मेरी स्वास्नीको लोग्नेसँग
पुष १८, २०७७

'महाशय, तिमी यो घरबाट तुरुन्तै जान सक्छौ... अहिल्यै !'

यो वाक्यसँगसँगै म के देख्दछु भने मैले किनेको सोफा सेटमा एउटा राक्षसजस्तो मान्छे बसिरहेको हुन्छ र ऊ मलाई यो सभ्य भाषामा आदेश गरिरहेको हुन्छ । साथसाथै म अन्दाज पनि गरिरहेको हुन्छु, वास्तवमा योभन्दा निकृष्ट र दुष्कर भाषा ममाथि प्रयोग गरिनुपर्ने हो, जति मैले अक्षम्य भूल गरिरहेको हुन्छु । तर बेलायती सभ्यताको आवरणले छोपिएको यो मानवको सभ्य चरित्र हो वा यी निर्जीव भित्ताहरू मलाई दुत्कारिरहेका छन्, मलाई छुट्याउन गाह्रो परिरहेको हुन्छ । 

लाग्दछ, सभ्यताको आवरण मानव आत्माको दमनको अतिशयोक्ति पनि हो । म के देख्दछु भने यो सभ्य भाषिक व्यवहार ममाथि गरिरहँदा मप्रति एउटा अव्यक्त क्षोभ र द्वेषको मानसिक दवाबले उसका आँखा र निधारका नसाहरू तनावग्रस्त अवस्थामा स्पष्ट देखिरहेका हुन्छन् । सम्भवतः त्यो अनुहार पिन थुतिएको ग्रिनेडझैँ चाँडै पड्किँदै छ । त्यहाँको वातावरणको तनावले घरको भित्ता भत्केलाझैँ भइरहेको छ र उतापट्टिको झ्यालको सिसा चर्किएला जस्तो भइरहेछ । बाहिरको शीतल हावा त्यही भित्ता र सिसाले छेकेको छ । 
म पटक पटक आफूलाई यही प्रश्नको भूतले लखेट्न थाल्दछु- म को हुँ ? म के हुँ ? के म साइबर युगको मालिक हुँ कि आदिम युगको हातखुट्टामा साङ्लीले बाँधेर ल्याएको दास हुँ ?  ए हैन होला, पासपोर्टमा आफ्नो विक्रीको विज्ञापन हालेर घाँटीमा टाईको दाम्लो बाँधेर आएको आधुनिक दास पो हुँ कि ?'
म यही आएर धेरै कुरा नबुझ्ने हुन्छु । 

'तिमी यहाँ आएर हामीलाई बाधा पुर्‍याइरहेका छौ । तिम्रो कारणले यहाँ तनाब बढिरहेको छ... त्यो तिमीले बुझिदिनुपर्छ ।' अझै पनि उसको सभ्यताले मप्रति निकृष्ट व्यवहार र दुष्कर भाषा प्रयोग गर्न आदेश दिएको छैन । तापनि म बुझ्दिनँ, यो मेरी स्वास्नीको नयाँ लोग्ने के बोलिरहेको छ । हुन त मैले यहीँ आएर उसको भाषा सिकेको हुँ । मैले अङ्ग्रेजी भाषा पो जानिनँ कि ! अहिले ऊ के बोलिरहेको छ ? म बुझ्दिनँ । मेरो घरमा मेरो कारणले उसलाई किन तनाब भइरहेको छ ? 

म अझै सचेत हुने प्रयत्न गर्दछु, कतै अचेतमा म अर्काको घरमा त प्रवेश भएको छुइनँ ? म वरिपरि नियाल्दछु, यो त्यही घर हो जो मैले डेभिड क्याडक कम्पनीद्वारा भाडामा लिएको घर –जसको मैले प्रत्येक महिना पाँच सय पचार पाउन्ड भाडा तिर्दै आएको छु । जसको प्रत्येक महिनाको २८ तारिक डाइरेक्ट डेभिडद्वारा भुक्तान हुने बिल एचएसबीसी बैङ्कको स्टेटमेन्टमा आउने गर्दछ । 

'हो, म यहीँनेर आइपुगेर केही नबुझ्ने भएको छु ।' हाम्रा पूर्वज महापुरुषहरूले अज्ञानतालाई दुःख मानेका छन् । सायद, अज्ञानताकै कारण म यहाँ महादुःख सागरमा छु ।

'म कहाँ छु ? म किन यहाँ छु ?' म भित्तालाई छाम्दछु । भित्ता म भइसकेको अवस्था होइन यो । म आफूलाई छाम्दछु । म आफू पनि भित्ता भइसकेको अवस्था होइन यो, न त यो मेरो पूर्ण बेहोशी न त होशमा रहेको अवस्था नै हो । 

'महाशय, अब तिमी जान सक्छौँ ।' उसले पुनः त्यही वाक्यलाई अलिक शक्ति प्रयोग गरेर दोहोर्‍याएको हुन्छ । 

