गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा भुजेल समुदायलाई न्यानो कपडा

गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घद्वारा भुजेल समुदायलाई न्यानो कपडा

लोकसंवाद संवाददाता  |  समाज  |  पुष १९, २०७७

तनहुँ । गण्डकी प्रदेश प्रहरी श्रीमती सङ्घले तनहुँको देवघाट गाउँपालिका–१ बसेनीटारका विपन्न भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । प्रहरी श्रीमती सङ्घले उक्त ठाउँका ११० घर भुजेल समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो । सङ्घका अध्यक्ष सरस्वती अर्याल, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले भुजेल परिवारलाई उक्त सामग्री वितरण गर्नुभएको थियो । 

सङ्घले ती परिवारलाई चामल, दाल चिउरा र कम्बल वितरण गरेको अर्यालले जानकारी दिनुभयो । उहाँले निम्न आय भएका नागरिकलाई सहयोग गर्ने सङ्घको उद्देश्य रहेको बताउनुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष थापाले देवघाट गाउँपालिकाका नागरिकलाई सहयोग उपलब्ध गराएकामा सङ्घप्रति आभार व्यक्त गर्दै अन्य क्षेत्रमा पनि थप सहयोगको अपेक्षा गर्नुभयो । सो अवसरमा प्रहरी परिवार श्रीमती सङ्घका पदाधिकारीलाई बसेनीटारका भुजेल समुदायले बुनेको परम्परागत नाङ्लो र ढकिया मायाको चिनोस्वरुप प्रदान गरेको थियो ।