परिणामको अपेक्षारहित निष्काम कर्म कि  सम्पूर्ण अपेक्षासहितको कर्मको परिणाम ?
फर्कलान् र ती दिनहरू
पुष २५, २०७७

यो संस्मरण लेख्न बस्दा मनमा धेरै कुराहरू गुजमुजिएका छन् । किन यस्तो भएको हो, तीमध्ये कतिको मलाई अर्थ पनि थाहा छैन, कारण पनि थाहा छैन र पनि मैले भोगेको छु र त्यसको परिणाम मेरो सोचाइभन्दा पनि कता हो कता फरक पाएँ । कुनै परिणाम सकारात्मक र कुनै परिणाम नकारात्मक पाएको छु । कति पटक प्रयास गर्दा पनि नभएका कामहरू प्रयासै नगर्दा पनि अचानक पूरा भएको छ र नसोचेका कामहरू या परिणामहरू आफैँ मेरा काखमा आइपुगेका अनुभवहरू पनि छन् ।

चाहे मेरो जापान यात्राको काकताली होस् या संयुक्त राष्ट्र सङ्घमा नेपालको प्रतिनिधित्व होस् या अपाङ्गतासम्बन्धी तालिम या अन्तर्राष्ट्रिय सम्मेलनमा जापानको ओकिनाबा ,  न्युजिल्यान्डको अकल्यान्ड र हङकङमा भएको विश्व पुनर्स्थापनासम्बन्धी रिह्याबिलिटेसन इन्टरनेसनलको महाधिवेशनमा प्रतिनिधित्व गर्ने मौकाका लागि होस् । फगत तर अनपेक्षित तथा अचिन्त्य रुपमा मेरो सहभागिता थियो । ती कर्मले भन्दा, प्रयासले भन्दा काकतालीले प्राप्त वैधानिक अवसरहरू थिए ।   

त्यस्तै अवसरको बारेमा अघिल्ला संस्मरणहरूमा सम्झेको थिएँ । संयुक्त राष्ट्र सङ्घमा मेरो प्रतिनिधित्वका बारेमा मेरा निजी धारणा केही थिएनन् तर के चाहिँ बुझ्ने मौका मिल्यो भने विश्व राजनीतिक मञ्चमा भारतले जहिले पनि नेपालको सहयोग माग्ने तर आफूचाहिँ नेपालको बारेमा तटस्थ बस्ने या कुनै सरोकार नराख्ने रहेछ । मेरो पत्रकारिताको अनुभव र त्यहाँ अनुभूत गरेको कुराले के चाहिँ मेरो मानसपटलमा छाप पर्‍यो भने नेपालका बारेमा संयुक्त राष्ट्र सङ्घमा शान्ति सेनाका कारणले अत्यन्त सम्मान छ र त नेपालको महत्वलाई जो महासचिव आए पनि नेपाली स्थायी प्रतिनिधिलाई इज्जतसाथ बोलाएर छलफल गर्ने रहेछन् ।

नेपालको असंलग्न छविका कारणले र चीनले नेपाललाई गर्ने विश्वासका कारणले पनि भारतको सन्देह अनि अमेरिका र बेलायत भारतीय आँखाले नेपाललाई हेर्न रुचाउने भएकाले शक्ति राष्ट्रहरूमा चीन र फ्रान्स नेपालका अत्यन्त हितैषी अनि रुस भारतको आँखाले पनि हेर्ने तर कतिपय कुरामा नेपालप्रति विश्वास नै गर्दो रहेछ । युरोपीय देशहरूको खासै वास्ता नभए पनि नेपालको इसाई धर्मप्रतिको भावनाले अलि पन्छिन खोजेका हुन् कि भन्ने पनि देखियो तर जब नेपाल धर्म निरपेक्ष देशको रुपमा  अन्तरिम संविधानले नै तोक्यो, त्यसले नयाँ विश्वास भने नेपालप्रति देखियो होला । हुन त अहिले युरोपका कतिपय देशहरू नै अरु देशहरूलाई इसाई करण गर्नुभन्दा आफ्नै देशमा समावेशी धार्मिक परम्परालाई संस्कृतिको रुपमा अभ्यास गर्न थालेको बुझिन्छ जस्तो कि नर्वे पहिले इसाई करणमा धेरै लागेको देश थियो । तर सन् २०१२ पछि बिस्तारै सबै धर्म समावेशी नीतिको सामाजिक न्यायको परिपाटीमा लागेको देखिन्छ । अरु स्क्यान्डेनिभेयिन देशहरूको अवस्था पनि त्यस्तै देखिन्छ । बरु होली वाइनवाला देशको रुपमा प्रख्यात दक्षिण कोरिया र नव इसाई करणमा लागेका जापानी चर्चहरूको वर्चस्व विश्वमा बढ्दै गएको छ । जबकि दक्षिण कोरिया र जापानका लागि नेपाल पवित्र बुद्ध भूमि हो, हामी सांस्कृतिक रुपमा एक अर्कालाई हाम्रै अथर्व वेदका ऋचामा उनीहरूका संस्कृतिको विकास क्रम मानेको छौँ । 

