आमाको हाँसो र बाबाको याद

केही बिर्सेजस्तो, केही सम्झेजस्तो, भोक र तिर्खा बेस्सरी एकैपल्ट लागेजस्तो । घरी टन्न अघाएजस्तो । अरु दिनभन्दा भिन्दै खाले कस्तो कस्तो अनौठो छट्पटी महसुस भइरहेको छ, मनमा । दुई दिनदेखि म बिदामा छु । बाहिर गएर गर्नुपर्ने कुनै विशेष काम नभए पनि घरका सानातिना कामहरू भने प्रसस्त छन् तर ती काम गर्न अल्छी लागिरहेको छ । हिजो साँझ भुइँतलामा बस्ने रकी बाबुको जन्मदिन मज्जैले मनाएर अबेर मात्र सुतेकी थिएँ । सायद, त्यसैको असर पो हो कि ? मान्छेको शरीर न हो आमाको गर्भमा आएदेखि अदृश्य गन्तव्यतिरको यात्रातर्फ नलागेसम्म केही न केही भइनै रहन्छ ।

सोचे अनुसारका कुनै पनि कामहरू भइरहेका छैनन्, हिजोआज । गर्दै गरेका कामहरू पनि अधुरै छाडेर अरु अरु कामहरू गर्नुपर्ने बाध्यता आइरहेका छन् । म लेखपढ गर्न रुचाउने मान्छे, अन्य काम र व्यवहारले गर्दा त्यो पनि भ्याएकी छैनँ । यसैले पनि होला एक प्रकारको छट्पटी मनमा उत्पन्न भइरहेको । छट्पटी अरु बढेपछि मन भुलाउन फेसबुक खोल्छु । फेसबुकभरि सेलिब्रिटीहरूका बिहेका तस्बिरै तस्बिर छन् । कतै सम्बन्धविच्छेद र  झगडाका समाचार ! कतै बलात्कार र त्यसपछि हत्या, भ्रष्टाचार, सुनकाण्ड के के हो के के !  कुनै राम्रा समाचार पाउँदिनँ । फेसबुक बन्द गरेर एक छिन् मौन हुन्छु ।   

हिजो दिउँसो ठुलो छोरा तुम्साङ हङ्गकङ्ग गयो । उसलाई एअरपोर्टसम्म पुर्‍याएर घरमै आएर बसेँ । छोराको साथमा नरेन्द्र भेना पनि जानुभएको थियो । हिजै साँझ दिदी र अन्तरे काका नेपालबाट आउँदै हुनुहुन्थ्यो । सोचेँ, विजयजीको आज नाइट ड्युटी भएकोले साँझ उहाँहरूलाई लिन जाने गाडी पाइँदैन होला भनेर अहिले नै हामीसँग एयरपोर्ट हिँडेको होला तर होइन रहेछ । भेना त बिदा भएकोले त्यतिकै टहल्न पो हिँड्नु भएको रहेछ ।

फर्किंदा हामीसँगै आएको देखेर मैले ‘दिदी र काकालाई लिन आउनुभएको होइन र भेना ?’ सोधेँ । ‘होइन, तिनीहरू आफैँ आइहाल्छन् नि ! के लिन आउनु पर्‍यो र !’ पो भन्नुहन्छ भेना त । हुन पनि भेना गाडी चलाउनु हुन्नथ्यो । बस चढेर लिन आउनु उस्तै डबल खर्च हो भन्ने लाग्यो । उहाँ मेरी जेठी ठुलीआमाको जेठा ज्वाईं हुनुहुन्छ । एक महिनाअघि दिदी आफ्नो अन्तरे देवरसँग नेपाल जानु भएको थियो । जेठी ठुलीआमाकी छोरीलाई मेरै माइती गाउँमा ल्याएकाले गाउँले साइनोअनुसार म भेनालाई भेना र उहाँका भाइहरूलाई काका भन्ने गर्छु ।

कजना साथीले परीक्षाको रिजल्ट आएको कागज हातमा हल्लाउँदै आएर नाङ्लोमा चामल केलाइरहेकी आमालाई ‘आमा ! आमा ! म पास भएँ नि, मेरो रोल नम्बर दुई आयो म सेकन्ड भएँ’ भन्दै सुनाएछ । त्यो सुनेर खुशी हुनुको साटो उल्टै झटारो टिपेर हान्दै भनिछन् रे आमाले, ‘थुइक्क ! तँलाई घरको काम गर्न नलाई हरेक दिन पढ्न पठाएको दुई नम्बर ल्याउनलाई पो हो ? थोरैमा पनि १५/२० नम्बर ल्याउनु पर्दैन ?’ ती साथीलाई हामी पछिसम्म गिज्याउँथ्यौँ त्यो कुरा निकालेर । 

