हारको बदला लिने दाउमा कोलकाता, जित दोहोर्याउने मनस्थितिमा चेन्नई

हारको बदला लिने दाउमा कोलकाता, जित दोहोर्याउने मनस्थितिमा चेन्नई
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत आइतबार राती कोलकाताको इडन गार्डेन मैदानमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स प्रतिष्पर्धा गर्दैछन् । 

चेन्नई कोलकातासँग जित दोहो¥याउने दाउमा छ भने कोलकाता हारको बदला लिने दाउमा देखिन्छ । तर, दुवै टिमलाई खेल जित्न सहज भने देखिँदैन । 

चालू आइपिएलमा दुवै टिम सशक्त देखिएका छन् । चेन्नई अंक तालिकाको शीर्ष स्थानमा छ भने कोलकाता दोस्रो स्थानमा छ । सात खेल खेलेको चेन्नईले ६ खेल जितेर १२ अंक जोडेको छ । समान खेल खेलेको कोलकाताको ८ अंक मात्रै छ । 

अंक तालिकाको शीर्ष स्थानका टिम भएकाले आजको खेल प्रतिष्पर्धात्मक हुने आँकलन गरिएको छ । 

चेन्नईले आफ्नो पक्षमा जित निकाल्न आन्द्रे रसललाई रोक्नुपर्नेछ । कोलकाताका आन्द्रे रसल आफ्नो ब्याटिङबाट खेलको नतिजा उलटपुलट गर्न माहिर देखिएका छन् । चालू आइपिएलमा आक्रामक ब्याटिङ गरिरहेका उनले प्रायः हरेक खेलमा रन बनाएका छन् । उनको स्ट्राइक रेट सर्वाधिक २१२.६७ छ । सर्वाधिक रन बनाउनेको सूचीमा पनि उनी चौथो स्थानमा छन् । उनले चालू आइपिएलमा ६ इनिङबाट ३०२ रन जोडेका छन् । यस्तै, कोलकाताका सुनिल नैरन पनि ब्याटिङ र बलिङबाट टिमलाई जित दिलाउने हैसियत राख्छन् । 

यी खेलाडीलाई रोक्न सके चेन्नईले जित हासिल गर्न सक्छ । 

कोलकातालाई पनि जित निकाल्न सहज भने छैन । कोलकाताको जितका लागि चेन्नईका दीपक चहर बाधक बन्न सक्छन् । उनले अघिल्लो खेलमा कोलकाताको सुरुवाती क्रम ध्वस्त गरेका थिए । उक्त खेलका म्यान अफ दि म्याच चहरले प्रारम्भिक ब्याट्सम्यान क्रिस लिनसँगै रविन उथप्पा र नितिश रानाको विकेट लिएका थिए । उनले लिन र रानालाई शून्य रनमै पेवेलियन फर्र्काएका थिए । 
यस्तोमा चहरविरुद्ध धावा बोल्न सके कोलकाताले जित निकाल्न सक्छ । यस्तै, कोलकाताको जितमा धोनी पनि बाधक बन्न सक्छन् । उनमा विपक्षी हावी भएको खेलको नतिजा आफ्नो पक्षमा पार्नसक्ने खुबी छ । 

तर, कोलकातालाई घरेलु मैदानको साथ भने रहनेछ । 

हेड टु हेडमा चेन्नई अघि 

यी दुई टिमबीच भएका हेड टु हेड खेलमा चेन्नई अघि देखिएको छ । चेन्नईले २२ खेलमध्ये १३ को नतिजा आफ्नो पक्षमा पारेको छ । कोलकाताको पक्षमा आठ खेलको नतिजा मात्रै छ । एक खेलको नतिजा आएको छैन । 

कोलकाताको इडन गार्डेन मैदानमा भएका आठ खेलमा भने दुवै टिमले समान प्रदर्शन गरेका छन् । इडन गार्डेनमा दुवै टिमले समान चार जित निकालेका छन् । यस्तोमा कुन टिमले खेल जित्छ भन्ने सहजै अनुमान लगाउन गाह्रो छ ।