मलाई किन हो धर्मप्रति त्यस्तो विश्वास पनि छैन अनि अविश्वास पनि छैन । विश्वास छैन किनभने धर्मप्रतिको विश्वासमा केही पुराना अनुभवहरू जुन प्रमाणित हुन सक्दैनन् तर मान्नुबाहेक कुनै आधार हुँदैन । अविश्वास नुहुनको कारण हो विश्वास नगर्दा पनि करोडौँ मानिसहरू त्यसका के बुझेर हो , त्यसलाई आत्मसात् गरिरहेका छन्, त्यसैमा जीवन न्यौछावर गरेका छन् । 

अहिले पूर्वीय संस्कृतिको प्रचार गर्नेमा दुई मुख्य समूहहरू पश्चिम र  युरोपमा अग्रणी रहेछन् । त्यसमा बुद्ध धर्मको पनि सँगै प्रसार भएकै हुँदो रहेछ ।' हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे' भन्ने मूल मन्त्र गाउँदै नाच्दै अमेरिकाको न्युयोर्क सहितका र युरोपका ठुला साना सहरमा पूर्वीय संस्कृति फैलाउने इस्कोन समूह र महर्षि महेश योगीको आध्यात्मिक समूहले काम गरेका रहेछन् । संयुक्त राष्ट्रसङ्घ जतिसुकै धर्म निरपेक्ष संस्था मान्दामान्दै पनि इसाई धर्मको बढी नै प्रभावमा देखिन्छ । यसको कारण के पनि हुनसक्छ भने शक्ति राष्ट्रहरूमध्ये चीन समाजवादी भएकाले धर्मप्रति निरपेक्ष रहँदो रहेछ अनि अरु चार ओटा देशहरूमा इसा धर्मकै वर्चस्व देखिन्छ ।

त्यसैले अहिलेसम्मका महासचिवहरूमा उ थान्तबाहेक सबै इसाईहरू नै छन् र सामान्यतया संयुक्त राज्य अमेरिकाको भित्री सहयोग विना कोही पनि महासचिव हुन नसक्ने रसायन देखिँदो रहेछ । यसोहुनुमा अफ्रिका, युरोप, अस्ट्रेलिया, एसिया र अमेरिकाका देशहरूबाट गरिने प्रतिनिधित्वमा इसाई देशहरूको ठुलो जमात छ । हुन त मध्यपूर्व र केही अफ्रिकाका देशहरूमा इस्लाम धर्मको वर्चस्व भए पनि मलाई लाग्यो , राष्ट्र सङ्घमा इसाई धर्मकै वर्चस्व छ जबकि त्यो संस्था भनेको धार्मिक निरपेक्षता र सबै समान मान्ने साझा घर हो विश्वको । 

न्युयोर्क साँच्चै विश्व राजधानी नै रहेछ संसारका मानिसहरूलाई आफैँमा समेटेर रङ्गिन दुनियाँमा बाँचेको । विश्वको सांस्कृतिक, आर्थिक र सामाजिक समस्याहरूको समाधान लिएर बसेको अमेरिकाको यथार्थको वास्तविक अनि संयुक्त राष्ट्र सङ्घको वैश्विक राजधानी । मैले त्यहाँको खाना पनि चाखेँ तर भेजवाला, अनि त्यहाँका नेपालीहरूको जीवनलाई पनि नजिकैबाट नियालेँ । अनि एक दिन गएँ कोलम्बिया विश्व विद्यालय साथीहरूसँग । हाम्रो मुख्य पथप्रदर्शक हुनुहुन्थ्यो तत्कालीन अवस्थामा कोलम्बिया विश्व विद्यालयमा शिक्षाको प्राध्यापक डाक्टर तारा निरौला । उहाँले केही दिन पहिले मात्र अमेरिकाको उग्र विरोधी इरानी राष्ट्रपति अहमेदिनिजादले भाषण गरेको पनि सुनाउनु भयो र कोलम्बिया विश्व विद्यालय अमेरिकामा मात्र होइन अहिले संसारलाई प्रगतिशील समाजको स्थापनाका लागि अग्रणी संस्थाको रुपमा पहिचान बनाएको छ ।

