केपी ओली ज्यु, समर्थनको योग्य नभए पनि कम्तीमा आलोचनाको लागि काबिल बनिदिनुस्
पुष २१, २०७७

केपी ओली ज्यु, 

आज तपाईँलाई मुलुकको प्रधानमन्त्री भएर पनि प्रधानमन्त्रीज्यू भनेर सम्बोधन गर्न मनले मानिरहेकाे छैन्  ।  किनकि तपाईँले आफूलाई देशको प्रधानमन्त्रीको दर्जाबाट धेरै तल खसाली सक्नु भएकाे छ । प्रधानमन्त्री भनेको देशको सर्वोच्च कार्यकारी निकायको प्रमुख हो र आफ्नो समर्थकको मात्र नभएर आलोचकको पनि प्रधानमन्त्री हो भन्ने कुरा समेत मगजमा भित्राउन सायद अब सक्षम हुनुहुन्न होला भन्ने मेरो ठम्याई  रहेको छ ।  कार्यकारी निकायको प्रमुखको हैसियतले प्रधानमन्त्री सबैको अभिभावक पनि हो । एक अभिभावकलाई गुण र दोषको आधारमा एउटा घर भित्र त फरक फरक व्यवहार गरिन्छ भने सिङ्गो मुलुककै अभिभावक हुँदा पृथक् आकाङ्क्षा र मनोभावना बोक्नेहरूले विविध व्यवहार र अपेक्षा हुनलाई  प्राकृतिक नै  मानिन्छ । 

 मानवको स्वभाव अनुसार कुनै पनि व्यक्ति सर्वसम्मत हुन सक्दैन, त्यसैले त हामीले लोकतन्त्र अपनायौँ या कि अधिक मन मिल्नेहरूले एउटा अभिभावक छानोस् जसले मुलुकलाई एउटा घर सम्झेर सबैलाई माया गरोस् , समान व्यवहार र आदर सत्कार गरोस्, आलोचना सुनोस् र आफूलाई परिमार्जन गरोस् भन्ने अपेक्षा राख्यौँ ।  अभिभावकले आफूलाई अन्य सहकर्मीले गर्ने व्यवहार अनुसार 'जस्तालाई तस्तै' व्यवहार गर्ने हो भने एउटा परिवार त विखण्डन हुन्छ भने विशाल जनसमुदाय र विविध बिचार तथा मौलिकता बिचमा हुर्किएको समाज बाँडिनु कुनै आश्चर्यको विषय होइन, तर परिवारमै अभिभावकत्व नबोकेको तपाईँले यसको महत्त्व बुझ्ने अपेक्षा पनि गरिएको छैन । 

तपाईँले हालैका दिनहरूमा आफ्ना सहकर्मी राजनितिज्ञहरुलाई अपहेलित गर्ने, निन्दनीय शब्दहरुद्धारा मान मर्दन गर्ने, सहिदको दर्जा दिएर जीवित नेताहरूलाई श्रद्धाञ्जली दिने, टुँडिखेलको चटकेले रमितेहरूलाई भुलाउन गर्ने खालको व्यवहार गर्ने, अदालतमा विचाराधीन मुद्दाको फैसला सुनाई दिने, निर्वाचन आयोगमा रहेका आयुक्तहरूलाई  आफ्ना भान्साकाे मान्छे जस्ताे  व्यवहार गर्ने, प्रत्येक मुख खोलाईमा झुट सिवाय केही नबोल्ने, आफूसँग असहमत नेताहरूको जुँगादेखि स्वरसम्मको टिप्पणी गर्ने, यहाँसम्म की क्याम्पसकै मुख नदेखेको तपाईँले  आफुभन्द जेठा र वरिष्ठ सहकर्मीलाई क्याम्पस भर्ना गरिदिएको सम्मको होच्याउने टिप्पणी गर्ने, शाब्दिक क्यारिकेचर गर्ने, आफू प्रधानमन्त्री र आफ्नो अधिक पृय व्यक्तिलाई राष्ट्रपति बनाउँदा तपाईँले नै संसारकै क्रान्तिकारीको अलङ्कार भिराइएका सहकर्मी नेताहरूलाई खिया लागेको नटबोल्टु र भेट्नु कुहिएको  फलको विशेषण भिराउने जस्ता घटिया र निकृष्ट व्यवहार गर्न पुग्नु भयो ।

