यादहरूको गीत

यादहरूको गीत

नन्दु उप्रेती  |  साहित्य  |  पुष १८, २०७७

मोवाईलबाट मेल लेख्नअघि
कागजमा कलमले लामो चिठ्ठी लेखेँ तिमीलाई
मोवाईलको स्क्रीनमा खसेका आँसुका थोपाको 
के मुल्य हुन्छ र  ?

जून रोएर बगेका शीतका आँसुले
सबेरै बलेँ सीमा छाडेका छापहरू जस्तै
मायालु छापहरू छापिए
चिठ्ठी लेखेको कागजभरि । 

बचेरालाई चारा खोज्दै गर्दा 
शिकारीले एकल्याएको एकल चरीले 
रुखका डालीमा खसाएका आँसुका छापहरू जस्तै
विरही छापहरू छापिए
चिठ्ठी लेखेको कागजभरि ।

तिमी नै तिमी भरेर 
तिमीले पठाइदिएको मोबाईलमा
ती अक्षरहरू सार्न सक्दिन प्रिय म
प्रेम, बिछोड, पर्खाइ र यादहरू खिपेर 
आँसुका अक्षरहरूले
हृदयभरि लेखेको गीत गुनगुनाउदै 
तिमीलाई पर्खिरहन्छु
तिमीलाई पर्खिरहन्छु म ।