जीवनमा आफन्तहरू आउने जाने क्रम जारी छ । लाग्छ, सबैका जिन्दगीका यात्राहरू तन्किरहेकै छन् । अस्तिको दिन मात्रै हाङ्मारानी माइजूलाई लिन कृष्ण फेम्बू मामा र विजयजी एयरपोर्ट आउनुभएको थियो । आज दिदी र काका आउने र छोरा जाने । 

हिजोसम्म मेरा हातका औँला समातेर टुकुटुकु हिँड्ने छोराहरू आज एक्लै नेपाल र हङ्गकङ्ग ओहोर दोहोर गर्ने भइसकेका छन् । विस्तारै जिन्दगीले आकार त बदल्दो नै रहेछ । चालै नपाइकन बद्लिएका परिवर्तनहरूले जीवनमा खुशी पनि थपिरहेकै हुन्छन् । मान्छे मात्र एक यस्तो प्राणी हो, जसलाई दुःख मन पर्दैन तर पनि दुःख भोग गरिरहन्छ र एकदिन सुख आउने आशा पनि गरिरहन्छ । आखिर म पनि त त्यही प्राणी हुँ । निराशा र आशा दुवै छन् मभित्र पनि ।

लाग्छ, खुशी नै जीवनको ठुलो सम्पत्ति हो । भौतिक सम्पत्ति खासै कमाउन सकिएन तर, काम गरेर दुई छाक टार्न सक्ने तागत शरीरमा भरिदिनुभकै छ माङले । भनिन्छ, आफ्नो भागमा जे जे लेख्या छ त्यो भन्दा बढी पाइँदैन र भोग्नु पनि पर्दैन । त्यसैले धेरै मनमा लालसा पाल्न छाडेकी छु । जे प्राप्त हुन्छ त्यसैमा चित्त बुझाउने गरेकी छु । 

हिजो, छोरालाई एयरपोर्ट पुर्‍याएर घर फर्केपछि, उसकोे कोठा रित्तो देखेर नरमाइलो लाग्यो । आफ्नो विस्तरा तानकतुनुक पारेर हिँड्ने उसको सानैदेखिको बानी भएकोले मैले उसको विस्तरा मिलाइदिनु परेन तर उसको कम्प्युटर छेउको कुर्सीमा लथालिङ्ग फालिराखिएका ड्युटीका भेष्ट र ज्याकेट हेङ्गरमा झुन्ड्याई दिएँ । बुढो नाइट ड्युटीबाट आएकोले आराम गरिरहनुभएको थियो । म अरु केही गर्न मन नलागेर बेकार तल माथि गरिरहेँ । रकीको जन्मदिन । अनिता किचनमा खाने कुराका परिकारहरू पकाइरहेकी थिई । उसले हामीलाई पनि खाना खाने निम्तो गरेकी थिई । अनायासै सम्झेँ, उता नेपालको पहाड गाउँसँगै भएको नाताले काका साइनो लाग्ने (खड्कसम्सेर)ले गाउँमा बितेकी भाउजूको नुनतेल चोखिने निम्तोमा बोलाउनुभएको कुरा । भुसुक्कै बिर्सेछु मैले त । घडी हेरेँ, निकै अबेर भइसकेको थियो । नजाने निर्णय गर्न करै लाग्यो । किनकि त्यहाँ लैजानलाई केही किनमेल नै गर्न भ्याएकी थिइनँ । कहिलेकाहीँ यस्तै हुन्छ ।  

अचेल बेलायतमा पनि नेपालीहरू धेरै भएर होला जताततै कार्यक्रम हुन्छन् । हरेक हप्ता मान्छे अति व्यस्त । मान्छेले काम, घर, छरछिमेकदेखि लिएर संघसंस्था आदि कामका लागि समाज सेवालाई समय निकाल्नु पर्छ । यति व्यस्त हुँदाहुँदै पनि माथि भने जस्तै कहीँ कतै नयाँ, नयाँ संघसंस्था खोल्न पनि पछि हटेका छैनन् मान्छेहरू । गएको हप्ता मात्र आसफोर्ड केन्टतिर बिल्कुलै नयाँ जोश जाँगरका साथ एक हुल युवा पुस्ताहरूले एउटा नयाँ संस्था खोले । निम्तोपत्र त मलाई पनि नआएको होइन तर जान मात्र नभ्याएको हो । युवापुस्तालाई उत्साहित गर्नुपर्छ भन्ने सोचेर शुभकामना दिएँ । 

