स्वास्थ्य क्षेत्रको अधिकार स्थानीय तहमा आएपछि आधारभूत स्वास्थ्यमा सकारात्मक प्रभाव

स्वास्थ्य क्षेत्रको अधिकार स्थानीय तहमा आएपछि आधारभूत स्वास्थ्यमा सकारात्मक प्रभाव

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष २१, २०७७

दाङ । स्वास्थ्य क्षेत्रको अधिकार स्थानीय तहमा आएपछि त्यसको सकारात्मक प्रभाव आधारभूत स्वास्थ्य सेवामा देखिन थालेको छ । 

देउखुरीको लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकास्थित स्वास्थ्य शाखाले पछिल्लो समय नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याएका छन् । योसँगै शाखाले आम नागरिकको विश्वास आर्जन गर्न थालेको छ ।

लमही नगरपालिकामा एक अस्पताल र दुई स्वास्थ्यचौकी छन् । स्थानीय सरकार बनेपछि ६ स्थानमा नगर स्वास्थ्य केन्द्र थपिएका छन् । थपिएका नगर स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सुविधा रहेको स्वास्थ्य शाखा संयोजक लोकराज पौडेलले जानकारी दिनुभयो । दुरदराजका गाउँमा नगर स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । आधारभूत स्वास्थ्य सेवामा ठूलो उपलब्धि हासिल भएको संयोजक पौडेलले बताउनुभयो । 

वडा तहमा खुलेका सामुदायिक स्वास्थ्य एकाइ, नगर स्वास्थ्य केन्द्र हुन वा आधारभूत स्वास्थ्य एकाइमार्फत ३५ देखि ९० प्रकारका औषधि निःशुल्क दिने गरिएको छ । दीर्घरोग सम्बन्धी मधुमेह, उच्च रक्तचाप, मानसिक रोगलगायतको औषधि थपेर निःशुल्क दिन थालिएको हो । उपचार सेवालाई प्रभावकारी बनाउन एमबिबिएस डाक्टरसहित वडा तहको स्वास्थ्य इकाइमा एक अनमी, एक अहेब र एक कार्यालय सहयोगी गरी तीन कर्मचारीको व्यवस्था गरिएको छ । 

राप्ती गाउँपालिकामा दुई स्वास्थ्यचौकी र पाँच आधारभूत स्वास्थ्य संस्था छन् । लालमटिया र सिसहनिया स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर नियुक्त गरेर उपचार दिन थालेको दुई वर्ष भयो । यो पालिकाले पहाडी बस्तीमा महिनाको दुई पटक घर–घरमा पुगेर स्वास्थ्यसेवा दिने गरेको स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनुभयो । 

आधारभूत स्वास्थ्य उपचारमा विपन्न नागरिकको पहुँच पु¥याउन पाँच स्थानमा आधारभूत स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ । जसमा मौरीघाट, देवीकोट र पत्थरगढवामा स्वास्थ्यसेवा थालिएको स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिनुभयो । 

राजपुर गाउँपालिकामा भएका दुई स्वास्थ्यचौकी र १० आधारभूत स्वास्थ्य इकाइ रहेको स्वास्थ्य शाखा संयोजक कमल रोकायले जानकारी दिनुभयो । 'आधारभूत स्वास्थ्य इकाइबाट पाइने सेवा सुविधा बढाएका छौं । ८० प्रकारका औषधि निःशुल्क दिने गरेका छौं', उहाँले भन्नुभयो, 'नाका क्षेत्रमा भौगालिक विकटताका कारणले स्वास्थ्यचौकी आउन सक्ने अवस्था नभएका कारण आधारभूत स्वास्थ्य इकाइमार्फत उपचार सेवा पुर्‍याउँदै आएको छ ।' 

यस अघि सामान्य उपचारका लागि भारत जानुपर्ने बाध्यता थियो । गढवा गाउँपालिकामा चार स्वास्थ्यचौकी र ६ आधारभूत स्वास्थ्य इकाई रहेका छन् । ३७ प्रकारका औषधि निःशुल्क वितरण गरिएको छ । सबैको स्वास्थ्यमा पहुँच पु¥याइएको स्वास्थ शाखा संयोजक कैलाश चौधरीले जानकारी दिनुभयो ।

 दुई वर्षदेखि एमबिबिएस डाक्टरको दरबन्दी सिर्जना गरेर सेवा प्रभावकारी बनाएको छ । स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई स्वास्थ्यसेवा पुगेको चौधरीले बताउनुभयो ।