 यस्तो अवस्थामा तपाईँलाई प्रधानमन्त्री भनी सम्बोधन गर्दा प्रधानमन्त्री पदकै ओहदा पाताल पुग्ने खतरा महसुस भएको छ । कार्यकारी अधिकार सहितको प्रधानमन्त्रीबाट काम चलाऊ तर निरङ्कुशता उन्मुख प्रधानमन्त्रीमा रूपान्तरण भएपछि यहाँको प्रवृत्तिले केवल इर्स्या, द्वेष, बदला र एकतन्त्रीय सामाजिक परिपाटिको विकास गर्ने तर्फ पाइला अगाडि बढाएको स्पष्ट हुन्छ । तपाईँ आफ्नो चुट्किला र प्रेम चरो शैलीको प्रहसन सुनेर हल्ला गर्ने जमातको मात्र नेता हुने हो कि भन्ने चिन्ता हो ! यद्यपि हामी तपाईँको कार्यशैलीको कटु आलोचकले तपाईँको चिन्ता गर्नुको अर्थ त खासै नरहला । तर समग्रमा तपाईँ सबैको प्रधानमन्त्री हुन सक्नु भएन, यो वर्तमान नेपालको सर्वसम्मत मत हो । 

केपी ओली ज्यु,

तपाईँको 'बा' ले राखी दिएको नामको अगाडी कमरेड सम्बोधन गर्ने मन थियो, जुन मैले विगतमा गर्ने गरेको थिएँ । अब तपाईँ कमरेड शब्दको लागी पनि काबिल रहनु भएन । कमरेडको शाब्दिक अर्थ के हो भन्ने बारेमा म धेरै व्याख्या गर्न नसकुँला, तर मैले बुझेसम्म कमरेड भन्नाले नेपालीमा साथी भन्ने शब्दको क्रान्तिकारिता हो । यस्तो साथी की जसले संसार परिवर्तनमा सहकार्य गर्छ, वर्गीय आन्दोलनमा सहकार्य गर्छ, सङ्घर्षको मैदानमा प्राण छोड्छ तर साथ छाड्दैन । जीवनमा परिवार, श्रीमती, सन्तानबाट टाढा हुन्छ तर सहयोद्धाको सधैँ साथमा रहन्छ, यसरी जसले सबैलाई कमरेड अर्थात् साथित्वको व्यवहार गर्दछ, त्यो हो कमरेड ! यद्यपि तपाईँले सुरु गर्नु भएको कम्युनिस्ट पार्टीको कथित लोकतान्त्रीकरणको नारासँगै र बहुपदीय प्रणाली तथा 'क्याडरबेसबाट मास बेस' पार्टीमा रूपान्तरण हुँदै गएपछि नेपाली कम्युनिस्ट पार्टीमा यो शब्द केवल उच्चारणमा मात्र सीमित रहदै अएको छ  अर्थात्  यसले कमरेडी भावना बोक्न  सकेन । 

केपी ओली ज्यु अहिले तपाईँले भोग गरिरहनु भएको विरासत तिनै सहिदहरू, घाइतेहरू, विस्थापितहरू, खाई नखाई शान्तिपूर्ण सङ्घर्ष गर्ने कार्यकर्ता तथा जनताहरू र तिनलाई नेतृत्व गर्ने नेताहरूको सङ्घर्षको परिणाम हो । तपाईँका लागी यी सुन्दर आलिसान दिनहरू ल्याइदिने तिनीहरू प्रति नतमस्तक हुन सकेको भए तपाईँको कल्याण हुने थियो कि ? तपाईँ असल राजनीतिज्ञ त रहन सक्नु भएन नै, तर समर्थनको हकदार नरहे पनि बिरोधको  काबिल त रहनुहोस् ।

