सीमा नाका नखुले पनि चार करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन

सीमा नाका नखुले पनि चार करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २२, २०७७

सिरहा । भारतीय सीमा नाका नखुले पनि भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा चार करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा रु चार करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको जनाएको छ ।
 
चालु आव २०७७/७८ मा छ करोड ३० लाख रुपैयाँ लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार प्रमुख नरेश साहले जानकारी दिनुभयो । भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको र खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहको कथन छ । अघिल्लो आव २०७६/७७ मा सो कार्यालयले  सात करोड १६ लाख ७९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।