खोइ, के भन्दै छ कुन्नि ! मेरो खुकुरीको धारले एकैतालमा वार कि पार तार्ने गरी जार हान्नुपर्ने यो मान्छे । यो मेरी स्वास्नीको लोग्ने क्रोधले भनभनाइरहँदा मेरो मानसमा दूधकोसी गड्तीरको जारढुङ्गाको दृश्य सल्बलाई रहेको हुन्छ, जो एउटा सानो डाँडाजत्रो गोलो ढुङ्गा बीचौबीच भागबाट दुई फग्लेँटो भएको अवस्थामा छ । हाम्रोमा उक्त जार ढुङ्गाको किंवदन्ती छ– उहिले जार काट्ने प्रचलन हुँदा सो ढुङ्गोलाई अचानो बनाएर जार काट्दा खुकुरीले जारको गर्दन छिनाएर ढुङ्गो नै दुई फग्लेँटो भएको रे ! अझैसम्म पनि मेरो अन्तरमा त्यो अतीत र मिथकीय प्रभावको सानो अंश बाँचेकै रहेछ र त्यसले मलाई ब्युँझिएर छुन खोज्दछ । म आफ्नो कम्मर छाम्दछु, धन्न भगवान्ले शुभ सोचेका रहेछन् र ' मैले खुकुरी ल्याउन भुलेछु । फेरि म उत्ता भित्तामा उभिएको टेलिभिजनमाथि आँखा पुर्‍याउँछु जहाँ खुकुरी सजाइएको थियो । त्यहाँबाट पनि सजाइएको खुकुरी हटाइएछ, जहाँ अहिले खुकुरी सजाउने स्ट्यान्ड मात्र रित्तो ठिङ्ग्रिङ्ग उभिरहेको छ । 

'थुइ्या म !' कायर हुनुभन्दा मर्नु निको भनेर खुकुरीले संसार थर्काउने बहादुर गोर्खा म आफ्नै स्वास्नीसँग हारेर मर्नुभन्दा बहुलाउन निको भन्दै थ्याच्चै सोफामा बस्दछु । संसार जित्ने वादशाहहरू त एउटी नारीसँग पराजित भएका छन् भने म नाथु झुसे बारुला । 

मलाई मेरो देशको एक महान् कवि भूपि शेरचनको ‘हामी’ कविताको एक पङ्क्तिको स्मरण हुन्छ ः

'हामी वीर छौँ र बुद्धु छौँ 
हामी बुद्धु छौँ र वीर छौँ 
हामी बुद्धु नभई वीर हुन कहिल्यै जानेनौँ... ।'

वास्तविकता यही हो, अरूको युद्ध मात्र जितिदिने बहादुर गोर्खाली म, तर आफ्नो युद्ध सधैँ हारिरहने मान्छे हुँ । त्यसैले अरूले बनाइदिएको मेरो परिचय बुद्धु र बहादुर दुवै हो । मैले जितेको मेडलहरूभन्दा अरू केही हैन । 

म फकल्यान्ड र कोशोभो युद्धमा जितेको र अठार वर्ष बफादार नोकर भएर पाएको मेडलहरू सिसाको फ्रेममा हालेर सजाइएको भित्तातिर आँखा डुलाउँछु । त्यो भित्ताबाट मेरा मेडल सजाइएको फ्रेम पनि हटाइएछ । अनि पो याद गर्दछु, मैले भाडा तिर्दै आएको यो घर ढाडे बिरालो आएपछि सब बदलिएछ । कपाल खैरो बनाएर बद्लिएकी रहिछे त्यो कुइरेकी स्वास्नी पनि । तर अचम्म यहाँ आएर म मात्र किन नबदलिएको रहेछु ? 

मलाई नबदलिने आफ्नै अनुहार कोतार्न मन लाग्यो । त्यो भित्ताको ऐना फोर्न झोँक चल्यो । मलाई बलात आफ्नो छाला उधारेर फाल्न मन लाग्छ र त्यो कुइरेको छाला काढेर मेरो शरीरमा टाँस्न झोँक चल्छ । किन मान्छेलाई छालाको रङ्गले यत्रो विभेद गर्दछ र उसलाई रङ्गवादी बनाउँछ ? फेरि ऊ त्यही रङ्गलाई पहिचान पनि भन्दछ । मान्छेको विषयमाथि अर्थ प्रदान गर्ने विरोधाभासपूर्ण खेलले मलाई अझै केही नजान्ने बनाउँछ । 

'लाखै, मलाई एकछिन ता सोच्न देऊ !'

 तर मलाई थाहा छ, सोच्नु मेरो काम होइन । मैले सोचेजस्तो अर्थ लाग्ने भए मेरो जीवनले यस्तो स्थितिको सामना पनि त गर्नुपर्ने थिएन । 

अहँ, लगभग अठार वर्षसम्म गोर्खा सेनामा दिमाग खलास बनाइएको मेरो अल्पबुद्धिमा केही पनि पस्दैन । अठार वर्ष त्यही गोबरे दिमागले कमान्डरले ढुङ्गालाई आलु बनाउँदा र आलुलाई ढुङ्गा बनाउँदा 'हो हजुर' भनेँ । तेरो आपालाई गोली हान्छु र आमालाई बाँध्छु भन्दा 'हुन्छ हजुर' भनेँ । हौ, अनि म कसरी बुझ्छु होला त यो मेरी स्वास्नीको लोग्नेको भाषा । 

सोच्नुजस्तो जटिल कामले मलाई किन सधैँ सताइरहन्छ ? तैपनि म रिङ्गटा लाग्ने गरी सोची नै रहन्छु... 'हौ, यो घर मेरो पो हो कि मेरी स्वास्नीको लोग्नेको पो.. ? हौ, यो घरमा आएर मैले पो उसलाई बहिर्गमनको आदेश दिनुपर्ने कि उसले पो मलाई ? को कहाँ सुल्टोमा पर्‍यो ? को कहाँ उल्टोमा पर्‍यो ?”

