सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २२, २०७७

काठमाडाैं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल हुनुभएको छ । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (एक करोड ७२ लाखरुपैयाँ) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर ( दुई करोड ५५ लाख रुपैयाँ) तोकिएको छ । 

पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी पर्नुभएको छ । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ । 

पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेल्नुभएको थियो । उहाँ हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा हुनुहुन्छ ।