तनहुँ कारागारमा पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा महिला बन्दीगृह बनाइँदै

तनहुँ कारागारमा पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा महिला बन्दीगृह बनाइँदै

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २२, २०७७

तनहुँ । कारागारको पुरानो प्रशासन र सुरक्षा ब्यारेक भवनको बाहिरी भागमा घेरबार गरी महिला बन्दीगृह बनाउन लागिएको छ । सो कारागारमा महिला बन्दी गृह नहुँदा कास्की कारागार पठाउनुपर्ने बाध्यता रहिआएकाले त्यसको अन्त्य गर्न लागिएको कारागारका निमित्त जेलर अधिकारीले जानकारी दिनुभयो । 

ती दुई भवनलाई व्यवस्थित गरी महिला बन्दीगृह बनाउँदा ४० देखि ५० जनासम्म राख्न सकिने क्षमताको हुने उहाँले बताउनुभयो,'हाल सो भवनलाई क्वारेन्टिन बनाइएको छ भने क्वारेन्टिनमा छ जना बस्दै आएका छन् ।' नयाँ आएका कैदीबन्दीलाई १० दिनसम्म क्वारेन्टिनमा राखेपछि कुनै पनि लक्षण नदेखिए मात्रै कारागारमा पठाउने गरिएको छ । 

महिला बन्दीगृहको लागि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालय र कारागार व्यवस्थापन विभागलाई समेत जानकारी गराइसकिएको कार्यालयका निमित्त जेलर अधिकारीले बताउनुभयो । हाल कारागारमा कैदी १८७ र थुनुवा ८२ गरी कूल २६९ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।