यो भ्रान्तिले म संदिग्धताको खाडलमा जाकिन्छु । यही भ्रान्तिमा मैले जानीनजानी आफ्नो जीवनलाई सुखको प्रलोभनमा परेर दुःखको दलदलमा डुबाइसकेको छु । 

मेरी स्वास्नीको लोग्ने त्यो कुइरे, जो यो घरलाई आफ्नो भनेर मलाई वहिर्गमनको आदेश दिइरहेछ, जसको भाडा प्रत्येक महिनाको २८ तारिक मैले डेभिड क्याडक कम्पनीलाई ५५० पाउन्ड मैले तिर्नुपर्दछ । अझैसम्म पनि हरेक महिना सरकारी कर र घर सुविधामा उपयोग गरिएका १७ वटा महसुल मैले भुक्तान गर्दै आएको छु । त्यसो हो भने यो घर मेरो हुनुपर्ने हो कि मेरी स्वास्नीकी लोग्नेको ? यो दिउसै रात परेको हो कि मेरो जीवनमा घाम नलागेको हो ? म धेरै कुरो नबुझ्दो रहेछु । 

यी यो बैठक कोठाको सोफा सेट जो अहिले मेरी स्वास्नीको कुइरे लोग्ने बसिरहेको छ, त्यो त्रोस्टर सुपर मार्केटको डि.एफ.एस. दोकानबाट मैले ३५०० पाउन्ड लगाएर किनेको हुँ । त्यसकै अगाडिपट्टि अहिले उसकै घुँडाले छोइरहेको कफी टेबल, त्यसको पछाडिपट्टि भित्तामा अडेसिएर हामीलाई हेरिरहेको २१ इन्चे सोनी टिभी कमेट दोकानबाट ११०० पाउन्ड लगाएर मैले नै ल्याएको हुँ । त्यसको मुनिपट्टि आकाशे च्यानलको रिसिभर र सी.डी. प्लेयर । पल्लो कुनामा खुट्टा तन्काएर बसिरहेको टेलिफोन र बायाँ छेउमा झोक्राइरहेको कम्प्युटर, अनि माथिबाट भित्तामा झुन्डिरहेको भित्तेघडी । झ्याल र ढोकामा झुन्डिरहेको आधुनिक पर्दा, झ्यालको डिलडिलमा एकोहोरिरहेका फूलका गमलाहरू । बैठक कोठाको पल्लो कुनामा महसुल भुक्तान गरिएका कागजातहरूले आयतन र वजन बढाइरहेको कालो बिल बक्स । 

'अहो ! नारी स्वतन्त्रता भनेको के हो ?'साँच्चि नै सोच्नुजस्तो जटिल काम नचाहेर पनि म नारी स्वतन्त्रताको अर्थ सोच्न थाल्दछु, 'के नारी स्वतन्त्रता भनेको पुरुषविहीन परिवार, समाज र वर्गको निर्माण हो ? अथवा पुरुषसँगको विच्छेद र विखन्डन हो ? यदि होइन र नारी स्वतन्त्रता पुरुष, परिवार, समाज र राष्ट्र सङ्गत नै हो भने मेरो दिमागमा त मेरो देशकी महान् लेखिकाको वाक्य नै सही ठहर्दछ । 

हेर्दै जानोस्, भान्सा कोठाको उदास भाँडाकुँडाहरू र टेबल कुर्सीहरू । उ... त्यो आर्गोस सुपर मार्केटबाट किनेको राइस कुकर र आस्डा सुपर मार्केटबाट ल्याएको मसला पिँध्ने ग्रेन्डर मेसिन । करी सुपर मार्केटमा किनेको होट पोइन्ट रेफ्रिजेटर । नेपालबाट ल्याएको मासु काट्ने खुकुरी, दाल पकाउने प्रेसर कुकर र ब्रुनाईबाट दिल दाइले पठाइदिनु भएको फलामको कराई । यो घरका हरेक भित्ता र त्यहाँ सजिएका सबै सामानहरूबाट यही डाभेन रोडको एक फलाम कम्पनीमा प्रत्येक दिन १२ घण्टा फलामसँग जुधेर काढिएको पसिनाको गन्ध आइरहेको छ । यो घरको लागि प्रत्येक महिना भुक्तान गर्नुपर्ने विलले मेरो नाम र ठेगानामा मलाई खोज्दै आइपुग्दछ । 

हौ, सोच्नोस् त ? म पक्कै पनि धेरै कुरा नबुझ्दो रहेछु... यो घर मेरो हुनुपर्ने हो कि मेरी स्वास्नीको लोग्नेको ? जो मेरो घर आएर मेरै श्रीमतीलाई अवैध स्वास्नी बनाएर प्रत्यक्ष चुनौती दिँदै मलाई नै आफ्नो घरबाट बहिर्गमनको सभ्य आदेश फर्माइरहेछ । यतिखेर मेरो कम्मरमा खुकुरी हुन्थ्यो भने यो मान्छेले मेरो बहादुरिताको परीक्षा लिइरहन सक्दथ्यो होला र !
'टङ्.. ..टङ्... टङ्... !'

