नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको निधन

नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको निधन

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २१, २०७७

रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी ४२ वर्षीय दमै थोक्रा छन् ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, पासाङल्हामु मार्गको धुञ्चेदेखि केबु हुँदै त्रिशूली नदी किनारको मैलुङ राजमार्ग जोड्ने नयाँ सडकको नाली निर्माण गर्ने क्रममा थोक्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पन्ध्र–२० मजदूरले काम गरिरहेका अवस्थामा माथिबाट डोजरले पल्टाएको ढुङ्गा गुडेर तल पुग्दा थोक्राको टाउकोे थिचिई घटनास्थलमै मृत्यु भएको बताइन्छ । अन्य कामदार भागेर बच्न सफल भएको अर्का कामदार बुद्धिबहादुर तामाङले जानकारी दिनुभयो ।

ढुङ्गा पल्टाउने डोजर चालक सिन्धुपाल्चोक, जुगल –९ का २७ वर्षीय रवीन तामाङलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको छ । पुख्र्यौली थलोबाट मजदूरीका लागि १५ दिन अगाडि परिवारसहित धुञ्चेमा बसोबास शुरू गरेका थोक्राको आश्रित परिवारलाई यथेष्ट राहत उपलब्ध गराउन आफन्तले माग गरेका छन् ।