नगरपालिकाको वडा कार्यालयको सेवा अर्काे जिल्लाबाट

नगरपालिकाको वडा कार्यालयको सेवा अर्काे जिल्लाबाट

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २२, २०७७

अर्घाखाँची । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’  भनिए पनि शीतगङ्गा नगरपालिका–११ को वडा कार्यालयको सेवा भने कपिलवस्तु जिल्लाको इमिलियाबाट प्रदान गरिन्छ । वडा कार्यालय खयरभट्टीमा रहेको छ भने धेरैजसो सेवा कपिलवस्तुको इमिलियाबाट दिनुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ । 

कपिलवस्तुसँग सिमाना जोडिएको यस वडाको मौवाबारी, दोबाटो, फोर्सल, खयरबट्टीलगायत गाउँबाट सेवाग्राही इमिलिया आउँछन् । यी गाउँबाट खयरबट्टीको कार्यालय पुग्न पाँचछ घण्टा पैदल हिँड्नुपर्छ  । त्यहाँ गएर सिफारिस बनाएर फर्कंदा दिनभर समय लाग्छ । इमिलियाबाट सिफारिस लिएर एकै दिनमा नागरिकता बनाउन सदरमुकाम पुग्न सेवाग्राहीलाई सजिलोका लागि इमिलिया वडा कार्यालय राखिएका आलेको भनाइ छ  । विकास बजेटलगायत अन्य छलफल पनि यहीँ नै हुन्छ । वडाध्यक्ष कपिलाचन्द्र आलेले भन्नुभयो, 'वडा ठूलो छ । बस्ती यत्रतत्र छरिएको छ । मानिसहरुलाई खयरभट्टी जानभन्दा राजमार्गमा रहेको इमिलियामा आउन सजिलो हुन्छ । धेरै काम यतैबाट गर्ने गर्छौं ।'

धेरै जङ्गल क्षेत्र, छरिएर रहेको बस्ती पैदल हिँडेर पार गरेर खयरबट्टी जानुभन्दा कपिलवस्तु झर्न सजिलो हुन्छ । जिल्लाकै २७ प्रतिशत भूगोल क्षेत्र ओगटेको सिद्धारा गाविसलाई नयाँ संरचनामा तीन वडामा विभाजन गरिए पनि स्थानीयवासीले सरकारी सेवा सहजै पाउन कठिन छ । पोल गाडिएको र केही स्थानमा तार तानेको पनि वर्षौं भइसके पनि खयरबट्टी गाउँमा विद्युत् पुगेको छैन । पञ्जीकरणका कामहरु जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, सम्बन्धविच्छेद र बसाइँसराइका घटनाहरु अनलाइन प्रणालीमा राख्न समस्या छ । 

खयरभट्टी कार्यालयमा सातामा तीन दिन बस्ने भनिए पनि यताका सेवाग्रहीले सेवा पाउनबाट वञ्चित भएकाले समस्या भएको छ । सचिव मोदनाथ ज्ञवालीको जिम्मामा वडा ११ र १४ छ । इमिलियाबाट वडा १४ को कार्यालय पावरा पुग्न करीब ६५ किमी दूरी छ । दुवैतिरको जिम्मेवारी पूरा गर्नुपर्दा दौडधुप धेरै भएको ज्ञवालीले बताउनुभयो । सातामा तीन दिन एउटा र तीन दिन अर्को वडाको काम गर्नु परेको उहाँको भनाइ छ ।

क्षेत्रफलका हिसाबले शीतगङ्गा सम्भवतः देशकै ठूलो नगरपालिका हो । यहाँबाट जिल्ला सदरमुकाम पुग्न करीब ७३ किमी छ । यहाँबाट खयरबट्टी रिक्सा चल्छन् । एक यात्रुको भाडा दुई सय तिर्नुपर्छ । जीप, बस जाने बाटो भए पनि दैनिकरुपमा गाडी भरिने गरी यात्रु नपाइने भएकाले सवारी साधन जान मान्दैनन् । त्यसले यो ठाउँ अपायक रहेको मौवाबारीका स्थानीयवासीको गुनासो छ । एउटा नागरिकता बनाउन सिफारिस लिनका लागि वडा कार्यालय पुगेर फर्कंदा तीन दिनको समय लाग्ने गरेको उनीहरुको भनाइ छ ।