उता टाउन हलको घण्टाघरबाट रातको दस बजिसकेको समय सूचक आवाज मेरो टाउकोमा आएर ठोक्किन्छ । तर अहँ, मेरो दिमागमा केही पनि पस्तैन । म मेरै टाउको माथिको सिलिङमा झुन्डिरहेको बत्तीलाई हेर्दछु । अहँ, मेरो बुद्धिको घनघोर अन्धकारमा त्यो बत्तीको उज्यालो छिर्दैन । म आफू बसेको ठाउँबाट झ्याल बाहिर हेर्दछु । बाहिर रात हो कि दिन केही थाहा हुँदैन । म कस्तो दिउँसै रात पर्ने ठाउँमा छु ? कि रातलाई दिन बनाउने जग्गामा छु ? म केही पनि नबुझ्दो रहेछु । 

 तब ता निश्चय गर्दछु कि पक्कै पनि म केही नबुझ्दो रहेछु, यो मेरी स्वास्नीको कुइरे लोग्नेको जिउँदै मान्छे खाने भाषा । म बुझ्दिनँ, कुन दुनियाँमा आइपुगेको छु । कुन सपना र त्यसको प्राप्तिको अभिलाषाको दाम्लाले घाँटीमा टाई बाँधेर आधुनिक दास बनाई यहाँ ल्याइपुर्‍यायो । के यही हो मैले भोग्नुपर्ने सपनाको देश ? 

हो, मैले यतिसम्म ता पक्कै बुझेको छु, विगत २०० वर्षदेखि यो देशको निम्ति मेरा पितापुर्खाले आफ्नो रगत र पसिना बगाएको ऐतिहासिक सम्बन्धको कारणले गत ५ वर्षदेखि सपरिवार म यहाँ अर्थात् बेलायतको वेल्स राज्यको एक ऐतिहासिक स्थलको अत्यन्तै रमणीय क्लेनेथ्ली सहरमा छु । धेरै वर्षअघि फलाम व्यापारको क्रममा मजदुरहरूद्वारा आवाद हुन गएको यो स्थल आज आधुनिक सहरमा रूपान्तरित छ । तर यो आधुनिक सहर मानवीय बस्तीलाई ध्वस्त पारेर मात्र निर्माण गरिएको हो कि ? यहाँका मानवीयता यान्त्रिकतामा विलयनपछि आधुनिक मानवको जन्म भएको हो कि ? सायद, मेरो दुःखको कारण पनि यही होला, जसलाई मैले सपनाको देश ठानेको थिएँ । 
म निश्चय गर्दछु, यही सपनाको सहरमा बिपनाको निर्ममताले भत्किएको अवस्थामा छु । म यहीँनेर बलात लुटिएको छु । 

होशमा हो कि बेहोशमा म के देख्दछु भने, कतिखेर रेफ्रिजेटरबाट निकालेर ल्याएको बरफको डल्ला र ग्राउज ह्विस्कीको भरी बोतल र रित्तो ग्लासले टेबलमा मेरो प्रतीक्षा गरिरहेको हुन्छ । त्यसलाई म ग्लासमा सार्दछु र पानीको सहायताबिना नै निल्न आरम्भ गर्दछु । अब म ह्विस्कीको मातले आफ्ना सम्पूर्ण चेतनाका नसाहरूलाई मूर्च्छित पार्न चाहन्छु । तर जीवनको महानशाद्वारा प्रभावित मानव मानसमा ह्विस्की र ब्रान्डीको कृत्रिम नशा वर्जित हुँदो रहेछ । तर अनौठो के हुन्छ भने मैले पिएको ह्विस्कीको नशा उसलाई लागिरहेको हुन्छ । 

'महाशय राई, स्मरण रहोस्... तिमी एक सामान्य नागरिक मात्रै होइनौ, कानुनको अभियुक्त पनि हौ । तिम्रो लागि यो घर मात्रै होइन सम्पूर्ण लेकफिल्ड स्ट्रिट नै प्रवेश निषेध छ । आज तिमी नशामा पनि छौ, अब मैले पुलिसको आपत्कालीन सहयोग लिनुपर्ने हुन्छ... बुझ्यौ ?'

अब ता उसको सभ्यताको शक्ति क्षीण हुँदै गएर हो कि मेरी स्वास्नीको लोग्ने धम्कीपूर्ण भाषाको व्यवहार गर्न थालेको हुन्छ । तापनि त्यो धम्कीपूर्ण भाषाको मेरो लागि के अर्थ हुन्छ ? म बुझ्दिनँ । 

तर म बोल्दिनँ । यहाँ आएर मैले बोल्नुपर्ने काम पनि त थिएन । कारण कुरो नबुझीकन बोल्नु र त्यसको अर्थ लाग्नु हुन्थ्यो भने मेरो संसार नै अर्कै हुन्थ्यो । 

'यो ह्विस्कीको मातले हैन, पुरुष दम्भको नशाले मातेको हो... यसलाई कानुनले नै ठीक लगाउँछ ।' त्यो जारकी स्वास्नीको तिखो शब्दवाणले मेरो मर्म भेदनको निशाना लगाउँदछे । 

 हौ, त्यही बेलायती कुकुर्नी हो, जो यहाँ आएको ५ वर्षमा नागरिकता लिएर बेलायती नारी भइसकेकी छे र भर्खरै आफ्नो देश मात्रै नभएर नयाँ लोग्ने पनि फेरेर बेलायती स्वास्नी मान्छे भएकी छे । एक स्वतन्त्र राष्ट्रको अधिकार सम्पन्न उन्मुक्त नारी, जो आफ्नो पूर्व राष्ट्रलाई पुरुषप्रधान देश भनेर घृणा गर्दछे र पुरुषहरूप्रति प्रतिशोधको भावना । अहिले ऊ बैठक कोठाको पल्लो छेउबाट खिच्चा कुकुर्नीझैँ भुक्दैछे । 