भनिँदो रहेछ, आज कोलम्बियाले जे सिकाउँछ, भोलिको विश्वको आवश्यकता त्यही हो भनेर बुझ्दा हुन्छ । कोही पनि शिक्षाप्रति चासो लिने अनुसन्धाताले त्यो विश्व विद्यालयमा अध्ययन गर्न चाहन्छ, मेरो पनि चाहना भएको कुरा जब मैले निरौला सरलाई सुनाएँ- उहाँले स्पष्ट भाषामा भन्नुभयो, हरिजी अमेरिकनहरू आफ्नो लगानीको प्रतिफल छिटै खोज्छन् र सकेसम्म अफ्रिकी महादेशमा लगानी देखाउन चाहन्छन् । हुन त मैले पनि यहीँ पढेको हो, कतिपय नेपालीहरूले पढेर गएका छन् र पढ्दै पनि छन् । एउटा प्रक्रियाबाट भर्ना हुन्छ, त्यो भनेको उनीहरूको अनलाइन सूचनामा स्पष्ट लेखेको हुन्छ ।

प्रयास गरौँ तर मैले वा कसैले भनेर तत्कालै हुने होइन । र यो कुरा अमेरिकाका सबै विश्व विद्यालयहरूको रहेछ । मेरो चाहनाचाहिँ न्युयोर्क राज्यकै कर्नेल विश्व विद्यालयमा प्रवेश परीक्षा दिने वा भर्नाका लागि प्रक्रिया पुर्‍याउनु थियो जुन काम न्युयोर्कमै हुँदै आवश्यक कागजात पठाएँ र जरुरी थियो जी आर इ को परिणाम, टोफेलको परिणाम जुन बाँकी नै थियो । पछि पठाउने शर्तमा पठाएँ । भएन , यो कुरा यहीँ छोडौँ तर त्यहाँ जान चाहेको थिएँ ठाउँ हेर्न तर के मिलेन गइएन । 

त्यो ताका नेपालमा अनमिन रहने कि हटाउने भन्ने विवाद सुरु भएको थियो । भारत चाहन्थ्यो आफ्नै देशले नेपालको समस्याको समाधान गर्नका लागि योगदान दिनसक्छ , किन चाहियो राष्ट्रसङ्घीय मिसन स्थायीरुपमा नेपालमा । आखिर नेपाली राजनीति हाम्रो हातबाट फुत्किएको थियो धेरै पहिले नै जुन अझै यथावत् छ । हामी संविधान सभाको निर्वाचनका कुरा गरिरहेका थियौँ तर कसैले त्यो कहिले गर्ने या नगर्ने भन्ने निर्णय कतै गरेर मात्र हाम्रा प्रतिनिधिहरूको छाप लगाउने रहेछन् । भयो पनि त्यस्तै, नेपालको संविधान सभाले पहिलो पटक संविधानको एउटा धारा पनि लेख्न  सकेन र आफैँ घिटीघिटी गर्दै छटपटिएर विघटन भयो, तर हामीले ४ वर्षसम्म सरकार गठन , विघटन गर्दै रह्यौँ ।

हामी कति निरीह छौँ भन्ने कुरा हाम्रा कूटनीतिज्ञहरूले जति कसले पो भोगेको होला र ? कहिले त लाग्यो मलाई हामी भकुन्डो नै हौँ आफ्ना निर्णय गर्न अक्षम । तर हाम्रा कूटनीतिज्ञहरूलाई यदि स्वतन्त्रता दिने हो भने उनीहरूले यो देशको अस्मितामाथि कुनै चोट पुर्‍याउने छैनन् भन्ने मलाई त्यो बेलाका स्थायी प्रतिनिधि मधुरमण आचार्यको समन्वयकारी भूमिकाले लागेको थियो । सायद कुनै बेला आचार्यजीले त्यो बेलाको उतार चढावका बारेमा, जेनेभास्थित स्थायी प्रतिनिधि डाक्टर दिनेश भट्टराईले लेख्नुहोला या भन्नुहोला अनि थाहा पाइएला किनभने उहाँहरुको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग निकट सम्बन्ध राखेर काम गरिरहनु भएको मैले अनुमान गरेको थिएँ । 

