उपल्लो मुस्ताङमा हिमपात

उपल्लो मुस्ताङमा हिमपात

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २१, २०७७

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो । 

सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताउनुभयो । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।

चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले बताउनुभयो । ‘‘हामी धेरै पोखरा, काठमाडाँैमा छौँ, गाउँमा भएका युवाहरु हिमपातपछि चिसो बढेको बताएका छन्', विष्टले भन्नुभयोे, 'चौँरी, च्याङ्ग्रालगायत चौपाया चराउन नपाएको खबर छ ।' चिसो बढेपछि स्थानीय गुइँठा बालेर घरभित्रै बसेका छन् ।'

चौँरी खर्क र गोठ हिउँले पुरिएका छन् । पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको हो । बुधबारसम्म मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तल्लो मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भएको छ । मौसमको अवस्था स्थिर रहे आज साँझसम्म तल्लो मुस्ताङमा हिमपात हुने स्थानीयवासीले बताउनुभयो ।