'यो तेरो नेपाल हैन, बुझिस् !' त्यो बेलायती लोग्नेकी नेपाली स्वास्नी मलाई तँ जस्ता पुरुषहरूलाई तह लगाउने देश हो भनेर मेरो औकातलाई स्मरण गराउन खोजिरहेकी छे । टुप्पाबाट पलाएका हाँगालाई आफ्नो जरा कहाँ हुन्छ थाहा हुँदैन भनिन्छ । 

धन्य, उसले मेरो औकातको स्मरण गराइदिई । मेरो जरा कहाँनेर छ भनेर देखाइ दिइन् । नत्र नेपाली नारीले आफ्नो अधिकारका निम्ति आफ्ना पुरुषसँग होइन, पुरुषहरूलाई सर्वोपरी छुट दिने पुरुषप्रधान राज्य–व्यवस्था विरुद्ध सङ्घर्ष गर्नुपर्दछ भन्ने उसको विवेकमा खिया परेको मैले हेर्न पाउने थिइन । त्यसैले उसले पुरुष प्रधान राज्य–व्यवस्थाको विरुद्धमा सङ्घर्ष गर्नुभन्दा पुरुषलाई नै खाल्डोमा जाक्न सहज र उत्तम मार्ग अपनाइरहेकी छे !

मेरो देशकी महान् लेखिका ‘पारिजात’ले कुनै अन्तर्वार्तामा बोलेकी एक वाक्यलाई म सम्झिन्छु, 'संसारका नारी जातिले आफ्नो मुक्तिका लागि सङ्घर्ष र विद्रोह पुरुष विरुद्धमा होइन, पुरुषवादी धर्म, संस्कृति र राज्य व्यवस्था विरुद्ध हुन पर्दछ ।' 

संसारका नारी जातिले आफ्नो मुक्ति सङ्घर्षमा मेरो देशकी महान् लेखिकाको यो वाक्यलाई कुन स्तरमा मनन गरेका होलान् ? तर दिमागको दुश्मन र ज्ञानको भोकमारी यो जारकी स्वास्नीको बुद्धिमा आफ्नै देशकी महान् लेखिकाको वाक्यको अर्थ खुल्दैन र ऊ गोबरे कीराझैँ गोबर खाएर गोबरभित्रै बोसो लागेर मोटाएर बसेकी छे ! 

'देखिस्, आज म संसारकै स्वतन्त्र नारीप्रधान देशमा छु... अब मैले कुनै पनि पुरुषको अर्धाङ्गिनी र दासी भइरहन पर्दैन ।' उसको अनुहार भर्भराउँदो कोइलामा पोलिएर भर्खरै निकालिएको फलाम जस्तो देखिन्छ । सम्भवतः उसको कुराले त पुरुषबाट स्वतन्त्र हुनका लागि संसारका सम्पूर्ण नारी बेलायत आउनु पर्दछ भनेर मलाई बुझाइरहेको हुन्छ । 

'अहो ! नारी स्वतन्त्रता भनेको के हो ?'साँच्चि नै सोच्नुजस्तो जटिल काम नचाहेर पनि म नारी स्वतन्त्रताको अर्थ सोच्न थाल्दछु, 'के नारी स्वतन्त्रता भनेको पुरुषविहीन परिवार, समाज र वर्गको निर्माण हो ? अथवा पुरुषसँगको विच्छेद र विखन्डन हो ? यदि होइन र नारी स्वतन्त्रता पुरुष, परिवार, समाज र राष्ट्र सङ्गत नै हो भने मेरो दिमागमा त मेरो देशकी महान् लेखिकाको वाक्य नै सही ठहर्दछ । 

मलाई दया लाग्छ, जारकी स्वास्नीको चेतनाको स्तरसँग जो पुरुष र परिवारसँग खण्डित हुनलाई नारी स्वतन्त्रता भनिरहेकी छे ! 

म दयाको आँखाले ऊतिर हेर्दछु, साँच्चि नै उसको अन्तर्रात्माभित्र कुण्ठित क्रोधको बाँध भत्किरहेको हुन्छ । बदलाको भावनाले उसको आँखाबाट ज्वालामुखीको लाभा बगिरहेको हुन्छ । मलाई अब पो यस्तो अनुभूत हुँदैछ कि म ता पुस्तौँपुस्तादेखि आफ्नै घरभित्र पनि वर्गीय शत्रु बाँचेर आएको रहेछु । परिवारभित्रै पनि मानिस सानो र ठूलो, उँचो र नीच सम्पत्तिको स्रोतको कारणले पो हुँदो रहेछ । 

'हेर, आज म तँ समान छु । यहाँ मेरो पनि नोकरी छ, तेरो समान आयस्रोत छ ।” ऊ मेरो विरुद्धमा आफ्नो मुखमा धार लगाएको छुरी लिएर बसेकी छे । 

जारकी स्वास्नी निक्कै लामो मेरो विरुद्धमा प्रतिशोधको आगो ओकल्दछे । उसको नयाँ लोग्ने यस मानसिकताबाट धेरै अघि नै मुक्ति पाइसकेकाले हाम्रो भाषा बुझ्न उसलाई गाह्रो पर्दछ, तापनि हाम्रो वाकयुद्ध रमाइलो लागिरहेको हुनसक्दछ । 

