आफनो पारिश्रमिक तथा सुविधा बापतको रकमबाट वडाका विपन्न परिवारलाई पक्की घर

आफनो पारिश्रमिक तथा सुविधा बापतको रकमबाट वडाका विपन्न परिवारलाई पक्की घर

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २४, २०७७

झापा । झापा स्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् ।
    
वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गर्नुभएको हो ।

वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरी घर हस्तान्तरण गर्नुभयो । उहाँले पीडित लामिछानेको परिवारमा रहेका अन्य सदस्यसमेत शारीरिकरूपमा अशक्त रहेकाले सहाराविहीन अवस्था महसुस गर्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाको ‘कोही एक्लो छैन’ भन्ने अभियानलाई सार्थक बनाउन आफूहरुले सो घर निर्माण गरिदिएको बताउनुभयो । 

लामिछाने परिवारको आफनै स्वामित्वमा रहेको करिब १०÷११ धुर जमिनमा जनप्रतिनिधिहरुको रु चार लाख १५ हजारको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफलेले  ६५ हजारभन्दा बढी मूल्य बराबरको प्राविधिक खर्च उपलब्ध गराएपछि २० दिन लगाएर घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिनुभयो । 

कुनै आयस्रोत नभएका लामिछानेको परिवारको विपन्नता देखेर नै जनप्रतिनिधिहरुले स्वेच्छिकरूपमा गर्नुभएको कार्य अत्यन्तै प्रंशसनीय भएको नगर प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।