जितको खाता खोल्न सक्ला बैंग्लोर ?

जितको खाता खोल्न सक्ला बैंग्लोर ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  चैत्र ३०, २०७५

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलेभन पञ्जावको सामना गर्दैछ । 

चालू आइपिएलका ६ खेलमा जितविहीन रहेको बैंग्लोरले पञ्जावसँग जित निकाल्न सक्ला ? 

बैंग्लोरलाई पञ्जावसँग जित निकाल्न सहज भने छैन । उसले आजको खेल जित्न पञ्जावको प्रारम्भिक जोडीलाई रोक्नुपर्नेछ । पञ्जावका प्रारम्भिक ब्याट्सम्यान केएल राहुल र क्रिस गेल फर्ममा छन् । 
यसअघि मुम्बईविरुद्धको खेलमा दुवैले आक्रामक ब्याटिङ गरेका थिए । सो खेलमा राहुलले अभिजित १०० रन र गेलले ६३ रन जोडेका थिए । 

यस्तै पञ्जावको बलिङ आक्रमण पनि राम्रो छ । त्यसैले बैंग्लोरलाई खेल जित्न पञ्जावको बलिङ आक्रमणलाई तोड्नुपर्नेछ । 

उता पञ्जावलाई पनि खेल जित्न सहज भने देखिँदैन । चालू आइपिएलमा बैंग्लोरको ब्याटिङ खासै नचले पनि उसको टिममा ‘म्याच विनर’ खेलाडी छन् । ‘मिस्टर ३६०’को उपमा पाएका साउथ अफ्रिकाका एबी डिभिलिएर र कप्तान विराट कोहली यसको उदाहरण हुन् । त्यसैले पञ्जावलाई खेल जित्न यी खेलाडीलाई रोक्नुपर्नेछ ।

हेड टु हेडमा पञ्जाव अगाडि 

यी दुवै टोलीबीच भएका हेड टु हेड खेलमा भने पञ्जाव अघि देखिएको छ । दुवै टोलीले खेलेका २२ खेलमध्ये पञ्जावले १२ खेल जितेको छ भने बैंग्लोरले १० खेलमा मात्रै सफलता पाएको छ ।