के हो स्याटेलाइट खसाल्नु र किन खसालिन्छ ?

के हो स्याटेलाइट खसाल्नु र किन खसालिन्छ ?

लाेकस‌ंवाद विज्ञान डेस्क  |  ज्ञानविज्ञान  |  बैशाख १, २०७६

२७ मार्च २०१९ बुधबारका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै भने – हाम्रा वैज्ञानिकहरुले भुमिबाट ३ सय किमि माथि रहेर पृथ्वीको ‘लो आर्बिट’मा घुमी रहेको एउटा स्याटेलाइटलाई प्रहार गरी नष्ट गरेका छन् । लोकसंवादले त्यै दिन आफ्ना पाठकहरुलाइ यो समाचार दियो । 

 म तपाईलाई पहिला नै स्पष्ट गरि दिउँ, नाभिकीय हतियार बोक्ने मिसाइलमा स्याटेलाइट गाइडेंसको उपयोग गरिदैन । ‘एटमिक’हथियार बोक्ने मिसाइलको ‘नेभीगेसन’का लागि बाह्य स्रोतको उपयोग गरिदैन, यो एकदमै खतरनाक हुनसक्छ । घरमा अथवा आफ्नो गुप्त कोठामा बसेको कुनै ‘ह्याकर’ले मिसाइलको ‘नेटवर्क’ह्याक गरि मिसाइलको दिशा परिवर्तन गरिदियो भने....परिणाम कुनै पनि राष्ट्रका लागि भयावह, आत्मघाती वा हास्यास्पद हुन सक्छ । त्यसेले सबै परमाणविक मिसाइलमा भित्री ‘नेभीगेसन सिस्टम’ जडान गरिएको हुन्छ । यसलाई ह्याक गर्न सकिन्न ।

परमाणु शक्ति सम्पन्न सबै राष्ट्रले एक अर्कामाथि परमाणुवम प्रहार त गर्न सक्छन् । तर कुनै देशले (चाहे त्यो समग्र सामरिक शक्तिमा जति सुकै सानो होस्) आफूमाथि गरेको परमाणु बमको हमला जति सुकै शक्ति सम्पन्न राष्ट्रले पनि रोक्न सक्दैनन । 

नार्थ कोरियासँग विश्वकै शक्ति राष्ट्रहरुले त्रसित हुने मुख्य कारण यही नै हो । अन्तरिक्षको दौडमा सबै राष्ट्रले अर्बौ डरल खर्च गर्नुको मुख्य उद्देश्य आफू यस हमलाबाट जोगिने प्रविधिको विकास गर्नुमा केन्द्रित रहेको छ । 

अन्तरिक्षमा परिक्रमारत ‘स्याटेलाईट’लाई नष्ट गर्ने प्रविधिले मिसाइल बोकेका परमाणु बम आफ्नो भूमिमा खस्नबाट रोक्न त सक्दैन, यसको अर्कै सामरिक महत्व छ । 

कल्पना गर्नुस २५ हजार किमि. प्रति घण्टाको गतिले आफूतिर आइरहेको मिसाइललाई ‘डिटेक्ट’ गर्नु उसको गतिपथको सटीक गणना गर्नु र त्यस विरुद्ध ‘एक्शन’लिनु यो सबै प्रक्रिया केही मिनेटमै सम्पन्न गर्नु पर्ने हुन्छ । यहाँ एक एक क्षण बहुमूल्य हुन्छ । 

यस सबै प्रक्रियामा ‘स्याटेलाइट’को नै भूमिका हुन्छ । बुझ्नुस ‘स्याटेलाइट’ अन्तरिक्षमा परिक्रमारत करोडौं आँखा भएको सैनिक हो । देशको सुरक्षाको जिम्मा अब सैनिक दस्तालाई मात्र होइन,  अन्तरिक्षमा घुमीरहेका ‘स्याटेलाइट’ माथि पनि उत्तिकै निर्भर गर्छ । 

अन्तरिक्षमा रहेको ‘स्याटेलाइट’ले मिसाइल प्रक्षेपण हुनासाथ ‘हीट डिटेक्ट’गरेर राडार भन्दा पहिला नै सूचना पे्रषित गर्ने कार्य गर्छन् । राडारले आफ्नो पहुँचमा आएपछि मात्र मिसाइललाई ‘डिटेक्न’गर्न सक्छ, तर यसबेलासम्म धेरै ढीलो भइसकेको हुन्छ । ‘स्याटेलाइट‘ले यो सूचना राडार भन्दा पहिला दिन्छन् । 

अब भारतले हासिल गरेको उपलब्धि बारे बुझ्नुस् । यो उपलब्धि अमेरिका, रुस र चीनले पहिला नै हासिल गरिसकेका छन् । 

भारत लगायत यी कुनै पनि देशले ‘स्याटेलाइट’नष्ट गर्ने प्रविधि हासिल गरेर आफूमाथि हुन सक्ने परमाणु आक्रमण रोक्ने क्षमता विकास गरेका होइनन् । शत्रु देशका स्याटेलाइट नष्ट गरेर उसको रक्षण क्षमतालाई कुन्द बनाउने प्रविधि विकास गरेका हुन् । 