तपाईँ प्रधानमन्त्री भए पश्चात् तपाईँले आफ्नो विरोधीहरुलाई गर्ने व्यवहार अति असहिष्णु, पूर्वाग्रही, अपमानबोधक, एकाङ्की, कपटपूर्ण, छुद्रतापूर्ण रही आएको छ भने तपाईँलाई देवत्व करण मन पर्छ, जुन कमरेड भावना विपरीत छ । समानतामा आधारित कमरेड भावना तपाईँलाई सुहाउने कुरै भएन, किनकि तपाईँ आफूलाई अरु भन्दा माथि महसुस गर्नुहुन्छ । आफ्नो सक्कली 'बा' को औषधी उपचार र खानपानमा ध्यान समेत नदिने बज्रस्वांँठहरुले तपाईँलाई 'बा' भनिदिएको तपाईँलाई औधी मन पर्ने गर्छ । तपाईँलाई खोपाको देवता समान देवत्व करण गर्ने कार्यले तपाईँलाई प्रफुल्लित बनाउँछ ।

तसर्थ समानतामा आधारित क्रान्तिकारी र परिवर्तनकामी कमरेड शब्द तपाईँलाई सुहाउँदैन । प्रधानमन्त्रीको हैसियतले तपाईँले समग्र जनतालाई न सही, प्रतिपक्ष तथा विरोधीहरूलाई न सही, आफ्नो कार्यकर्ता तथा सहकर्मीहरूलाई समेत आलोचना गरेको र आफ्नो समर्थन नगरेको कारणले गिल्ला गर्ने, उडाउने, अपहेलित गर्ने र स्वस्थ आलोचना भन्दा पनि हेपाहा प्रवृत्ति प्रस्तुत गरी तथानाम गाली गर्ने कार्य गरी कमरेड भावनालाई सदाका लागी तिलाञ्जलि दिईसक्नु भएको छ ।  यसर्थ तपाईँलाई कमरेडको सम्बोधन अपरिहार्य छैन, तपाईँलाई कमरेड भनी सम्बोधन गर्दा कमरेड शब्दकै परिभाषा फेरिन सक्ने र यसको क्रान्तिकारिता र पवित्रतामा दाग लाग्न सक्ने भएकोले यसको प्रयोग तपाईँलाई उपयुक्त नहोला भन्ने मेरो निष्कर्ष हो । तसर्थ अब तपाईँका लागि केवल केपी ओलीको मात्र सम्बोधन बाँकी छन्, एउटा राजनितिग्यको रुपमा तपाईँलाई व्यवहारै गर्न नसकिने गरी त्यसबाट पनि तल झर्न पर्ने दिन नआओस् भन्ने कामना गर्दछु ।  

म जबदेखि राजनीति र समाजलाई द्वन्द्वात्मक ढङ्गले बुझ्न थालेँ तबदेखि तपाईँको कटु आलोचकको रुपमा आफूलाई प्रस्तुत गर्दै महाकाली सन्धिताका तपाईँले गरेको राष्ट्रघाती ताण्डव नृत्यको साक्षीको रुपमा युवा विद्यार्थी थिएँ । म धेरै पटक टनकपुर गएर रोएको छु । तपाईँको दक्षिणपन्थी आचारको विरोधीको रुपमा आफूलाई उभ्याउने एक सामान्य मार्क्सवादी कार्यकर्ताको रुपमा आफूलाई गर्भ महसुस गर्दछु । तपाईँलाई एउटा आफूभन्दा फरक धारको राजनीतिक नेताको हैसियतले सम्मान गर्ने कारणले नै तपाईँको राजनीतिक बिचार, आचार, कार्यशैलीको सदैव आलोचना गर्ने गरेको थिएँ ।

