लोपान्मुख सुरेल समुदायको पहिलो घरबास सञ्चालन गरिँदै

लोपान्मुख सुरेल समुदायको पहिलो घरबास सञ्चालन गरिँदै

लोकसंवाद संवाददाता  |  पर्यटन  |  पुष २२, २०७७

दोलखा । लोपोन्मुख जातिका रुपमा सूचीकृत सुरेल दोलखाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मुख्य बासेबास रहेको सुरेल जाति दोलखामा मात्र छन् । छुट्टै पहिचान संस्कार रहेको सुरेल बस्तीमा अहिले घरबास सञ्चालनको तयारी भइरहेको छ । उत्तरी क्षेत्रको पर्यटन प्रर्वद्धनलाई लक्षित गरी घरबास सञ्चालनको तयारीमा सुरेल समुदाय जुटेको छ । 

घरबास सञ्चालनका लागि गौरिशङ्कर संरक्षण क्षत्रले आवश्यक सामग्री सहयोग गरेको र घरबास  सञ्चालनको तयारी भएको गौरिशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनाराण शाहले बताउनुभयो । दोलखा रामेछाप र सिन्धुपाल्चोकको विभिन्न भागलाई समेटेर वनेको गौरिशङ्कर संरक्षण क्षेत्रमा पर्यटकको चाहानाअनुरुप पर्यटन प्रर्वद्धन गराउने र लोपान्मुख समुदायको जीविकोर्पाजनमा सुधार ल्याउने उद्देश्यले घरबास  सञ्चालनको काम भइरहेको प्रमुख शाहले बताउनुभयो । 

घरबास सञ्चालनार्थ एक घरको एक कोठाका लागि दुई बेडको लागि पुग्ने दुई थान सिरक, डसना, तकिया, तन्ना, चप्पल, डोरम्याट, डस्टबिन, तौलिया, ह्याङ्गर, ऐना, रबर एस्ट्रे, कार्पेट र होमस्टे बोर्ड गरी प्रति घरधुरी  २० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो ।

सुरेल जातीको मौलिक रहनसहन र संस्कृति होमस्टे सञ्चालनपश्चात उजागर हुने गौरिशङ्कर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । सुरेल समुदायमा सञ्चालन गरेको यो ‘होम स्टे’ नेपालमा नै पहिले हुनेछ । गैरिशङ्कर संरक्षण क्षेत्र गौरिशङ्कर हिमालसँंग जोडिएको र जिल्लाको धेरै पर्यटकीय क्षेत्र त्यस क्षेत्रमा पर्ने भएकाले पर्यटक त्यस क्षेत्रमा भ्रमणमा जाने छन्।