कृष्ण कुमार राई : ब्रिटिस सेनाले गोर्खा सैनिक माथि गरेको अन्याय र विभेद विरुद्धका सभापति

कृष्ण कुमार राई : ब्रिटिस सेनाले गोर्खा सैनिक माथि गरेको अन्याय र विभेद विरुद्धका सभापति

आशिष पौडेल  |  अन्तर्मन्थन  |  पुष २५, २०७७

एउटा सामान्य ब्रिटिस गोर्खा सैनिकको सन्तान र स्वयं पनि भूतपूर्व ब्रिटिस गोर्खा सैनिक हुनुहुन्छ कृष्ण कुमार राई । तर, उहाँको परिचय यतिमा मात्र सीमित छैन ।  गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) का वर्तमान सभापति उहाँ ब्रिटिस सेनाले गोर्खा सैनिक माथि गरेको विभेदको आन्दोलनमा निरन्तर होमिरहनु भएको नाम पनि कृष्ण कुमार राई  । 

यसले उहाँको बेग्लै परिचय समेत निर्माण भएको छ । एउटा सामान्य मानिस आफ्नो इच्छा शक्तिले अन्याय र विभेदका विरुद्ध उभियो भने बेग्लै परिचय समेत निर्माण हुन सक्दो रहेछ भन्ने कुराको उदाहरण हो यो आलेख ।  

पारिवारिक अवस्था 

उहाँको बुवाको तीन दाजुभाइ । उहाँको बुवा भने जेठो । उहाँको बुवा भूतपूर्व ब्रिटिस सैनिक । यद्यपि उहाँ आफ्नो परिवारलाई मध्यम खालको परिवार भन्न रुचाउनुहुन्छ । उहाँको बुवा ब्रिटिस सैनिक सेवाबाट अवकाश प्राप्त गरेर हाल ९४ वर्षको उमेरमा पेन्सन थाप्दै हुनुहुन्छ । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०१८ सालमा सिंगापुरको जोरबारमा भएको हो । उहाँको बुवा त्यस बखत सिंगापुरमा कार्यरत हुनुहुन्थ्यो । उहाँ दुई वर्षसम्म सिंगापुर बसेर नेपाल फर्कनु भएको हो । नेपाली नागरिक भएका नाताले उहाँको आधिकारिक दस्ताबेजमा उहाँको जन्म भोजपुरको साम्पाङमा भएको उल्लेख गरिएको छ । 

उहाँका दाजुभाइ दिदी बहिनी कोही पनि हुनुहुन्न । अर्थात् उहाँ एक्लो सन्तान । बाल्यकालको उताको स्मृतिमा त्यति नरहे पनि जहाज उडेको भने अझै उहाँको मानसपटलमा ताजा नै रहेछ ।  एक्लो सन्तान भएका नाताले उहाँले खासै दुःख भने गर्नु परेन । 

पाङ्ग्रा, खोपी, डन्डी बियो, कपर्दी आदि खेलेर बित्यो उहाँको बाल्यकाल । उमेरसँगै खेलमा केही परिवर्तन पनि भए । खोलामा गएर पौडी खेल्ने, दुबली फर्काएर माछा मार्ने, गुलेली हान्ने लगायतका बाल क्रीडा  हुन उहाँका । 

प्रारम्भिक शिक्षा 

त्यस बेलाको स्कुलमा नर्सरी, केजी भन्ने थिएन । उहाँले सोझै एक कक्षाबाट पढ्न सुरु गर्नुभएको हो । सरस्वती प्रावि बाट ।  बस्ने बेन्च मात्र थियो । लेख्नलाई डेस्क थिएन । सरहरू आएर ब्ल्याक बोर्डमा चकले लेख्नुहुन्थ्यो । अनि प्रत्येक शुक्रवार आफ्नो कक्षाकोठा आफैँले लिपपोत तथा सरसफाइ गर्नुपर्थ्यो । 