मलाई यसमा आत्मसन्तुष्टि मिल्नुका साथै तपाईँ सुध्रनु हुन्छ भन्ने भरोसा समेत लाग्ने गर्दछ । तपाईँको राष्ट्रघाती चरित्र सुध्रेको हेर्ने चाहनाकै कारणले तपाईँको आलोचना गरिएको हो । तपाई एउटा जीवित लासको रुपमा रूपान्तरण हुँदा आलोचना गरेर समय खेर फाल्ने इच्छा मेरो पनि हैन । तपाईँ एक राजनीतिज्ञ भएको आधारमा मात्र मैले आलोचना या विरोध गर्ने गरेको हुँ । तपाईँको टुक्का मन नपरेर आलोचना गरेको भए त म टुँडिखेलको चटकेको पनि आलोचना गर्थेँ होला । मन नपरेको नेता भएर आलोचना गर्ने भए लक्ष्मण खड्काको आलोचना गर्थेँ होला । पञ्चायत कालमा नैनीमाया दाहाल भन्ने पात्रको कसैले आलोचना गर्दैनथ्यो । यसको हेक्का मलाई भन्दा तपाईँलाई नै बढी हुनुपर्ने हो । तर आज मलाई डर लाग्दै छ, कहीँ तपाई म लगायत धेरैको आलोचनाको लागि योग्यता त गुमाउँदै हुनुहुन्न ?

जब देश एकता माग्दथ्यो, तपाईँले संसद्को विघटन गरिदिनु भयो । देशले दुई तिहाइको समृद्धि माग्दै थियो तपाईँले आफ्नै पार्टीको विभाजन दिनुभयो,  अन्तत: चौथाइको चोइटा लिएर भाग्नु भयो । पूर्ण र वैधानिक बैठकमा कहिले नआउने तपाईँ घोर अल्पमतको दास सभामा त पुग्नु भएकै देखियो । पार्टी बैठक र भेला सधैँ सार्ने र अनुपस्थित हुने तपाईँ आज दैनन्य दिन जसो दर्जनौँ बैठकमा उपस्थित भएकै देखिएको यथार्थ होइन र ? तपाईँले ४४१ लाई बहिस्कार गर्दै ११० लाई वैधानिकता प्रदान गर्न कौरबी कपट गर्दै हिँडेको समेत देखियो । हिजो सुरेन्द्र पाण्डे, भीम रावल र जनार्दन शर्मा ३ जनालाई मन्त्री बनाउँदा विवाद सुल्झने अवस्थालाई टारेर जनाधार नभएका र भगौडाहरुलाई ५ थान मन्त्री दिन उद्वेलित भएको देखियो । प्रचण्ड र माधवलाई सडकमा ल्याउने ध्याउन्नमा आफू सडकमा आएको पत्तै  पाइरहनु भएको छैन ।  बिरालोकै स्वरमा भए पनि हिजो आक्रामक देखिने तपाईँको हाउभाउ आज केवल संसद् विघटन गर्नुपरेको कारण र आधार दिँदैमा व्यस्त हुनुहुन्छ । आफू नहुँदा सर्वत्र ध्वंस निम्त्याउने तपाईको स्वभावले कसरी संवृद्ध नेपाल निर्माण हुन्छ, कसले पत्याउँछ तपाईँका कुरा ? तपाईँकै सहकर्मी तथा पछ्याहाहरुलाई एकान्तमा सोध्नुहोस् त ! तपाईँको समेत कुरा पत्याउँदैनन् तिनीहरू । प्रचण्ड-माधवहरू एक्लिएको हेर्ने तपाईँको इच्छामा तब तुसारापात लाग्नेछ, जब तपाईँको अर्थ, मुद्रा र राजपाट शक्ति सकिएको दिन तिनै पछुवाहरूले तपाईँलाई 'जुम्रा छोडाई' गर्ने छन्, त्यो यथार्थ हेर्ने दिन तपाईँकाे जीवनकालमा छिटै आउनेवाला छ । 