 हाय, छुसी बारुला ! कसले बनायो उसलाई यति लघुमानव ? ऊ त्यही उचाइबाट बोलिरहेकी हुन्छे । हाम्रो संस्कृति, धर्म र दर्शनले कति माथिल्लो उचाइमा बोल्यो— पति–पत्नी प्रारब्धमा सात जन्मका निम्ति नियोजित छ । तर दाम्पत्य जीवनको कार्य व्यवहारमा कसले विष घोलिदियो कि त्यसले पतिलाई मालिक र पत्नीलाई उसको दासी बनाइ दियो । 
'तेरा गृहस्थी धान्ने म र सारा घर, जमिन र श्रीसम्पत्तिका मालिक तँ ? तेरो वंशानुक्रम दिने म र सारा सन्ततिका मालिक तँ ?' साँढेको हान्ने सिङझैँ जारकी स्वास्नीको तिखो आँखाको घोच्ने वाक्यले उताबाट मलाई ताकिरहेको हुन्छ । 

मलाई थाहा छैन, घरभित्रको मूल चुलोकै जराबाट कसरी यो विषवृक्ष उम्रियो ? त्यसले विषको फल दियो र घरलाई विषमय बनायो । 

'अहँ, म बुझ्दिनँ उसको भाषा । सबभन्दा त म यहाँ आएर आफूले आफैलाई नबुझ्ने भएको छु ।' 

तिनै पत्नीको निम्ति पति धर्म निभाउँदै सारा उमेर पराय भूमिमा बन्धक बनाएर उसलाई सम्पूर्ण वैभव र विलासी जीवन दिएँ । तर ती सारा श्रीसम्पत्ति, महल र नोकर चाकरका मालिक ऊ भइनन् । जन्म दिने आमाको मातृत्वलाई पाखा लगाएर उसलाई घर भित्रायाए, त्यो घर उसको भएन । मानिसको मानस नै सर्वथा खराब तत्व  रहेछ कि वैगुनीका लागि गुण महाशत्रु बन्दो रहेछ । 

खेद छ मलाई कि कसले यो लघुबुद्धि भएको पुड्का मानवलाई विषविचार घोलिएको शिक्षाद्वारा शिक्षित र दीक्षित तुल्यायो ? मानिस मालिक र दास सम्पत्तिको स्रोतले होइन ऊभित्र आर्जित खराब मानसका कारणले हुन्छ । सम्पत्ति त्यसको कारक होइन । 

त्यसैले सृष्टिमा मानव सर्वोत्कृष्ट र सर्वनिकृष्ट र सम्मानित र घृणित दुवै प्राणी हो । 
'हौ, मानिसलाई ता आफ्नो अतीत र औकातको स्मरण हुनुपर्दछ है !' मेरो चेतनाले त त्यसै भन्छ । 

तर त्यो कुइरेकी स्वास्नी मेरा शब्दको अर्थ समात्न सक्दिन र रेलेखोलाको पाहाझैँ रातो पासपोर्टलाई मेरो अगाडिको कफी टेबलमा पछार्दै आफ्नो विवेकको कदमा बोल्दछे 'ओइ, यहाँ हेर् ... यो रातो पासपोर्ट तेरो बाउको छाला हो !'

म नराम्ररी झस्किन्छु, साँच्चि नै यस्तो समय पनि आइपुगेको रहेछ, मनिस सानो र ठूलो सम्पत्तिका कारणले मात्रै नभएर उच्च र नीच पनि हरियो र रातो पासपोर्टले हुँदोरहेछ । 

कुनै दिन नेपालको खोटाङ जिल्लाको एक दुर्गम र अनकन्टार गाउँमा जन्मिएर हुर्किएकी एउटी छुसी बारुलालाई बेलायती नागरिक बनाउने रातो पासपोर्ट, जो भर्खरै मेरो अगाडि कफी टेबलमा पछाराई खाएर पल्टिरहेको छ । त्यसलाई हेरेर म अतीततिर फर्किन्छु । 

कुनै दिन पहाडको कुपोषणग्रस्त शरीरलाई जुम्राका दरसन्तानले थोरै बाँकी राखेको एउटा नारी अस्थिपन्जर । अहिले अधिक पोषणका कारणले शरीरको आयतन बढाएको छ, जसलाई बेलायतले आफ्नो नयाँ नागरिक बनाएको छ । 

अब ऊ आफ्नो अतीत सम्झिन चाहँदैन । प्रत्येक दिनको नयाँ सूर्य धर्तीमा ओर्लिन अगावै नाङ्गा खुट्टाले शीत टेक्दै पँधेरामा पुगेको ज्यान उसको होइन अब । गाईबस्तुलाई घाँस काट्दा कचियाले काटेका औँलाहरू उसका हातमा छैनन् र बाँझो बारी खन्दा कोदालाको बिँडले उठाएका ठेउलाहरू पनि उसका हल्केलामा छैनन् अब । मातृभूमिको ढुङ्गा–माटो टेकेर ध्वजा फाटेका हर्नाथ उसका कुर्कुच्चाका होइनन् अब । चुलोको मोसो र अगेनाको खरानीले सिँगारिएको सौन्दर्य उसको होइन अब । यति दुःख सास्ती खेपेर पनि भरपेट खान नपाएको शरीर उसको होइन अब । 

म आफैलाई पनि ढाँट्न चाहन्छु, सारा जीवनका दुःखहरूलाई आधाआधा बाँडेर त्यो दुर्गम गाउँको माटो टेक्दै सँगसँगै उकाली ओराली हिँडेको हामीले होइन, अरू नै कसैले हो । सँगसँगै वनपाखा डुलेको, दाउरा घाँस गरेको, खेताला पर्म, चाडपर्व र मेला भरेको हामीले होइन, अरू नै कसैले हो । 