कक्षा पोत्न घरबाटै गोबर लिएर जानुपर्थ्यो । बाँसको भाटाले कक्षा बारेको हुन्थ्यो । त्यसमा गोबर माटोले लिपेर रातो माटोले पोत्नुपर्थ्यो ।  अलि उमेर पुगेका महिला दिदीबहिनी भने लिप्ने काम गर्थे । अरु साना केटाकेटीको काम भने पानी ओसार्ने हुन्थ्यो ।  उहाँ प्राविमा कहिल्यै पनि पहिलो अनि तेस्रो हुनुभएन । सधैँ दोस्रो । 

त्यति बेला छोरीलाई पनि पढाउनुपर्छ भन्ने मान्यता केही विकास भैसकेको थियो । त्यसैले चौबीस पच्चीस जनाको कक्षामा करिब बाह्र तेह्र जना केटीहरू हुन्थे ।  किताब कपी भने किन्नुपर्थ्यो । तर, पढाई भने निःशुल्क नै थियो । कुनै शुल्क तिर्नु परेन । 

स्कुलमा हुँदा खोल्याङ खुट्टी, गेम ढलाई अनि कागजको प्लेन बनाएर उडाएको सम्झना छ उहाँलाई । ककफाइट पनि खुबै चलेको थियो त्यस बेला । अनि भर्खरको सिकारुले हुत्तिएर गएर हान्न खोज्दा जान्ने मान्छेले छल्दिन्थे । अनि लडेर धेरै सिकारुका घुँडा फुस्किएका छन्, उहाँ भन्नुहुन्छ । 

जर्मन नाजीहरूले तयारीका साथ बेलायतमाथि आक्रमण गर्दा हजारौँ ब्रिटिस गोर्खा लगायत अन्य सैनिक हताहत भए । तर, प्रथम भिसी कुलवीर थापाले भने सँगै लडिरहेका आफ्ना साथीलाई बोक्दै सुरक्षित ठाउँमा राख्ने अनि फेरि जाने गर्दै गर्दा जर्मनहरू पनि अचम्ममा परे । एक पटक होइन, दुई पटक होइन तीन तीन पटकसम्म पनि गोली हान्दा पनि नलाग्ने यो कस्तो अद्भुत सैनिक रैछ । अब युद्ध विराम गरी यसलाई समातेर हेर्नु पर्‍यो भनेर युद्ध विराम गरेर उहाँलाई बन्दी गराएर सोधपुछ गरे छन् । 

निमावि तथा मावि 

पाँच कक्षापछि भने उहाँ ठुलीआमाकोमा बसेर पढ्न थाल्नुभयो निमावि । भोजपुरको रियाङमा । अरुणोदय स्कुलमा । उहाँको प्रमाणपत्रमा उहाँ दोस्रो भएको पनि जनाइएको थियो । त्यसैले उहाँले पछि ६ कक्षा नपढी एकैपटक सात कक्षामा भर्ना हुन पाउनुभयो । अनि आठ कक्षासम्म उक्त स्कुलमा पढ्नु भयो । स्कुल करिब डेढ घण्टाको पैदल दूरीमा थियो । 

उस्तै उस्तै केटाहरु सँगै जिस्किँदै स्कुल जाँदा कहिले त स्कुल नगई खोलातिर लाग्नुहुन्थ्यो । अनि पौडी खेल्यो । पौडी खेलेर भोक लागेपछि वरको रुखमा चढेर वर झारेर खाइन्थ्यो, उहाँ भन्नुहुन्छ ।  बस्ने डेस्क बेन्च जोडिएको हुन्थ्यो । उचाल्दा दुवै एकैपटक उचालिने । कक्षामा सत्ताइस अट्ठाइस जना हुन्थे । केटीको सङ्ख्या भने सात आठ जति हुन्थ्यो । फी पनि दश एघार रुपैयाँ तिरेजस्तो लाग्छ उहाँलाई । 

आठ कक्षा पास गरेपछि उहाँ भोजपुरकै दिङ्ला माविमा जानुभयो नौ कक्षा पढ्नका लागि ।  उहाँ त्यस बेला दश कक्षामा पढ्दा सैँतिस जना विद्यार्थी थिए । विद्यार्थी धेरै भएकोले पढ्नेले पढ्ने अरु पछाडि जिस्कँदै बस्ने । केटीहरू दश एघार जना जति थिए होलान्, उहाँ भन्नुहुन्छ । 