महादेवका वरिपरि घुम्ने नन्दी, भृङ्गीको आख्यान झैँ तपाईँका वरिपरि घुम्ने तपाईँले 'नजन्माएका छोराछोरीहरू'को तालिका 'करतल ध्वनि' नै तपाईँको राजनीतिक जीवन उजाड बनाउने औजार हुनेछन् । तपाईँले श्रद्धाञ्जली दिन आतुर हुनुभएको र तपाईँको सुधारिएको चरित्र हेर्न चाहने सहयात्रीहरू कालो पिचमा पलेटी कसेर बसेको यथार्थ तपाईँले नै वमन गरी सक्नु भयो । तर याद गर्नुहोस्, आज तपाईँले प्राप्त गर्नुभएको विरासत लाखौँ लाख नेपाल आमाका सन्तानहरूले त्यही कालो पिचको चिसोमा बसेर आर्जन गराएका  हुन् । कालो पिचमा पलेटी कसेर देखिने सपना कति सुन्दर हुन्छ भन्ने कुरा कहिले कालो पिचमा पलेटी कसेर नयाँ नेपालको सपना नदेखेको तपाईँलाई के थाहा  !  गणतन्त्रको आन्दोलनलाई गिल्ला गर्ने, समावेशी राज्य र सङ्घीयताको महत्व नबुझ्ने तपाईँलाई बर्तमान सत्ता 'बाघको छालामा स्यालको रजाइँ 'जस्तै भएकोमा दुई मत  छैन ।

अर्काले गरेको विद्रोहमा झुक्किएर त्यो पनि सुरक्षित रहन जेल पर्नु भएका तपाईँ सहयात्रीहरूले बाहिर बसेर ज्यानको बाजी राख्दै परिवर्तन गरेको समाजमा दूध र भात खान आई पुग्नु भयो । तपाईँकै जन्म दिने पिताजीको भनाई अनुसार 'साह्रै फन्टुस र आफूले भनेको कुरा जति जालझेल' गरेर भए पनि पुरा गर्नुपर्ने स्वभावका कारण चलखेल गर्दै पटक पटक सत्तामा पदासीन हुने तपाईँ कहिले सामाजिक आन्दोलनको अङ्ग हुनुभको थियाे र ? बताउन सक्नुहुन्छ । अहिलेको राज्य व्यवस्थामा सुन्दर पक्षहरू प्राप्त गर्नको लागी आहुति दिने हजारौँ शहीदहरू, घाइतेहरू, विस्थापितहरू, खाई नखाई शान्तिपूर्ण सङ्घर्ष गर्ने कार्यकर्ता तथा जनताहरू र तिनलाई सफल नेतृत्व गर्ने नेताहरूको बिचमा तपाईँ कतिखेर कहानेतर आफूलाई उभ्याउनु भयो भन्न सक्नुहुन्छ ?

तसर्थ केपी ओली ज्यु अहिले तपाईँले भोग गरिरहनु भएको विरासत तिनै सहिदहरू, घाइतेहरू, विस्थापितहरू, खाई नखाई शान्तिपूर्ण सङ्घर्ष गर्ने कार्यकर्ता तथा जनताहरू र तिनलाई नेतृत्व गर्ने नेताहरूको सङ्घर्षको परिणाम हो । तपाईँका लागी यी सुन्दर आलिसान दिनहरू ल्याइदिने तिनीहरू प्रति नतमस्तक हुन सकेको भए तपाईँको कल्याण हुने थियो कि ? तपाईँ असल राजनीतिज्ञ त रहन सक्नु भएन नै, तर समर्थनको हकदार नरहे पनि बिरोधको  काबिल त रहनुहोस् । कसैको विरोध र आलोचना योग्य पनि नरहने र समर्थनको हकदार पनि नरहने हो भने 'जिउँदो लास'को रुपमा तपाईँको जीवन निरर्थक रहनेछ, जीवनको उत्तरार्धमा तपाईँलाई यस्तो किसिमको श्राप दिन मेरो नैतिकताले  पनि दिँदैन । 