पुस्ता हस्तान्तरणकै सिलसिलामा धेरैले धेरै जातीय संघसङ्गठन खोलेका छन् तर हिजो हामी हिँडेजस्तो आजका नानीहरू हिँड्दैनन् पुर्खाको पाइला पछ्याएर । बरु उनीहरूले समय र समयको माग अनुसार पाइला मोडेका छन् । चढेका छन् परिवर्तनका हिमाल पहाड नयाँ युग र प्रविधिलाई पछ्याउँदै । अब हामीले यी सबै कुरालाई समयको माग ठानी स्वीकार्नुको विकल्प रहेन । रकी र अनिता पनि त्यस्तै युवा जोडी हुन् । नाताले श्रीमान्–श्रीमती हुन् उनीहरू तर आफ्नै पारामा बिन्दास जीवन जिउँछन्, पालैपालो बर्थ डे मनाउँछन् । अस्ति भर्खर मात्र मेरो छोरासँग मिलेर, मेरो पनि सप्राइज जन्मदिन मनाइदिएका थिए उनीहरूले ।

कामबाट थाकेर आएको बेला विभिन्न किसिमका स्वादिष्ट भोजनसँगका साथ बर्थ डे केक देख्दा दसैँझैँ लागेको थियो । केक नै काटेर जन्मदिन जीवनमै पहिलोपल्ट मनाइएको थियो मेरो । मलाई थाहा छ, त्यस्तो आइडिया अनिता भतिजीको थियो । त्यसबेला पहिलोपल्ट छोरीको अभाव महसूस भएको थियो मलाई । विदेश आएका युवा पुस्ताले उहिल्यैको हाम्रै जस्तो जीवन जिउँछ्न् अथवा जिउनु पर्छ भन्न मिल्दैन । देश अनुसारको भेष या चलन चल्तीमा चल्नु करै लाग्छ उनीहरूलाई पनि । हामी यति टाढा आइसकेपछि, हाम्रो त्यो अतीततिर नफर्केर अहिले हाम्रो वर्तमानमा जे छ त्यो स्वीकार्दै अघि बढौँ भन्छन् आजका युवाहरू । त्यसैले अब हाम्रो जमानालाई इतिहास र उनीहरूको जमानालाई वर्तमान सम्झेर स्वीकार्नु पर्छ अथवा त्यसो गर्नु नै बुद्धिमानी हुन्छ ।

हामी हुर्केका बढेका ती वनपाखा र गाउँबेँसीँतिर फर्कंदैनन् अब हाम्रा सन्तती । त्यो जमाना त्यसै त्यसै रमाइलो थियो । आज सम्झेँर मात्र पनि मन रमाउँछ । आहा ! कति रमाइला थिए ती दिनहरू । दिनभर उकालीओराली गरेर पनि रमाइरहेका हुन्थ्यौँ हामी, आफ्नै वनपाखाहरूमा । घरको काम गर्ने र वस्तु हेर्ने मान्छे नहुँदा हप्तामा दुई दिन पनि गइँदैन्थ्यो स्कूल तैपनि परीक्षा लेख्न बसिन्थ्यो । स्कूलमा विद्यार्थी सङ्ख्या बढाउनकै लागि मात्र पनि कक्षा चढाउँथे शिक्षकहरूले ।

यस्तैमा हाम्रै गाउँतिरको एउटा रमाइलो घटना सम्झन पुग्छु । एकजना साथीले परीक्षाको रिजल्ट आएको कागज हातमा हल्लाउँदै आएर नाङ्लोमा चामल केलाइरहेकी आमालाई ‘आमा ! आमा ! म पास भएँ नि, मेरो रोल नम्बर दुई आयो म सेकन्ड भएँ’ भन्दै सुनाएछ । त्यो सुनेर खुशी हुनुको साटो उल्टै झटारो टिपेर हान्दै भनिछन् रे आमाले, ‘थुइक्क ! तँलाई घरको काम गर्न नलाई हरेक दिन पढ्न पठाएको दुई नम्बर ल्याउनलाई पो हो ? थोरैमा पनि १५/२० नम्बर ल्याउनु पर्दैन ?’ ती साथीलाई हामी पछिसम्म गिज्याउँथ्यौँ त्यो कुरा निकालेर । 