उमेर पुगेकाले केटी जिस्काउने । उनीहरूको कपी माग्ने अनि त्यहाँ अनेक थरी लेख्ने गरिन्थ्यो, उहाँ भन्नुहुन्छ ।  उहाँले २०३४ सालमा एसएलसी दिनुभएको हो । सैँतिस जना विद्यार्थीमा एक्काइस जना पास भए त्यति बेला उहाँ भन्नुहुन्छ । उहाँको सेकेन्ड डिभिजन आएको थियो । 

त्यतिखेर दुई बिषय लागेर फेल भएकाहरूलाई चिट दिएर सहयोग गर्न उहाँ पनि पुग्नुहुन्थ्यो । अनि बाहिरबाट सानो ढुङ्गामा चिट पोको पारेर फाल्ने, मिलेर सार्ने अनि जसले अरूलाई सार्न दिएन त्यसले परीक्षा पछि कुटाइ खाएको पनि सम्झना हुन्छ उहाँलाई । 

प्रहरी विरुद्धको आन्दोलन 

२०३३ सालमा उहाँहरूले भोजपुरमा एउटा आन्दोलन गर्नुभयो । त्यस बेला उहाँ दश कक्षामा पढ्दै हुनुहुन्थ्यो । सङ्खुवासभाबाट अरु विद्यार्थीहरूलाई पनि डाकिएको थियो आन्दोलनका लागि ।  त्यस बेला भोजपुरका विद्यार्थीहरूका प्रिय एक जना हवलदार दाइको दिङला भन्ज्याङमा एउटा चिया पसल थियो । विद्यार्थीहरू त्यहाँ गएर चिया खाजा खाने गर्थे । 

अनि त्यस बेला एक जना सई थिए दानबहादुर बस्नेत । ती सइसापले हवलदार दाइको पसल भएको बाँसको झ्याङमा गएर सबै बाँसको घाँस घोडालाई खान दिएर दुःख दिएका रहेछन् ।  त्यो कुरा उहाँले विद्यार्थीलाई भनेपछि यो अन्याय सहनु हुँदैन भनेर ठुलो आन्दोलन चर्कियो । 

ठुलादेखि साना विद्यार्थी सबै थानासम्म गएर विरोध गरे । तर, त्यसले केही भएन अनि ढुंगामुढा भयो । हवाई फायर समेत भयो । अनि सबै भागाभाग भएर उहाँहरू दश दिन जति जङ्गलमा पनि बस्नुभयो ।  तर, अब यसरी हुँदैन वारपारको लडाइँ लड्नुपर्छ भनेर अग्रज दाइहरूले भनेपछि विशाल आन्दोलन नै भयो । 

तर, आन्दोलनमा भएका सरसल्लाहरु भने सबै ती सईकोमा पुग्दो रहेछ । कारण उनको छोरी पनि त्यही स्कुलमा पढ्ने र उहाँहरूको कक्षाको फर्स्ट ब्वाईको एकदमै मिल्ने साथी । त्यसो हुँदा ती सबै कुरा फर्स्ट ब्वाई मार्फत छोरी हुँदै सईले थाहा पाउने रहेछन् । त्यो कुरा उहाँहरूले थाहा पाएपछि केटाहरूले फर्स्ट ब्वाइलाई पनि दुईचार झापड लगाए ।  आन्दोलन पश्चात् एक महिनामा ती सई पनि सरुवा भएर गए अनि ती फर्स्ट ब्वाइ दण्डपाणिले पनि स्कुल छोडे । उहाँले त्यो आन्दोलनलाई यसरी सम्झनुभयो । 

आइएको पढाई 

एसएलसीपछि उहाँ मानविकी पढ्नका लागि भोजपुर क्याम्पस जानुभयो २०३५ सालमा ।  २०३५/३६ मा नेपालमा विद्यार्थी आन्दोलन सुरु भइसकेको थियो उहाँ भन्नहुन्छ । वर्तमान राष्ट्रपति विद्या भण्डारी उहाँको सहपाठी समेत रहेको कृष्णकुमार  राई  बताउनु हुन्छ ।

