राजस्थानसँग मुम्बई पराजित

राजस्थानसँग मुम्बई पराजित
मुम्बई इण्डियन्सविरुद्ध सट प्रहार गर्दै राजस्थान रोयल्सका जोस बटलर । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शनिबार राती सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले दोस्रो जित दर्ता गरेको छ । 

उसले अंक तालिकामा तेस्रो स्थानमा रहेको मुम्बई इण्डियन्सलाई चार विकेटले हराएको हो । 

राजस्थानले मुम्बईले दिएको १८८ रनको लक्ष्य १९.३ ओभरमै पूरा गर्यो । प्रारम्भिक ब्याट्सम्यान जोस बटलरले आक्रामक ब्याटिङ गरेपछि राजस्थानले जित दर्ता गरेको हो । खेलको म्यान अफ दि म्याच बटलरले ४३ बलमा ८९ रन जोडे । उनले ८ चौका र ७ छक्का प्रहार गरे । अर्का प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान अजिक्या रहानेले २१ बलमा ३७ रन जोडे । उनले आफ्नो पारीमा ६ चौका र १ छक्का प्रहार गरे । यस्तै, सञ्जु सैमसनले ३१ रनको योगदान दिए । सातौं नम्बरमा ब्याटिङ गर्न आएका श्रेयस गोपालले ७ बलमा १३ रन जोडे । 

मुम्बईका कुर्नाल पाण्ड्याले तीन विकेट लिए । उनले आफ्नो पारीमा ३४ रन खर्चिए । यस्तै, जसप्रित बुमराहले दुई र राहुल चहरले एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन जोड्यो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डि ककले ८१ तथा कप्तान रोहित शर्माले ४७ रन जोडे । डि ककले ६ चौका र चार छक्का प्रहार गरे भने शर्माले ६ चौका र एक छक्का हिर्काए । 

पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका हार्दिक पाण्ड्याले ११ बलमा २८ रन जोडे । 

राजस्थानका जोफ्रा आर्चरले तीन तथा धवल कुलकर्णी र जयदेव उनाडकटले समान एक विकेट लिए ।