अब मरेको सर्पझैँ चिप्लो र कालो सडकमा रातो टोयोटा कारमा चिप्लिने शरीर मात्रै उसको हो । पाश्चात्य सभ्यताले थिचिएर पब, डिस्को र बार धाउने उसको जीवनशैली हो । बासी भात र सुख्खा रोटी टोक्दै काममा रगटिन पर्ने उसको जीवन दैनिकी हो । आस्डा, टेष्को, होमबार्गेन, अल्डी, लिडल र मोरिसनको अन्तर्राष्ट्रिय स्तरको पौष्टिक आहाराको भोजनले शरीरको आयतन बढाएको जीवन उसको हो । 

मलाई प्रस्टै स्मरण छ, मैले तेस्रो महाविश्वयुद्ध विजय गरेको दिन अर्थात् लगभग बीस वर्ष गोर्खा भूतपूर्व सैनिक सङ्घले समान अधिकारका निम्ति गरेको सङ्घर्षको सफलताले बेलायतमा आवासीय भिसाको अधिकार प्राप्त भएको दिन । त्यसपछि त्यही पत्नीको सुख शयलका निम्ति घर जग्गा र ऋणपान गरेर आफ्नै नाममा आश्रित भिसा लगाएर बेलायत ल्याएको दिन । तर बेलायत आगमनको पाँच वर्ष बित्दा नबित्दै उसका सारा अतीतका स्मृतिहरू रातो पासपोर्टमा ओझेल परेका छन् । 

'हौ, मेरो खाली दिमागले त यसै भन्छ है ! मानिस चाहे जुन ठाउँमा पुगोस्, तर उसको मानस आफ्नै ठाउँ, समाज, संस्कार र अतीतले दिएको हुन्छ ।'

'अतीत सम्झनका लागि हैन... यो ठाउँ आफूलाई पनि बिर्सिने हो ।'

क्रोधले आँखाका कोश विस्फारित हुँदा उसका आँखाहरू ह्वात्तै भुइँमा खस्ला कि जस्तो देखिन्छ । लाग्दछ, नारीसौन्दर्र्यिभत्र छिपेको उसको कुरूपता प्रथमपटक म जारकी स्वास्नीको अनुहारमा हेरिरहेको छु । 

'कसले बनायो हँ, उसलाई दिमागको दुश्मन ? मानिससँग अतीत सिवाय केही हुँदैन । आज र भोलि त पशुसँग पनि हुन्छ ।' यो बेलायत पनि आफ्नो अतीत बिर्सिएर यहाँसम्म आइपुगेको होइन । 

तर म बोल्दिनँ, मानिस आफ्नै जीवनमा पशुको जुनी पनि बाँच्दो रहेछ । जारकी स्वास्नी यहाँ आएर पशु भइन् कि म मान्छे रहिन् ? म छुट्याउनै नसक्ने हुन्छु । 

 म के देख्दछु भने, हिउँद नाघेको छेपारोको जस्तो उसको रङ्ग फेरिएको छ । अब ऊ नयाँ देशकी नयाँ नागरिक हो । यो नयाँ मान्छे उसको नयाँ पति पनि हो । अब ऊ बेलायतकी नयाँ नारी बन्न अथक प्रयत्नमा हुन्छे । बेलायती मधौरो घामसँग पनि जोगिनुपर्दछ उसले । आफ्नो छालालाई श्वेत वर्णमा रूपान्तरित गर्न क्रिम र पाउडरको बाक्लो तहभित्र छोपिन्छे । कपाल ब्यूटीपार्लर पुगेर सुनकेशरी रङ्गले रङ्गाउँछे । भाषाका लवज बदलिएका छन् । जीवनशैली भिन्न भएको छ । 

मलाई थाहा छैन, यो भिन्नता कहाँबाट आयो ? यो परिवर्तन कसले ल्यायो ? हिजो उसलाई आफ्नै आङको जुम्राले खायो । आज उसलाई यो समयले खायो । म धेरै कुरा नबुझ्दो रहेछु र धेरै कुरा बुझ्नुको पनि अर्थ नहुँदो रहेछ । मेरो आफ्नो दाम्पत्य जीवन जोड्ने अथक प्रयत्न असफल भएपछि महिनामा १७ वटा महसुल भुक्तान गरेर बनाएको आफ्नो घरमा म निषेध छु । आफ्नो घरमा र आफ्नै ओछ्यानमा परपुरुषसँग सम्बन्ध राख्ने स्वास्नीसँग आफू उसको लोग्ने हुनको हकदाबी गर्दा कानुनको परिभाषामा गृह आतङ्क र घरेलु हिंसा गर्ने म एक अपराधी भएको छु । आफ्नै घरमा म अभियुक्त भएको छु । 

त्यस दिन पुलिस घरमा आयो र मलाई अत्यन्त मिजासिलो शब्दको अन्तर्यमा कडा चेतावनी भाषामा मीठो गरिकन बोल्यो । 
'के तपाईंलाई बेलायतको कानुन थाहा छ ? त्यसको अवज्ञा गर्नु गैरकानुनी हुन्छ । तपाईं यहाँ रहेपछि यहाँको कानुनको सम्मान गर्नुपर्छ ।' उसले मीठो शब्दमा कडा चेतावनीको भाषा बोल्यो । 

'मैले कुन कानुनको अवज्ञा गरेर गैरकानुनी काम गरेँ ?' मैले पनि प्रतिप्रश्न गरेँ । 

'तपाईंले तपाईंकी श्रीमतीमाथि आतङ्क मच्याउनुभयो, त्यो घरेलु हिंसा हो, त्यो गैर कानुनी हो ।' पुलिसले मलाई गिरफ्तार गर्नुपर्ने कारण दृढताका साथ स्पष्ट पा¥यो । 