उहाँहरूले त्यस बेला साना साना पर्चा पम्प्लेटहरु पनि बाँड्ने काम गर्नुभयो । अनि प्रशासनले त्यो थाहा पाएपछि भागेको सम्झनहुन्छ उहाँ अहिले पनि ।  मदन भण्डारी सङ्गठन विस्तारको काममा त्यहाँ आउने गरेको बताउनुहुन्छ उहाँ । अनि विद्या भण्डारीको सम्पर्क त्यस बेलादेखि नै मदनसँग भएको पनि उहाँ बताउनुहुन्छ । 

अनि २०३६ सालमा बिपी कोइरालालाई विराटनगर एयरपोर्टमा ओर्लन नदिएको तथा त्यसको विरोधमा सहभागी हुन उहाँहरूलाई बोलाइएको पनि सम्झनुहुन्छ उहाँ । तर उहाँ भने जान पाउनु भएन ।  क्याम्पसमा भएको आन्दोलनको क्रममा करिब पच्चीस फिट अग्लो कान्लोबाट हाम फाल्ने क्रममा आफ्नो एउटा खुट्टा मर्किएको पनि स्मरण गर्नुभयो उहाँले । 

ब्रिटिस सेनामा प्रवेश 

२०३६ सालको अन्ततिर गाउँमा गल्लावाला आएको खबर उहाँले पनि सुन्नुभयो । अनि गाउँमा यसरी लुकेर हिँड्नुभन्दा एक पटक कोसिस किन नगर्ने भन्ने लाग्यो उहाँलाई । उहाँ सँगै पढ्ने साम्पाङ छ जना मध्ये एक जना ब्रिटिस आर्मीमा जानु भएन । बाँकी पाँचै जना भने त्यस बेला छनौटमा पर्नुभयो ।  उहाँ पन्ध्र वर्ष ब्रिटिस सैनिक सेवामा काम गरेपछि क्लर्क पदबाट अवकाश प्राप्त गरेर नेपाल फर्कनुभयो । 

विवाह 

उहाँको विवाह २०३६ सालमा भएको हो । उहाँ घरको एक्लो छोरो भएका कारण बाबु आमाको रेखदेख गर्ने कोही थिएन । त्यस कारण पनि छिटो विवाह गर्नुपर्‍यो उहाँ भन्नुहुन्छ । घरमा बिहे गर्नुपर्छ भन्दा पढ्नुपर्छ त भन्नुभयो । तर, फेरी घर हेर्ने अरु कोही नभएका कारण पनि विवाहका लागि तयार हुनुप¥यो उहाँ भन्नुहुन्छ । 

आफ्नो मागी तथा भागी विवाह नभएर आमाले म बुहारी खोज्छु तैँले विवाह गर्नुपर्छ भनेपछि सहमतिमा विवाह भएको हो भन्नुहुन्छ, उहाँ ।  उहाँका तीन छोरा । माइलो र कान्छो छोरा भने बेलायतमा हुनुहुन्छ । जेठो छोरा भने उहाँहरूसँगै नेपालमै बसिरहनु भएको छ । 

गेसो आन्दोलन 

२०४७ साल असार २७ गते गोर्खा सैनिक माथि भएको अन्याय अत्याचारका विरुद्ध आवाज उठाउने उद्देश्यले संस्थापक सभापति पद्म बहादुर गुरुङले गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) नामक संस्था दर्ता गर्नुभएको थियो । तर, आवश्यक साथ सहयोग नपाउँदा उहाँले यसलाई आफ्नै ढङ्गले चलाइ रहनु भएको थियो । 

जब २०५३ सालमा उहाँ लगायत अन्य भर्खरका सात आठ जना युवा साथीहरू पेन्सन आउनु भयो त्यस बेला पद्म बहादुर गुरुङले उहाँलाई भेटेर तपाईँ जस्तो युवा साथीहरूले गोर्खाहरू विरुद्ध भएको यो अन्याय अत्याचारमा आवाज नउठाए कसले उठाउँछ भनेर सम्झाउनु भयो ।  तर, बच्चा बच्ची पढाउन दोस्रो करियरका रुपमा लिइएको ब्रुनाई जान उहाँ तयार हुनुहुन्थ्यो । उहाँको भिसा समेत आइसकेको थियो । 

