अमेरिकी प्रजातन्त्र माथिको हमला र घेराबन्दी : सत्ता सम्हाल्नुअघि बाइडेनको ठुलो जीत !

अमेरिकी प्रजातन्त्र माथिको हमला र घेराबन्दी : सत्ता सम्हाल्नुअघि बाइडेनको ठुलो जीत !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २४, २०७७

अमेरिकी संसद्को संयुक्त बैठकले डेमोक्र्टिक नेता जो बाइडन र कमला ह्यारिसले गत वर्ष ३ नोभेम्बरमा भएको निर्वाचनमा हासिल गरेको जितलाई प्रमाणित गरिदिएको छ । योसँगै अब २० जनवरीमा शपथग्रहण गर्ने बाटो खुल्ला भएको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिए पनि ती चुनौती पारित गर्नका लागि दुई तिहाइ बहुमत हासिल  हुन नसकेपछि  बाटो खुल्ला  भएको हो । 

संसद्को संयुक्त बैठक जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेर मत परिणाम उल्टाउन माग राख्दै हिंसात्मक प्रदर्शनमा उत्रेका थिए ।  जसमा चार जनाको मृत्यु समेत भएको छ । सन् १८१२ मा बेलायती सेनाले आगो लगाइदिएपछि पहिलो पटक अमेरिकी संसद् क्यापिटल बिल्डिङमा यस्तो र  यती ठुलो हमला भएको हो । हमलापछि लामो समय अवरुद्ध भएर सुरु भएको संसद्को संयुक्त बैठकमा इलेक्टोरल मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको ‌औपचारिक घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत चाहिन्छ । इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा असफल भएको थियो । 

संसद्को बैठकले जो बाइडेनको जित प्रमाणित गरेपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै २० जनवरीमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने बाचा गर्न बाध्य भएका छन् । तर उनले निर्वाचनमा धाँधली भएको प्रमाणविहीन दाबीलाई भने कायमै राखिरहेका छन्  । आफ्नो ट्विटर समेत बन्द भएपछि आफ्ना प्रवक्ताको ट्विटरमार्फत सार्वजनिक विज्ञप्तिमा उनले भनेका छन्, ‘म यो निर्वाचनको नतिजाप्रति पूर्ण रूपमा असहमत भए पनि २० जनवरीमा शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेछ ।’

‘मैले सधैँ भनेको छु कि हामी कानुनी मत मात्रै गणना गराउने कानुनी सङ्घर्ष जारी राख्नेछौँ । यो राष्ट्रपतीय इतिहासमा सबैभन्दा महान् कार्यकालको अन्त्य भए पनि अमेरिकालाई फेरि महान् बनाउने सङ्घर्षको सुरुवात मात्रै हो,’ ट्रम्पले उल्लेख गरेका छन् । 

बाँडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित हुनुभन्दा ठिक एक दिनअघि जर्जियाका दुई सिनेट सिटमा जित हासिल गरेपछि सिनेटमा पनि डेमोक्र्याट र रिपब्लिकन पार्टीको बराबर ५० सिट भएको छ । अमेरिकी संविधानअनुसार सिनेटको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्था भएका कारण केही महत्त्वपूर्ण निर्णय गर्दा उनको मत निर्णायक हुनेछ । अब २० जनवरीमा कमला ह्यारिसले अमेरिकी उपराष्ट्रपतिमा शपथ लिनेछिन् । 

अमेरिकी उपराष्ट्रपतिलाई कुनै विधेयकमा बराबर मत आएको अवस्थामा निर्णायक मत दिने अधिकार छ । जर्जियाबाट राफेल वारनोक र जोन ओसोफले सिनेटर रहेका केली लोफलर र डेभिड पर्डुलाई हराएका हुन् । योसँगै सन् २००९ यता पहिलो पटक संसद्को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस डेमोक्र्याटिकको नियन्त्रणमा हुने भएको छ । यसबाट राष्ट्रपति कार्यकालको सुरुवात गर्नुअघि नै उनको राजनीतिक अवस्था बलियो बन्दै गएको देखिएको छ । 

त्यसमाथि पनि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पका बहुलठ्ठीपूर्ण निर्णयले अमेरिकी मात्रै होइन विश्व भरी नै तीव्र आलोचना भइरहेको छ । यसबाट बाइडेनलाई राजनीतिक रुपमा अर्को फाइदा हुने देखिएको छ । 

अमेरिकी संसद्मा हमलाबारे कसले के भने ?