शायद शक्ति सन्तुलनको खेल यही नै हो । प्रत्येक देश अर्को देशमाथि आक्रमण गर्ने क्षमताका साथै आफ्नो सुरक्षाका लागि पनि प्रयत्नशील रहन्छ । साथै शत्रु देशको सुरक्षा पंक्तिलाई खण्डित बनाउन पनि प्रयासरत हुने गर्छ । ‘एन्टी स्याटेलाइट मिसाइल’को सफल परीक्षण गरेर भारतले शत्रु राष्ट्रका ‘स्याटेलाइट’ ध्वस्त गर्ने सामथ्र्य आफूसँग पनि रहेको प्रमाणित गरेको छ । भारत भन्दा पहिला यो क्षमता रुस अमेरिका र चीनसँग मात्रै रहेको थियो । यूरोपियन यूनियनका अनेकौं महाशक्ति राष्ट्र लगायत जापान जस्तो उन्नत देशसँग पनि ‘स्याटेलाइट’ खसाल्ने प्रविधि छैन । 

भारतले हासिल गरेको यो सामथ्र्यको तुलना महाभारतको द्रोपदी स्वयंवरसँग गरौं–२०–२५ फिटमाथि घुमीरहेको माछाको आँखामा लक्ष्यभेदन गर्नु, त्यो पनि भइमा रहेको माछाको प्रतिविम्ब हेरेर । अर्जुनले यस लक्ष्यलाई भेदेर द्रोपदीवरण गरेका थिए । 

३०० किमिमाथि अन्तरिक्षमा पौडीरहेको ‘स्याटेलाइट’ जसको गति झण्डै ७ किमि. प्रतिसेकेण्ड अथवा २५ हजार किमि प्रति घण्टा रहेको हुन्छ, त्यसलाई निशाना बनाउनु र निशाना बनाउनु प्रक्षेपण गरिएको मिसाइलको गति झण्डै ४० हजार किमि प्रति घण्टा हुनु र यसले लक्ष्य भेदन गर्नु, यो सामानय कुरा होइन । सेकेण्डको हजारौ भागको चूक भए लक्ष्य भेदन हुन्न । 

भारतले यो शक्ति हासिल गरेर आफूमाथि हुने आणविक हमला रोक्न सक्दैन । यसको प्रयोग यति मात्र हो, युद्धको वेला शत्रु देशका ‘स्याटेलाइट’ नष्ट गरेर भारत युद्धमा अग्रता लिन सक्छ । 

भारतको यो ‘एन्टी स्याटेलाइट मिसाइल’ भारतको अग्नि श्रृंखलाको ‘वैलेस्टिक मिसाइल’ कै विकसित र परिमार्जित रुप हो । भारतको अग्नि–५ ‘इन्टर कन्टिनेन्टल वैलेस्टिक मिसाइल’ हो । रुस र अमेकिरकाले ‘वैलेस्टिक मिसाइल’ आकाशमै रोक्ने, यहाँसम्म कि प्रक्षेपण गर्नु पूर्व नै नष्ट गर्न सक्ने प्रविधि विकसित हुने सम्भावना छ । निकट भविष्यमै एक्सरे, लेजर, पार्टिकल बीम जस्ता किरणले आणविक मिसाइल नष्ट गर्ने प्रविधि विकसित हुन्छ । जस्तो कि तपाईले साइन्स फिक्शन फिल्ममा देख्नु भएको होला । भारतसँग ३० किमि देखि १५० किमि माथि आकाशमै आणविक मिसाइल नष्ट गर्न सक्ने, ‘एडवान्स एअर डिफेन्स’ (AAD) ‘पृथ्वी एअर डिफेन्स’ (PAD) र ‘पृथ्वी डिफेन्स भिहाइकल (PAV) तीनवटा विभिन्न तहका  ‘बैलेस्टिक मिसाइल डिफेन्स सिस्टम’रहेका छन् । 

यसै क्रममा भारतको डीआरडीओ र इसरोले मिलेर ‘एन्टी स्याटेलाइट मिसाइल’बनाएका हुन् । वास्तवमा ‘स्याटेलाइट’ नष्ट गर्न कुनै ‘न्यूक्लियर बम’ अथवा विस्फोटकको आवश्यकता पर्दैन । यसमा ‘काइनेटिक किल’(Kinetic Kill) प्रविधिको प्रयोग गरिन्छ । यस प्रविधिमा मिसाइलको अग्रभागमा धातुको एउटा टुप्पो जडान गरिएको हुन्छ । अति वेगले घुमिरहेको ‘स्याटेलाइट’मा अति वेगमा गएको धातुको टुप्पो ठोकिदा ‘स्याटेलाइट’ टुक्रा टुक्रा हुन पुग्छ । भारतले शक्ति मिशन अन्तर्गत यसै प्रविधिको प्रयोग गरेको हो । 

३०० किमि. पृथ्वीको ‘लोअर आर्बिट’मा ध्वस्त गरिएको ‘स्याटेलाइट’का टुक्रा झण्डै ४५ दिनमा आफै जलेर नष्ट हुन्छन् । 

विश्वमा नरेन्द्र मोदीको बढ्दो प्रभावका कारण विश्वका राष्ट्रले हो कि अधिकांशले भारतको यस परीक्षणको खुलेर विरोध गर्न सकेनन् । नासाले प्रारम्भमा विरोध गरे पनि अमेरिकी रक्षा मन्त्रालय र पेन्टागनको वक्तव्य पछि आफ्नो विरोध फिर्ता गर्न वाध्य भयो ।