एक दिने निःशुल्क आयुर्वेद शिविरमा ५१२ सेवाग्राहीले लिए सेवा

एक दिने निःशुल्क आयुर्वेद शिविरमा ५१२ सेवाग्राहीले लिए सेवा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष २२, २०७७

दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–६ मा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्यसेवा कार्यालय आयुर्वेदक शाखाले सञ्चालन गरेको एक दिने निःशुल्क शिविरमा ५१२ सेवाग्राहीले सेवा लिएका छन् । 

आयुर्वेद शाखाका चिकित्सक प्रसन्न नेपालले शिविरमा ३२६ महिला र १८६ पुरुषले परीक्षण गराएको जानकारी दिनुभयो । 'हामीले गाउँगाउँमा आयुर्वेदिक जानकारी र जनचेतना जगायौँ भने अझै बढी मानिस त्यतातिर आकर्षित हुनेछन् । गाउँ र टोलमा आयुर्वेदिक आमा समूह गठन गरेर आयुर्वेदबारे जानकारी दिनुपर्छ । स्थानीय पाठ्यक्रममा समेत यो विषय समावेश गरिनुपर्छ', चिकित्सक नेपालले थप्नुभयो । 

 शिविरमा ग्यास्ट्रिक, मधुमेह, दम, उच्चरक्तचाप, स्त्रीरोग र हाडजोर्नी दुख्नेजस्ता समस्याको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको थियो । शिविरमा पुरुषभन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको आयुर्वेद शाखाका आस प्राविधिक९कविराज० रामप्रसाद महत्तोले बताउनुभयो । एक दिनको शिविरमा यति धेरै मानिस आउनुले आयुर्वेद औषधिप्रति जनताको विश्वास भन्ने देखाएको उहाँले विश्वास गर्नुभयो । 'जनताको मन आयुर्वेद औषधिले जितेको छ, तर प्रचारप्रसार र जनचेतनाको कमीले गर्दा आयुर्वेदिकतिर आर्कषण घटेको हो', उहाँले भन्नुभयो । 
 
शिविरमा अधिकांश बिरामीमध्ये बाथरोग र पाठेघर समस्या भएका महिला आएको शाखाकी बैद्य रीताकुमारी शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, 'म महिला भएकै कारण सबै महिलाले खुलेर समस्या राख्नुभयो । शिविरमा आएका महिलामध्ये ६० प्रतिशत महिलामा पाठेघरको समस्या देखिएको छ । सेतो पानी बग्ने तथा तल्लो पेट दुख्ने गरेका महिला बढी भेटिए । १६ वर्षदेखि माथिका सबै महिलामा यो समस्या छ ।'

उहाँका अनुसार पश्चिमका महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने, पोषण खानेकुरा खानबाट वञ्चित हुने तथा गहु्रङ्गो भारी बोक्ने कारणले गर्दा समस्या आएको हो । यसको लागि स्थानीय सरकारले महिला केन्द्रित कार्यक्रम ल्याएर तत्काल उपचार चाल्नुपर्छ ।