डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल सकिनै लाग्दा रक्षा खर्चबारेको 'भिटो' संसद्ले उल्ट्यायो !?

डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल सकिनै लाग्दा रक्षा खर्चबारेको 'भिटो' संसद्ले उल्ट्यायो !?

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष १९, २०७७

२० जनवरीमा डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल सकिँदैछ । ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनसँग पराजित भएपछि ट्रम्प एक कार्यकाल बिताएर बिदा हुन लागेका हुन् । ट्रम्प राष्ट्रपतिबाट बिदा हुनै लाग्दा अमेरिकी संसद्ले रक्षा खर्चसम्बन्धी उनले प्रयोग गरेको विशेषाधिकार अर्थात् भिटोलाई उल्टाइदिएको छ ।

ट्रम्पको कार्यकालमा उनले प्रयोग गरेको भिटो उल्ट्याएको यो पहिलो पटक हो । ट्रम्प नयाँ वर्षको बिदा मनाउन गएका बेला रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा सो कदमका विषयमा छलफल गर्न सत्र सञ्चालन गरेको थियो । 

सिनेटमा ८१ जना ट्रम्पको भिटोविरुद्ध उभिएका थिए भने १३ जनाले मात्रै ट्रम्पको समर्थन गरेका थिए । उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको नेशनल डिफेन्स अथोराइजेसन एक्ट एनडीएए पारित गरेका छन् । यसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको थियो । सिनेटले पनि यसको पक्षमा मतदान गरेपछि ट्रम्पको भिटो असफल भएको छ । 

चार वर्ष ह्वाइट हाउसमा रहँदा चालेका कतिपय ट्रम्पका निर्णय विवादित मात्रै बनेनन्, अमेरिकी राजनीतिमा ठूलो विभाजनको अवस्था पनि ल्याइदियो । अमेरिकी संसद्को दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ ।

नयाँ परित ७४० अर्ब डलरको विधेयकले आगामी वर्षको रक्षा नीतिका लागि खर्च जुटाउनेछ ।

अमेरिकाले आफ्नो ध्यान एसिया प्रशान्त क्षेत्रमा केन्द्रित गरेको समयमा रक्षा खर्चसम्बन्धी नीति निकै महत्वपूर्ण हुनेछ । ट्रम्पले भने विधेयकका केही व्यवस्थाबारे प्रश्न उठाउँदै आएका थिए । तर उनको भिटो अमेरिकी संसदमा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि उल्टाइएको हो । राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा अघिदेखि नै ट्रम्पले अमेरिकी सेना विभिन्न देशबाट फिर्ता गर्नुपर्र्ने नीति लिँदै आएका छन् । अफगानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई सीमित पार्ने विषयमा ट्रम्पको असन्तुष्टि थियो । 

सत्र सुरु हुनुअघि नै सिनेटका रिपब्लिकन नेता मिच मक्कोनेलले विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले ५९ वर्षदेखि लगातार यो विधयेक पारित गर्दै आएका छौं । आइतवार संसद् सकिनुअघि हामीले एक वा अर्को रूपबाट यसलाई पारित गर्छौँ ।’

राष्ट्रपति ट्रम्पले सो विधेयकले सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी स्पष्ट गर्ने व्यवस्थालाई समेत हटाउन चाहन्थे ।

मतदानपछि ट्रम्पले ट्वीटमार्फत् भनेका छन्, ‘हाम्रो रिपब्लिकन सिनेटले सेक्सन २३० बाट मुक्ति पाउने अवसर गुमाएको छ । जसले ठूला प्रविधि कम्पनीलाई असीमित अधिकार दिएको छ । दयनीय !’ 

संसद्ले पारित गरेको विधेयक कानुन बन्नका लागि राष्ट्रपतिको हस्ताक्षर आवश्यक पर्छ । तर कहिलेकाहीँ आफ्ना नीतिगत असन्तुष्टिका कारण राष्ट्रपतिले त्यसमाथि भिटो प्रयोग वा अस्वीकार गर्न सक्छन् । त्यसलाई दुवै सदनबाट दुईतिहाइ मतले पारित गरेर संसद्ले त्यस्तो भिटोलाई उल्टाउन सक्छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा आठवटा विधेयकमा भिटो प्रयोग गरेका थिए । र ती सबैमा रिपब्लिकन सांसद्हरूको साथ पाएका थिए । झण्डै एक वर्ष समय खर्चिएर तयार पारिएको ४ हजार ५ सय पृष्ठको सो विधेयकलाई ट्रम्पले ‘चीन र रुसबाट आएको उपहार’ बताएका छन् । 

पर्खाल परियोजनापनि उल्टिएको थियो

राष्ट्रपति ट्रम्पको योजना उल्टाएको यो पहिलो पटक भने होइन । यसअघि सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउन रकम जुटाउन राष्ट्रपति ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल पनि उल्ट्याउने पक्षमा मतदान गरेको थियो । 

केही रिपब्लिकन सिनेट सदस्यहरूले विद्रोह गर्दै उनको योजनाको विपक्षमा मतदान गरेका थिए । १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले आफ्नो पार्टीको निर्देशन विपरीत राष्ट्रपतिको आदेशको विपक्षमा मतदान गरिदिएपछि ट्रम्पको योजना त्यसबेला असफल भएको थियो । 

त्यसबेला ट्रम्पले भिटो प्रयोग गर्ने धम्की दिएका थिए । यसपटक उनको भिटोलाई नै सिनेटमा आफ्नै पार्टीको बहुमत हुँदाहुँदै पनि उल्टाइदिएको हो । शक्तिशाली अमेरिकी राष्ट्रपतिको कदमलाई संसदले बिरलै मात्रामा उल्टाउने गर्छ । त्यसमध्ये यो ट्रम्पका लागि गतिलो जवाफ हो । यद्यपि अमेरिकी सेना फिर्ता गर्ने उनको नीतिमा एउटा धक्का पनि मानिएको छ । बाइडेन प्रशासनले अब कस्तो रक्षा नीति ल्याउँछ भन्ने थाहा पाउन भने केही समय कुर्नुपर्नेछ ।