तपाईँको राजनीतिक टिप्पणी गर्ने अवस्थामा अब नेपाली समाज रहेन । प्रधानमन्त्रीको रुपमा बालुवाटारमा तपाईँले केवल 'पेटभरी भात र मिर्गौला बचाउने औषधी' खाएर बिताउनु भयो । कोरोनाका भाइरसबाट आक्रान्त नेपाली समाजलाई कसरी कोरोना मुक्त बनाउने, तपाईँले नै फलाक्दै आएको समृद्धि ल्याउन र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राज्य व्यवस्था स्थापना गर्नको लागी  के कस्तो दीर्घकालीन योजना बनाउने र सकल नेपाली जनता तथा राजनीतिक दललाई त्यसमा कसरी सहभागी बनाउने भन्ने योजनाको तपाईँबाट आउने परिकल्पना त गर्न सकिँदैन नै, तर विरोधी नै भए पनि आफ्नोप्रतिद्वन्द्वीहरुलाई सम्मान र सहिष्णुतापूर्वक व्यवहार मात्र गरेमा पनि अलिकति पदीय मर्यादा कायम रहने थियो कि ? छुद्र सल्लाहकारका सल्लाह भन्दा पनि शालीन विपक्षीहरूकै केही कुरा मानिदिँदा नै तपाईँको कुर्सी दीर्घकालीन हुन पुग्नुका साथै पार्टी एकताको जनआकाङ्क्षा पुरा हुने थियो कि ?  

तपाईँलाई आफू सत्ता बाहिर हुँदा तत्काल आर्यघाट नै गइहाल्न पर्ने हो कि भन्ने चिन्ताले सताएर हुन सक्छ, कहिले कुर्सी विहीन हुन चाहनु भएन । मर्यादालाई लात मार्न तयार हुनुभयो, संविधान र कानुनलाई संसाझैं ह्याकुलाले मिच्न तयार हुनु भयो, राष्ट्रपतिसँगको सुमधुर सम्बन्धको फाइदा उठाउँदै रात बेरात जुनसुकै असंवैधानिक 'कु' उन्मुख दस्ताबेजमा पनि हस्ताक्षर गर्न लगाउनु भयो, सहकर्मीहरूलाई वर्णन गर्नै नसकिने तुच्छ व्यवहार गर्न पछि पर्नु भएन ।  तपाईँका कार्यक्रममा गाईजात्रामा  टिकट काटेर हास्यब्यंग हेर्न जाने रमितेहरूको सङ्ख्या खचाखच हुन थालिसकेको र राजनीतिक कार्यकर्ताहरू बिस्तारै न्यून हुन थालिसकेको जस्ता अवस्थाहरू समेत तपाईँलाई ज्ञान हुन सकेको छैन ।

समग्रमा तपाईँ देश जल्दा बाँसुरी बजाई रहेको निरो भन्दा कम भइरहनु भएको छैन् ।  महाभारत युगमा जन्मेको भए सायद तपाईँले विरोधीहरूलाई 'लाक्षागृह' मा धेरै पहिले आगो लगाई सक्नुहुन्थ्यो होला भन्ने अनुमान गर्न सकिन्छ । जे होस्, तपाई संसारकै नमुना संसदीय तानासाहको रुपमा विश्व प्रख्यात हुने दिशामा अग्रसर हुनुहुन्छ । अब बेलायतको ओलीभर क्रमवेलको भन्दा अगाडी तपाईँको नाम संसदीय तानाशाको रुपमा लिइनेछ । त्यसैको शुभेच्छा दिने भन्दा अब बाँकी केही रहेन । तपाईँको विरोधमा समय खर्चिँदा समेत पश्चात्ताप गर्ने दिन नआउला भन्न सकिन्न, तसर्थ समय अझै छ, किम्बदन्ती हुनबाट जोगिनुहोस् । बिदा ! 


वसन्त बस्नेत अधिवक्ता हुनुहुन्छ ।