त्यो ताका राजदूत महामहिम मधुुरमणजीले ब्राजिलसँग आवासीय राजदूतावासको बारेमा कूटनीतिक प्रयास गरिरहनु भएको जस्तो लाग्छ । पछि भयो पनि । गिरिजाबाबुसँग मैले उताबाट आएर भेट्दा त्यस्तै कुरा गर्नु भएको थियो । मलाई मधुजीले राष्ट्र सङ्घले प्रकाशित गरेको सामाजिक न्यायको पुस्तक दिनु भएको थियो । उहाँको सदाशयताप्रति जाने सबैको कृतज्ञता नै रहेको पाएको हुँ । म प्रायशः दूतावासमा गइरहन्थेँ र राष्ट्रसङ्घीय कारबाही हेर्न गइरहन्थेँ । राष्ट्र सङ्घको साधारण सभाको मुख्य हलमा प्रत्येक देशका लागि ६ओटा स्थान हुँदा रहेछन् ।

चाहे त्यो शक्ति राष्ट्रहरू अमेरिका, चीन ,रुस, फ्रान्स, र बेलायत हुन् या नेपाल वा माइक्रोनेसिया, भानुआतु या सानो कुनै देश किन नहोस् । मत पनि एउटै हुने । ठुलो देशको पनि एक मत, सानो देशको  पनि एक मत गणना हुने । मेरो विचारमा ६ओटा स्थान हुनु भनेको कुनै पनि देशको प्रतिनिधित्वका लागि ६ स्थान होस् भनेको होला । अनि संयुक्त राष्ट्र सङ्घमा प्रयोग हुने भाषा रहेछन्—अङ्ग्रेजी, रुसी, चिनियाँ, फ्रेन्च , स्पेनिस अनि अरबी । प्रत्येक सहभागीका दिइन एअर फोनमा ६ भाषाको प्रसारण हुन्छ । कोही बोलिरहेको छ भने कुन भाषामा सुन्ने हो, त्यही भाषाको च्यानलमा सुन्न पाइँदो रहेछ । वक्ता बोलिरहेको हुन्छ, ती भाषामा अनुवाद गरेर सुनाइएको हुन्छ । ६ भाषामा बोल्न पाइयो र आजभोलि त हिन्दीमा पनि बोलेको सुनिन्छ अरु भाषामा । सायद ती भाषाको अङ्ग्रेजी अनुवाद दिइएको हुनुपर्छ । 

अङ्ग्रेजी वर्णानुक्रम अनुसार सिट मिलाइएको हुँदो रहेछ । बोल्दा पनि त्यही क्रम जस्तो लाग्यो मैले बोल्दा पनि । अनि त्यहाँ त कोही पनि पक्ष र विपक्ष त छैनन् किनभने कुनै पनि देशको घोषित शत्रु त राष्ट्र सङ्घमा शत्रुको रुपमा त प्रतिनिधित्व गरेको हुँदैन तर भारतले बोलेपछि त्यसको खण्डन पाकिस्तानले गर्नै पर्ने, पाकिस्तानले बोलेपछि भारतले विरोध गर्नै पर्ने, इजरायले बोलेपछि प्यालेस्टाइनले विरोध गरेकै हुने अनि प्यालेस्टाइनले बोलेपछि इजरायले विरोध गरेकै हुने । हुनसक्छ मैले अवलोकन गर्दाका सेसनहरूमा त्यस्तो भएको हो कि त्यस्तै हो तर मैले त्यस्तो अनुभूत गरेँ । 

संयुक्त राष्ट्रसङ्घ दिवसका दिन सांस्कृतिक कार्यक्रम गरिँदो रहेछ । सायद अरु कार्यक्रम पनि थियो होला, पक्कै पनि कूटनीतिक भेटघाट र स्थापना दिवस मनाइएको थियो होला तर मैले सांस्कृतिक कार्यक्रमको अवलोकन गरेको थिएँ । साँच्चै नै अफ्रिका महादेश संस्कृतिको धनी नै रहेछ, एसिया त छँदै थियो । मैले त्यस दिन अफ्रिकी कार्यक्रम हेरेको थिएँ हलमा । 