उहाँले आमालाई ब्रिटिस गोर्खामाथि भएको अन्यायका सम्बन्धमा आवाज उठाउनका लागि पद्म बहादुर गुरुङले गर्नुभएको आह्वानका सन्दर्भमा कुरा राख्नुभयो । 

अनि आमाले बुवाको पनि केही पेन्सन आउँछ, बस्न घर छँदै छ अनि यत्रो पन्ध्र वर्ष हामीदेखि अलग भएर काम गरिसकिस् अब तेरो छोराछोरीलाई पढाउने काम हामी गरौँला तँ आन्दोलनमा लाग भनेपछि उहाँ ढुक्क भएर गेसोको आन्दोलनमा लाग्नु भएको हो । त्यसपछि उहाँले ब्रुनाईका लागि आएको भिसा समेत परित्याग गर्नुभयो । 

उहाँहरू गेसोको आन्दोलनमा लागिसकेपछि पच्चीस सदस्यीय एउटा कमिटी गठन भयो । यसले देश भरी कार्यक्रम चलायो । र, बाउन्न जिल्लामा जिल्ला कमिटी पनि गठन गर्ने काम गर्‍यो । 

बेलायतका लागि हरेक लडाइको अग्र मोर्चामा रहेर बेलायतलाई, सुरक्षित र समुन्नत बनाउन लडेको गोर्खा सैनिकलाई तलब भत्ता देखि पेन्सन लगायत खाने लाउने सुविधासम्ममा जुन अन्याय विभेद भएको छ त्यसका बारेमा हामीले आवाज नउठाए कसले आवाज उठाउँछ भनेर सबै भूतपूर्व गोर्खा सैनिकलाई सम्झाउने काम भएपछि आन्दोलनले एकै पटक विशाल रूप लियो उहाँ भन्नुहुन्छ । 

२०५३ साल फागुन १९ गते उहाँहरूले ‘काठमाडौँ जाऊँ अधिकारका लागि लडौँ’ भन्ने नाराका साथ काठमाण्डौमा शक्ति प्रदर्शन समेत गर्नुभयो । बिसौँ हजारको त्यो आन्दोलन यति अनुशासित र संयमित थियो कि काठमाण्डौका कुनै एउटा भौतिक संरचनामा पनि आँच आएन, उहाँ भन्नुहुन्छ । 

त्यस बेला मुलुकको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । उहाँले आफ्नो उत्कट चाहना हुँदा हुँदै उपस्थित हुन नसकेको पत्र पठाउनु भयो । मनमोहन अधिकारीदेखि सूर्यबहादुर थापासम्मका नेताको उपस्थिति रह्यो उहाँ भन्नुहुन्छ ।  त्यसपछि २०५५ सालमा परराष्ट्र मन्त्रालय अन्तर्गत एउटा छानबिन समिति गठन भयो । र, यो राष्ट्रिय आन्दोलन हो भन्ने कुरा प्रमाणित गराउन सकियो, उहाँ भन्नुहुन्छ । सडक, संसद्, अदालत सबैतिर उहाँहरू पुग्नु भयो । तर, त्यसले खास सफलता पाउन सकेन । 

त्यसपछि उहाँहरूलाई लाग्यो विश्व शान्ति, मानव अधिकार, प्रजातन्त्र र स्वतन्त्रता लागि जसका तर्फबाट लँडाई लडियो अनि जसले गोर्खाहरूलाई विभेद गरेको छ उसकै देशमा यो आन्दोलन गर्नुपर्छ ।  

गेसोको यो आन्दोलनमा अन्य थुप्रै साना सङ्गठनहरू पनि सहकार्यमा आएका छन् । गेसो नेतृत्वमा एउटा प्राविधिक समिति गठन भएर तेह्र बुँदे प्रतिवेदन तयार गर्ने काम पनि भएको छ । त्यो प्रतिवेदन अहिले दुवै देशको सरकारको हातमा छ । यसमा दुवै देशको सरकारका बिच उच्च स्तरीय वार्ता कमिटी तयार भएर यो समस्याको समाधान हुनुपर्छ भन्ने गेसोको माग रहेको उहाँ बताउनुहुन्छ । 