मैले पनि नरम भाषामा बोलेँ, 'म मान्न र सम्मान गर्न तयार छु । तर तपाईंले मेरो पनि प्रश्नको जवाफ दिनुपर्छ ।'

'म तयार छु ।' पुलिस आफ्नो अधिकारको बारेमा स्पष्ट थियो । 

'यो देशको कानुनले अर्कै देशबाट आएको मान्छे वा समाजको संस्कार र संस्कृतिको सम्मान गर्छ कि गर्दैन ?' मैले पनि घुमाउरो तरिकाले प्रतिवाद गरेँ । 
'गर्छ, संस्कार र संस्कृति त्यो जातिको आत्मसम्मान र गर्वको विषय हुन्छ ।' पुलिस अलिक हच्किएर मलाई तलदेखि माथिसम्म हेर्दै बोल्यो । सायद, उसको मानस कुनै सन्त्रासले हच्कियो ।

'मेरो पारिवारिक संस्कारमा परपुरुष र परस्त्रीसँगको शारीरिक सम्बन्धलाई परिवार विचलन, सांस्कृतिक अपमान र व्यक्तिको स्वभिमान माथिको आक्रमण मानिन्छ । यसलाई यो देशको कानुनले कसरी सम्बोधन र सम्मान गर्छ ?' मैले पनि उसलाई घुमाउरो तरिकाले समातेँ । 

'ओहो, यो त नयाँ घटना र नौलो विषयको उठान भएको छ ।' पुलिस केहीबेर घोरियो र तुरुन्तै चलाखीपूर्ण उत्तर दियो । 

'तर तपाईंले आफ्नी श्रीमती र उनको दोस्तीमाथि भौतिक आक्रमण गर्नु गैरकानुनी हो ।' अन्तमा मलाई पुलिसले आतङ्क र भौतिक आक्रमणको अपराधमा गिरफ्तार गर्‍यो । 

त्यसपछि अदालतको फैसलाबाट आफ्नी श्रीमतीको वैयक्तिक स्वतन्त्रताको हनन गर्ने एक घरेलु हिंस्रक पुरुषका रूपमा म परिभाषित भएको छु । त्यसका कारण अदालतको फैसलाबाट दण्डित म पूर्वीय सांस्कृतिक मान्यताका पारिवारिक अखण्डताबाट खण्डित हुन पुगेको छु । परिवार निकाला दण्डको भोक्ता म जधन्य अपराधी घोषित आफ्नै घरभित्र प्रवेश निषेधित छु । 

यी सारा दिनहरूका प्रत्यक्ष साक्षी र भोक्ता भएर पनि म नबुझिने हुन्छु । मेरो घरभित्र मेरै अगाडि बसेर मैले किनेको टीभीले पनि मरो उपहास उडाइरहेको हुन्छ । हरेक महिना ३५ पाउन्ड महसुल तिरेर प्रयोग गरिने ब्रोडब्यान्ड र कम्प्यूटरले पनि मलाई नै गिज्याइरहेको हुन्छ । झ्यालको डीलमा राखिएका फूलका गमलाले मलाई चुनौती दिइरहेका हुन्छन् । त्यो टेलिफोन र कम्प्युटरका आँखामा म दयाको पात्र भएको छु । तिनलाई म बदल्न चाहन्छु । तिनका एकएक परिभाषा र अनुहार बदल्न चाहन्छु । बदल्न चाहन्छु म स्वयम्लाई पनि । 

तर त्यहाँ मसँग त्यो समय बाँकी रहँदैन । 

बाहिर लेकफिल्ड स्ट्रिटमा आपतकालीन साइरन बजाउँदै पुलिसको गाडी आएर रोकिन्छ । सम्भवतः पुलिसले गाडीको ढोका खोलेको, बन्द गरेको र सडकमाथि निर्ममताका साथ बुट बज्रेको क्रमबद्ध आवाजसँगसगै लेकफिल्ड स्ट्रिटको १६ नम्बर ढोका ढकढकिन आइपुग्दछ । म सम्भावित अप्रिय घटनाको सामना गर्न पूर्वतयारीका साथ ढोकामा पुग्दछु । ढोका अगाडि दुई रवाफिला बर्दिधारी पुलिस मलाई गिरफ्तार गर्न उभिरहेका हुन्छन् । 

ती बर्दीधारी पुलिसद्वारा मेरो हातमा हत्कडी लाइएपछि म मेरी सासू र उनले दिएको बचनलाई सम्झिन्छु । हाम्रो बिहेको दिन सासूले हर्षको आँसु झार्दै आशीर्वाद दिएर भनेकी थिइन, 'ज्वाइँ, आजको दिनबाट मेरो मुटुको टुक्रा तिमीलाई सुम्पिँदैछु... यसलाई पाले पुण्य र मारे पाप लाग्ने छ... ।'

'हे भगवान् ! आमा दुइटा हुन्छन्, जन्म दिने र कर्म दिने । मलाई कर्म दिने आमालाई अब म के उत्तर दिउँ ?'

 म के देख्दछु भने– बाहिर मलाई गिरफ्तार गरेर गाडीमा कोच्न तयारी पुलिसको भ्यान गाडीको आपतकालीन साङ्केतिक नीलो बत्तीको झल्झलाकार प्रकाशले सम्पूर्ण लेकफिल्ड स्ट्रिट र सडक पारिपारिका घर र घरका भित्ता र झ्यालका सिसाहरू झिलिमिली पार्दै चेतनाशून्य आँखाले मलाई हेरिरहेको हुन्छ... ।