अमेरिकी संसद्मा भएको घटनाको विश्वभरबाट निन्दा भएको छ । युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेफ बोरेलले विश्वको नजरमा अमेरिकी लोकतन्त्र घेराबन्दीमा परेको देखिएको बताएका छन् ।

आयरल्यान्डका विदेशमन्त्री साइमन कोभेनीले पदमा रहेका राष्ट्रपति र उनका समर्थकले जानीबुझी लोकतन्त्रमाथि हमला गरेको टिप्पणी गरेका छन् । ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले घटनालाई लज्जाजनक भन्दै शान्तिपूर्ण र व्यवस्थित शक्ति हस्तान्तरणका लागि आग्रह गरेका छन् । नेटोका महासचिवले अमेरिकामा भएको आक्रमणको घटना स्तब्ध पार्ने खालको भएको बताएका छन् । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले प्रजातान्त्रिक प्रक्रियालाई सम्मान गर्न आग्रह गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले यो हमला अमेरिकी चरित्रसँग नसुहाने टिप्पणी गरेका छन् । 

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो प्रजातन्त्रमाथिको हमला भएको भन्दै त्यसबाट क्यानेडियालीहरू विक्षिप्त भएको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले पनि सो घटना निन्दनीय भएको बताएका छन् । 

पूर्वराष्ट्रपतिहरू के भने ?

अमेरिकी संसद्मा भएको हमलाको अमेरिकाका पूर्वराष्ट्रपतिहरूले आलोचना गरेका छन् ।

पूर्वराष्ट्रपति बाराक ओबामाले इतिहासले यो घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झने टिप्पणी गरेका छन् । उनले देशका लागि ठुलो अनादर लज्जाको दिनका रुपमा स्मरण गर्ने उल्लेख गरेका छन् । 

विल क्लिन्टनले जबरजस्ती गलत सूचना फैलाएर गरिएको चार वर्षको विषाक्त राजनीतिले मलजल गरेको अविश्वास झल्काउने हमला भएको भन्दै एक अमेरिकीविरुद्ध अर्कोलाई उभ्याउने कोसिस भइरहेको टिप्पणी गरेका छन् । 

जर्ज डब्ल्यु बुसले भनेका छन्, ‘चुनावी नतिजाको यस्तो विवाद  रिपब्लिक (अस्थिर राजनीतिक व्यवस्था) मा हुन्छ, हाम्रो प्रजातान्त्रिक गणतन्त्रमा होइन । यो केही लापरबाही राजनीतिक नेताको व्यवहारबाट मञ्चन भएको हो ।’ 

अमेरिकामा भएको सांसदमाथिको यो हमलाले पनि बाइडेनलाई राष्ट्रपतिका रुपमा कदम चाल्नुअघि निकै गम्भीर परिस्थिति सिर्जना गरिदिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि बाइडेनलाई अमेरिकी पुरानो छविलाई फर्काउने चुनौती र अवसर एकै पटक सिर्जना भएको छ । यसलाई उनले सहज रुपमा उपयोग गर्न सके भने राष्ट्रपतिका रुपमा धेरै सुधारात्मक र ट्रम्पको कार्यकालमा उल्टाएका योजनाहरू पुनः सुरु गर्न सहज हुनेछ ।

एजेन्डा पास गराउन सहज

ट्रम्पको कार्यकालका पछिल्ला दुई वर्ष डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमत हासिल गरेपछि सिनेटमा आउने सबै विधेयकमा कुनै न कुनै अड्चन आइरहे । तर अब जर्जियामा पाएको जितसँगै बाइडेनले यस्तो अवस्थाको सामना गर्नुपर्नेछैन । यसबाट बाइडेनका लागि हेल्थकेयर, पर्यावरण, सरकारी सुधार र अर्थव्यवस्थासँग जोडिएका मुद्दामा आफ्ना विधेयक पास गर्न सहज भने हुनेछ । तर ५०–५० को बराबरीले ग्रीन न्यु डिल र पब्लिक हेल्थ इन्स्योरेन्स जस्ता प्रस्ताव छिट्टै लागू हुन भने कठिन छ । डेमोक्याटका लागि अब पनि केही अप्ठ्याराहरू भने अझै बाँकी नै छन् । किनकि प्रमुख विधेयक पास हुनका लागि सिनेटमा ६० भोटको आवश्यकता हुन्छ । यहाँसम्म कि सामान्य विधेयक बहुमतले पास गर्न पनि मध्यमार्गी डेमोक्र्याट जो मान्चिन (वेस्ट भर्जिनिया) र एरिजोनाबाट आउने दुई सिनेटरलाई सन्तुष्ट बनाउनुपर्नेछ । 

जो बाइडेनलाई आफ्नो प्रशासनका लागि नियुक्तिहरू गर्नका लागि भने सहज हुनेछ । यसको निर्णय डेमोक्र्याटसको भोट नै पर्याप्त हुनेछ । विवादित छविका प्रत्यासीका लागि भने डेमोक्र्याटको बहुमत आउनु खुसीको कुरा हो । सन् २०२० को निर्वाचनपछि रिपब्लिकन पार्टीले राष्ट्रपतिसहित संसद्का दुवै सदनमा नियन्त्रण गुमाएको छ । यस्तो अवस्थामा बाइडेनलाई सत्ता सञ्चालनका लागि सहज बाटो खुल्ला भएको छ ।