राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ –गृहमन्त्री

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ –गृहमन्त्री

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष १९, २०७७

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताउनुभयो । 

मन्त्री थापाले भन्नुभयो,'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।' सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो । 
    
'आगामी  वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ । ' ज्ञापन पत्रमा भनिएको छ ।सङ्घले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।