भिसीको इतिहास 

जर्मन नाजीहरूले तयारीका साथ बेलायतमाथि आक्रमण गर्दा हजारौँ ब्रिटिस गोर्खा लगायत अन्य सैनिक हताहत भए । तर, प्रथम भिसी कुलवीर थापाले भने सँगै लडिरहेका आफ्ना साथीलाई बोक्दै सुरक्षित ठाउँमा राख्ने अनि फेरि जाने गर्दै गर्दा जर्मनहरू पनि अचम्ममा परे । एक पटक होइन, दुई पटक होइन तीन तीन पटकसम्म पनि गोली हान्दा पनि नलाग्ने यो कस्तो अद्भुत सैनिक रैछ । अब युद्ध विराम गरी यसलाई समातेर हेर्नु पर्‍यो भनेर युद्ध विराम गरेर उहाँलाई बन्दी गराएर सोधपुछ गरे छन् । 

अनि यस्तो मान्छेलाई सम्मान गर्नुपर्छ भनेर जर्मनहरूले सम्मान गर्न लागेको चाल पाएर बाठो बेलायतले यो त हाम्रो सैनिक हो हामीले सम्मान गर्ने हो भनेर ‘भिक्टोरिया क्रस’ प्रदान गरेको उहाँले बताउनु भयो । यस्ता भिसी प्राप्त गर्ने हालसम्म तेह्र जना नेपाली रहेको पनि उहाँले बताउनु भयो । 

यी तेह्र जनाले कोठामा बसेर त अवश्य नै भिसी प्राप्त गर्नुभएको होइन होला ? बहादुरीका साथ लडेर नै प्राप्त गर्नुभएको हुँदा यसको मूल्याङ्कन खोइ ? हाम्रो प्रश्न र आन्दोलन पनि यही नै हो  । र, अब बेलायतले गोर्खाहरूलाई कुनै पनि विभेद गर्न पाउँदैन र यसको अन्त्य हुनुपर्छ भन्ने उहाँहरूको आन्दोलन र निष्कर्ष हो, उहाँ भन्नुहुन्छ ।  यसरी लड्ने गोर्खाहरू नेपाली थिए । तर, नेपालीले भने गोर्खालाई केवल लाहुरेको रुपमा बुझेकोमा उहाँको असन्तुष्टि समेत रहेको छ । 

साथै गोर्खाहरूको यो इतिहास र बलिदानका बारेमा पाठ्य पुस्तकमा समेत समावेश हुनुपर्ने उहाँको भनाई छ । किनकि यसरी एउटा माध्यमबाट मात्र भनिरहँदा भनुन्जेल मात्र सम्झिने हुँदो रहेछ उहाँ भन्नुहुन्छ । साथै गोर्खाहरूको इतिहास झल्किने सङ्ग्रहालय निर्माणका लागि पनि सरकारले उपयुक्त स्थान प्रदान गरोस् भन्ने उहाँको माग तथा चाहना रहेको बताउनुहुन्छ, उहाँ । 

साथै गोर्खाहरूसँग रहेको सीप, श्रम र इमान्दारीताको उपयोगका लागि सरकारले निश्चित क्षेत्र स्थान छुट्टाइदिने हो भने उद्योग कलकारखाना खोलेर खाडी मुलुकमा जाने कामदारलाई यहीँ नै रोजगारी दिन सकिने पनि बताउनुहुन्छ उहाँ । 

सङ्घसंस्थामा संलग्नता 

उहाँ गेसो बाहेक किराँत राई यायोक्खाको विशिष्ट संरक्षक सदस्यका साथै अन्य थुप्रै सङ्घसंस्थामा संलग्न हुनुहुन्छ । साथै विभिन्न संघसंस्थाहरुबाट सम्मानित रहेको पनि उहाँले बताउनु भयो । 

अन्त्यमा 

एउटा इमानदार प्रयास जारी राख्ने हो भने सामान्य ठानिएको एउटा मानिसले धेरै ठुलो ठुलो काम पनि गर्न सक्छ भन्ने कुराको शिक्षा लिन सकिन्छ उहाँको यस जीवन कथाबाट ।