त्यस्ता आमाबाबाले पनि कति राम्रो संस्कार दिएर हुर्काए हामीलाई । इमान्दारिता बाहेक केही थिएन हामीलाई दिन सायद उहाँहरूसँग । कहिलेकाहीँ घोरिएर सम्झिन्छु, हाम्रा आमा बोजुहरूले ती जमानाहरू कसरी बिताए होलान् ? मेरै पाँचओटी बोजुहरू थिए रे ! ती मध्ये माइली बोजुका सन्तान हामी, कान्छी बोजुपट्टि फुपू र काकाहरू हुनु हुन्छन् । दुई बहिनी छोरी र एकभाइ छोरोसहित जेठी श्रीमती दोस्रो विश्वयुद्धमा गुमाउनुभएको कुरो बाजेले बेलाबखत सुनाउनु हुन्थ्यो । त्यसपछिका चारओटी बोजुहरू एउटै घरमा मिलेर बस्थे रे !

अहिले सुन्दा उखान जस्तो लाग्ने ती यथार्थ सायद बोजुहरूको रहर नभएर बाध्यता थियो । एक जना बोजु सारै कलिहा थिइन् रे ! उनलाई बाजेले कुटेर खेदाइपठाएपछि फर्केर आइनन् भन्थे । परिवार गुमाएर जितेको लडाईंले जुराइदिएका श्रीमतीहरू भन्नु हुन्थ्यो रेला गर्दा बाजेले बोजुहरूलाई । लडाईंबाट फर्केपछि धेरै महिना बाजे पागलजस्तो भएर हिँडेको कुराहरू सुनाउनु हुन्थ्यो । अब म निःसन्तान हुने भएँ भनेर पछि धेरै सन्तान जन्माउन बहुविवाह गरेको कुरो पनि गाउँहरूले गर्थे । बोजुहरू एकै घरमा मिलेर बस्न बाध्य भए जस्तै बाजेको पनि आफ्नै बाध्यता थिएछ भन्ने लाग्थ्यो ।

त्यसरी लडाईंको मैदानबाट रित्तोहात फर्केपछि हाम्रो बाजेले बोजुहरूसँग बिहे नगरेको भए आज म पनि हुन्थिनँ सायद ! हाम्रो माइली बोजु बितेपछि हामी सबै कान्छी बोजुसँग बस्थ्यौँ, घरमा हरेक साँझ बिहान अठार जनाको भान्सा पाक्थ्यो । मकैको नै भात भएपनि खाना सारै स्वादिष्ट पकाउनु हुन्थ्यो कान्छी बोजु । घरको मेलोमेसो खेतालाबिना घरकै जनले गरेर भ्याउँथे । त्यो समय यति सुन्दर लाग्थ्यो कि साल महिना र दिन रात कहिले बित्थ्यो थाहै हुन्न थियो ।  

श्रीमानको कमीकमजोरीलाई आफ्नो विश्वासको आँचलले छोपेर, हिमालले हिउँ अड्याएर बसेझैँ आस्थाको चुलीमा परिवारको मान मर्यादा अड्याएर बस्ने ती मेरी बोजुहरूप्रति आज पनि ममा मनैदेखि सम्मान भाव जागृत हुन्छ । उनीहरू अनपढ थिए, श्रीमान् आधा आधा बाँडेर पनि आफैँमा सफल र पूर्ण थिए । अहिले जमाना फरक छ,  हामी पढे लेखेका छौँ । अगाडि बढिरहेका छौँ, न्याय अन्याय बुझ्छौँ । हकअधिकार खोज्न सक्छौँ, जसरी जिउन मन लाग्छ त्यसै गरी जिउन सक्छौँ । समय यसरी पनि बदलिँदो रहेछ । 

