजीले मिनपचासमा त्यसै बस्नुहुँदैन भनेर आफ्नै अफिसमा काममा लैजाने गर्नुहुन्थ्यो । त्यो भनेको पाटन ढोकाको जगदम्बा प्रेस । 

उहाँको पहिलो मिनपचासको छुट्टी कम्पोजिटरको कोठामा बित्यो । दोस्रो बाइण्डिङको कोठामा । त्यसो गर्दा गर्दै उहाँ पुरानो खालको मेशिन चलाउन सक्ने भइसक्नु भएको थियो । काम सिक्नुपर्छ भन्ने पिताजीको मान्यता थियो । त्यै मान्यताले उहाँलाई जगदम्बा प्रेसको कोठा कोठामा पुर्‍याएको थियो ।  बिहान पिताजीसँगै अफिस गयो अनि बेलुका सँगै फर्कनुहुन्थ्यो । दिउँसो एक कप चिया खान पाइन्थ्यो, उहाँ भन्नुहुन्छ । 

पहिलो तलब

उहाँको पहिलो तलब भनेको टिचिङ हस्पिटलको नै थियो । पहिलो महिनाको ठ्याक्कै यति नै भन्ने त हेक्का भएन उहाँलाई । तर, खोज्दै जाँदा भेटिएको एउटा नियुक्तिको चिठीमा तेइस सय जस्तो लाग्छ, उहाँलाई । 

त्यो भने उहाँले काम सुरु गरेको लगभग छ, आठ महिना पछिको पत्र हो । अगाडि कतिमा काम सुरु गर्नुभएको हो त्यो भने याद छैन । त्यसको कारण रहेछ, उहाँले करारमा सुरु गर्नुभएको होइन रहेछ । अनि काम गर्ने हो हो भनेपछि कहाँ जाने भन्दा भीष्म सरले सर्जरीमा जा भनेपछि गइयो उहाँ भन्नुहुन्छ । हाजिरको पनि प्रचलन थिएन । 

काम गर्न थालेको अढाई तीन महिना पछि बल्ल उहाँको अफिसियल कागज बनेको हो । ए, तेरो त छुटेछ भनेर एकै पटक पैँतालिस सयको चेक बुझेको सम्झना छ उहाँलाई । त्यो बेलाको समय नै त्यस्तो थियो, उहाँ भन्नुहुन्छ ।  उहाँले प्राप्त गर्नुभएको त्यो पहिलो तलब वा चेक उहाँले लगेर सिधै पिताजीलाई दिनुभयो । पिताजीले छोराको डाक्टरको कमाई हर्षबढाइँको रुपमा कुलदेवताक पूजा भाँडा किन्नमा खर्च गर्नुभएको बताउनुहुन्छ, उहाँ । 

विवाह 

चालीस सालतिर हुनुपर्छ विवाह भएको उहाँ भन्नुहुन्छ । पढ्दा पढ्दै भएको हो बिहे भएको । उहाँ यसलाई खोजी मागी विवाह भन्न रुचाउनुहुन्छ । भागी चाहिँ होइन है, उहाँले सचेत पनि गराउनु भयो । 

आफैँले खोजेर अनि मागेर गरेको हुनाले यसलाई उहाँ खोजी मागी विवाह भन्न रुचाउनुहुँदो रहेछ । उहाँहरूको भेट कलकत्तामा भएको हो । राजा महेन्द्रबाट खेदिएका एउटा ठुलो जमात थियो त्यस बेला कलकत्तामा । उहाँ पनि त्यस्तै मध्येको एक हुनुहुँदो रहेछ । तर, घर भने स्याङ्जा । 

त्यस बेलामा अक्षर गरेर पैसा तिर्नुपर्ने टेलिग्राम गर्ने भन्ने हुन्थ्यो । उहाँले मैले यसो सोचेको छु भनेर चिठी पठाउनुभयो पिताजीलाई । त्यस बेला चिठीको जवाफ पाउन दश दिन जति लाग्थ्यो । अनि यस्तैमा पिताजीको टेलिग्राम आयो, ‘योर च्वाइस एक्सेप्टेड’ । 

उहाँको तीन सन्तान । जेठी छोरी अहिले अमेरिकामा पोस्ट डक्टरेट गर्दैहुनुहुन्छ कम्युनिटी मेडिसिनमा । त्यो भनेको पिएचडी पछिको पढाई हो । अर्को छोरीको पढाई भने व्यवस्थापन तर्फ । छोरा भने पिताजीको लाइनमा अर्थात् डाक्टर । एमबिबिएस सकाएर अहिले पढ्दै हुनुहुन्छ । 

