विदेशमा सिकेको सीप, नेपाली होटलमा उपयोग !

विदेशमा सिकेको सीप, नेपाली होटलमा  उपयोग !

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  पुष २२, २०७७


चितवन । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो ।

रामग्राम नगरपालिका–५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले स्वदेश फर्किएर त्यहाँको सीपलाई यहाँ प्रयोगमा ल्याउनुभएको हो । मुस्ताङको धवलागिरि टेक्निकल स्कूलमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन र गोकर्णथली रिसोर्टको प्रयोगात्मक कक्षाले सन २००९ मा उहाँलाई रोजगारीका लागि बेलायत पुर्याएको हो । त्यहाँको छ वर्षको होटल रेष्टुरेन्ट क्षेत्रको जागिरपछि उहाँ स्वदेशमै केही गर्ने अठोटका साथ फर्कनुभयो ।

पौडेलले भन्नुभयो, ' फर्कनासाथ मैले पशुपालन गर्ने सोचले गुरु कृषि तथा पशुपालन फार्म खोलेँ । यससँगै होटल व्यवसाय पनि शुरु गरेँ ।'  रामग्राममा दुई कठ्ठा जमिन खरिद गरेर रु दुई करोडभन्दा बढीको लगानीमा गुरु ग्रिनरी रेष्टुरेन्ट एण्ड लज उहाँले शुरु गर्नुभयो । निरन्तरको मेहेनतसँगै उहाँले त्यहाँबाट राम्रो सफलता हात पार्नुभयो । पौडेलले भन्नुभयो, ' वार्षिक रु २० लाख हाराहारी आम्दानी हुने गर्छ ।” पहिलो होटल राम्रो सञ्चालनमा आएसँगै उहाँले गत साताबाट नारायणी किनार गैँडाकोटमा गुरु ग्रिनरी फुड पार्क शुरु गर्नुभएको छ ।

गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिसक्याम्प जाने सडक नजिकै नारायणीको भङ्गालोसँग जोडिएको उहाँको होटल फरक शैलीमा निर्माण गरिएको छ । फरक–फरक कटेजहरुसँगै बगरमाथि बसेर हरियालीमा रमाउँदै खानका लागि ठाउँ बनाइएको छ । भाडामा जग्गा लिएर रु ४५ लाख लगानी गरी खोलिएको पौडेलको दोस्रो यस होटल अन्यभन्दा पृथक रहेको छ । माटाका भाँडामा खसीको मासु पकाएर फरक स्वादका साथ ग्राहकलाई पस्कने उहाँको भनाइ छ । यससँगै लोकल कुखुरा, हाँसको स्वाद पनि ग्राहकलाई दिँदै आइएको छ ।

श्रीमती सुजता र भाइ युवराजसँगै सिङ्गो परिवार यसै पेशामा जुटेको छ । परिवारबाहेक पनि दुई ठाउँमा १६ जनाले रोजगारी पाएका छन् । उहाँ भन्नुहुन्छ, ' अब हेटौँडामा अर्को होटल खोल्ने योजनामा छु ।'  बेरोजगार भएँ भन्नेहरुका लागि मात्र होइन विदेशमा रहेका नेपालीका लागि पनि उदाहरणीय बन्नुभएका पौडेल निरन्तर मेहेनत गर्न सकेमा यहीँ धेरै गर्न सकिन्छ भन्नुहुन्छ । यस पेशामा मिठो बोल्ने र इमान्दार हुनसकेमा सफलता मिल्ने उहाँको अनुभव छ । देशैभर व्यवसाय विस्तार गर्ने उहाँको सोच छ । पौडेलले भन्नुभयो, “एकपटक मकहाँ छिर्ने ग्राहकलाई अर्कोपटक आउने म आफैँ बनाउन सक्छु ।' हँसिलो अनुहार र नम्र बोली मात्र होइन मिठो परिकार एवं आतिथ्यता पौडेल सफल हुनुको कारण भएको उहाँका शुभेच्छुकहरु बताउँछन् ।