विस्तारै विस्तारै बदलिइरहेको समयलाई छिट्टो छिट्टो पछ्याइरहेका छौँ । हरेक काम कम्प्युटरजस्तै फास्ट ट्रयाकमा गर्न चाहन्छौँ । उहिल्यै सानैमा बाबुआमाको रोजाइमा हुन्थ्यो बिहे । बिहेपछि प्रेम अनि छोराछोरी । अहिले परिपक्क भइसकेर आफ्नै रोजाइमा बिहे । बिहेअघि प्रेम अनि बिहेपछि डिभोर्स । यो हेर्दा लाग्छ, समयले निक्कै धेरै नै परिक्रमा गरिसकेछ हामीलाई । पहिलेका आमा बोजुहरूले आफ्ना मनमा उम्लिरहेका विद्रोह हाम्रो छातीमा मन्तर जपेर सारे जसरी हामी विद्रोही बन्दैछौँ । दिनानुदिन हाम्रो सहने शक्ति घटेर गएको छ । विद्रोहीपन बढ्दै छ ।

हामी सोच्दैनौ हामीले आफ्नो हकअधिकारका निम्ति गरेका विद्रोहको रागमा कति सम्बन्धहरू जालेर खरानी हुन्छन् । आफ्नै स्वार्थपूर्तिको लागि कति छोराछोरीका भविश्य अन्योलमा पार्छौं ? कुन कुन मोडमा के के तोड्छौँ थाहा छैन ? भविष्य निर्माणमा माया होइन बिष पो घोल्दै छौँ कि ? सम्बन्धका भित्ताहरू मायाले टाल्न छाडी झन् ठुला ठुला प्वाल पो पार्दै छौँ कि ! 

नयाँ जमानामा रमाउँदा रमाउँदै हाम्रो भोलि नै अनिश्चित बनाइसकेका छौँ जस्तो पनि लाग्छ । किनकि अविश्वासको ज्वालामा सम्बन्धहरू जलाएर सडकमा उत्रन सक्ने हिम्मत बटुलिरहेका छौँ हामी । विद्रोहमा परिवर्तन खोज्छौँ तर त्यो विद्रोहले ल्याएको परिवर्तनको परिणामप्रति चिन्तित छैनौँ हामी । सोच्दैनौ विद्रोहले परिवर्तन होइन विनास मात्र निम्त्याउँछ भनेर । हुन त सोच्ने फुर्सद नै पनि कहाँ पो छ र यो व्यस्त संसारमा, जमाना कम्पुटरको, काम पनि कम्पुटर जस्तै छिट्टो छिट्टो हुने । हुन त, म पनि यही जमानामा आधा जीवन बिताइरहेकी एक आमा, एक छोरी, एक बुहारी र पत्नी हुँ !

अहिले मेरा आमाबाबाले विद्रोह गर्नु हुन्न । बरु जस्तोसुकै दुःख पनि सहनु पर्छ । कोही सानो हुँदैन, हरेक मान्छेको समय आउँछ, पालो आउँछ पर्खनु पर्छ भन्थे । त्यसकारण पनि होला मैले यही जमानामा बाँचेर पनि जिन्दगीसँग कहिल्यै विद्रोह गरिनँ । परिवर्तनको लागि विद्रोह गर्नुपर्छ भन्छन् मेरै साथीहरू तर म चुपचाप आफ्ना दिन र रातहरू छामिरहन्छु छमछमछुमछुम । छामेरै भेट्छु छोराछोरीको न्यानो माया, श्रीमान्को प्रेम, बाउमाइतीका आशीर्वाद । आमाबाबाका दुई जोडी आँखाहरूले हेर्न चाहे जस्तै सुखद् र सफल दाम्पत्य जीवन, यो भन्दा धेरै के चाहियो र मलाई जीवनमा ? 

हुन त मैले एकादेशको कथा सुनाउने मेरो प्रिय बाबा, एकादेशमै आएर जिन्दगीलाई छाम्दाछाम्दै गत साल गुमाएँ । बाबा गुमाए पछि हाम्रो परिवारको नक्सा नै बदलियो । एउटा विस्तरा, एउटा सिरक र एउटा सिरानी मात्र खाली भएन हाम्रो जिन्दगीको एउटा अध्याय नै समाप्त भएझैँ लाग्यो । बाबाको न्यानो माया, साथ र शितल छहारीसँगै आडभरोशाको छानो नै उजाडियो । सबैका सामु आमा एकपाखे भइन् । एकल महिला भत्ता र बाबाको आधा पेन्सन थाप्ने पनि भइन् । बेला बेला पेन्सनवाल्नी बुढी भनेर आमालाई गिज्याउँछौँ हामी । ‘रेला गर्छ यिनारू पनि’ आमा मज्जाले हाँस्नु हुन्छ । आमाको त्यही हाँसोले नै सहजै बिर्साइदिन्छ हामीलाई बाबाको गाढा याद !