२०४६ को आन्दोलनको नेतृत्व

सम्भवतः यदि टिचिङ हस्पिटलमा त्यस बेलामा गोली चलेको भए मर्नेमा सबैभन्दा अघि म नै हुन्थे होला, उहाँ भन्नुहुन्छ । कारण रहेछ, प्रहरीले बोकेको बन्दुकको नालको अगाडि नै उहाँ हुनुहुँदो रहेछ । 

छयालीसको आन्दोलन उठेर पनि शिथिल भइसकेको थियो उहाँ भन्नुहुन्छ । तर, पेसागत सङ्गठनका तर्फबाट बार एसोसिएसनले सुरु गरेपछि भोलिपल्ट टिचिङ हस्पिटलमा आन्दोलन भएको हो, उहाँ भन्नुहुन्छ । 

उहाँ नेता होइन र आफूमा नेतृत्व गर्ने क्षमता समेत नभएको बताउनुहुन्छ, उहाँ । तरपनि कसो कसो गरी हो उहाँको काँधमा नेतृत्व आयो । कारण रहेछ कोही साथी प्रजातन्त्रवादी, कोही वामपन्थी । एकको नेतृत्व अर्कोलाई स्वीकार्य नहुने । तटस्थ मान्छेको खोजीमा नेतृत्व उहाँको काँधमा आएको रहेछ । प्रहरीको उहाँलाई पक्रने योजना समेत थियो । तर, त्यो वाकिटाकीमा भएको त्यो कुरा टिचिङका साथीहरूले रेडियोमा सुने र खबर गरेपछि उहाँ ढुंङ्गेअड्डाको घरबाट लुक्दै टिचिङ पुग्नुभयो । अनि प्रजातन्त्र घोषणा भएको पाँचौँ दिन उहाँ सार्वजनिक हुनुभएको हो । 

फेरी पढाई 

त्यस बेला यहाँ एमडीको पढाई हुँदैनथ्यो । अनि उहाँ डिपिएम पढ्नका लागि बङ्गलादेश जानुभयो २०४९ सालमा । उक्त कोर्स दुई वर्षको हो । अनि बङ्गलादेशको ढाका युनिभर्सिटीबाट २०५१ मा डिपिएम सकेर उहाँ काठमाडौं फर्कनु भयो । 

त्यस बेलासम्म टिचिङ हस्पिटलको नियम त्यति स्पष्ट थिएन । पछि एमडी नगरी प्रोफेसर हुन नपाइने नियम बन्यो । अनि उहाँ एमडी गर्न थाइल्यान्ड जानुभयो ।

थाइल्याण्डबाट एमडी गरेर फर्कनु भयो २०५५ सालमा । त्यसै अनुरूप यता जागिरमा पनि बढुवा हुँदै गयो । अनि २०६२ मा एमएस्सी साइक्याट्री भन्ने कोर्स पनि गर्नुभयो । त्यसपछि स्वअध्ययन बाहेक डिग्रीका लागि हुने उहाँको पढाई भने रोकिएको छ भन्नुहुन्छ उहाँ । 

उहाँको रुचि भने मानसिक स्वास्थ्यमा पनि विशेष गरी सामुदायिक मानसिक स्वास्थ्य पर्ने रहेछ । त्यही हिसाबमा उहाँ काम गर्न जिल्लातिर गइरहनुहुन्छ । यसै सिलसिलामा उहाँले छब्बीस जिल्लाको भ्रमण गरिसक्नु भएको छ । 

अनि मान, सम्मान र पद्वीका बारेमा कुरा गर्दा कसैले दिएको पनि छैन र थाप्न पनि गएको छैन, उहाँ भन्नुहुन्छ । 

अन्त्यमा 

डाक्टरीलाई एउटा आकर्षक र सम्मानजनक पेसाका रुपमा लिइन्छ । शायद त्यस कारण पनि होला यसले केही अहम् पनि जन्माउने गरेको छ । तर, डा शर्मालाई हेरेपछि डा. पनि यति सामान्य र सरल हुन्छ र ? अनि एउटा सामान्य सरल मान्छे पनि सफल डाक्टर हुनसक्छ भन्ने कुरा उहाँको जीवनबाट सिक्न सकिने सबैभन्दा ठुलो पाठ हो ।