ठुलो पुस्तकालय रहेछ पूर्व महासचिव ड्याग ह्यामरसोल्डको नाममा । सबै सुविधा छ । त्यहीँ क्यान्टिन पनि थियो जस्तो लाग्छ सँगै । महासचिव ह्यामरसोल्डका बारेमा मैले सुनेको थिएँ, उहाँको हत्या भएको थियो । उहाँ अविवाहित नै हुनुहुन्थ्यो । एकपटक कुनै पत्रकारले महासचिव भएपछि सोध्यो रे ! महासचिवज्यू, तपाईँ अझै अविवाहित ? अनि उहाँको हाजिरी जबाफी कुरा यस्तो थियो रे ! जब म जवान थिएँ,मलाई विवाहको आवश्यकता थियो, जोडीको आवश्यकता थियो, त्यो बेलामा मसँग उसलाई पाल्ने पैसा थिएन , अनि अहिले मसँग पैसा छ तर विवाह गर्ने उमेर छैन कोही पनि फेला पर्दैनन् । यो हँस्यौली उत्तरमा कति यथार्थता थियो त्यो बेलाको  समाजको । एउटा सामाजिक ऐना । हाम्रो देशमा पनि पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईजीका बारेमा यस्तै कथा सुनिन्थ्यो - जब राजा महेन्द्रले सभामुख भएपछि शपथ ग्रहण गराए पछि लगत्तै परिचय गराउँदा महारानी रत्नसहितका भाइ भारदारहरूलाई किसानजीको परिचय गराउँदै भनेछन् - बाल ब्रह्मचारी सभामुख कृष्णप्रसाद भट्टराई । किसानजीले पनि हाजिरी जबाफी तरिकाले भन्नु भयो रे ! सरकार, बाल ब्रह्मचारी होइन कि अविवाहित मात्र हुँ । यसको यथार्थ विनोदको अर्थ जसरी लगाए पनि हुन्छ । अनि किसानजीको त्यो विनोद जबाब र ह्यामरसोल्डको त्यो विनोद जबाब । मिल्यो नि त गूढार्थ । 

संयुक्त राज्य अमेरिका गएको पनि १३ वर्ष बितिसक्यो । कति कुरा स्मृतिमा अझै छ , त्यही सम्झी सम्झी लेखेको हुँ । अरु कुरा पनि धेरै छन् , पछि कुनै बेलामा प्रसङ्गसहित लेखौँला । तर आज मेरो मनमा उठेका केही धर्म अनि भगवानका गीत अर्थात् श्रीमद्भागवत गीताका केही आफ्ना धारणा । 

मलाई किन हो धर्मप्रति त्यस्तो विश्वास पनि छैन अनि अविश्वास पनि छैन । विश्वास छैन किनभने धर्मप्रतिको विश्वासमा केही पुराना अनुभवहरू जुन प्रमाणित हुन सक्दैनन् तर मान्नुबाहेक कुनै आधार हुँदैन । अविश्वास नुहुनको कारण हो विश्वास नगर्दा पनि करोडौँ मानिसहरू त्यसका के बुझेर हो , त्यसलाई आत्मसात् गरिरहेका छन्, त्यसैमा जीवन न्यौछावर गरेका छन् । 

जब म धर्मप्रति सन्देह गर्छु र भगवानका अस्तित्वप्रति अविश्वास गर्न थाल्छु अनि कल्पना र तर्कले त्यस्तो एउटा प्रश्नमा लगेर अल्झाउँछ कि त्यसो भए यदि त्यस्तो कुनै सर्वशक्तिमान् कोही छैन, सम्पादन गर्ने छैन भने यो ब्रह्माण्डको अनुशासन कसरी र कसले गरिरहेको छ त ? अनि भौतिकरुपमा अर्थ लगाउन थाल्छु , त्यसपछि झन् अर्को समस्या आउँछ जसले त्यो अर्थको नेतृत्व गरेका छन् ती सबै त्यही सर्वशक्तिमान्को लीलाको बखान गरिरहेका पाइन्छन् र नसुल्झिएका गुत्थीहरूको अर्थ त्यहीँ खोजिरहेका छन् जहाँ समाधानलाई तर्कले प्रस्तुत गरेका छन् र त्यसमा अनुसन्धान गर्नका लागि भावी पुस्तालाई सूत्र दिएका छन् । ब्रह्माण्डको बारेमा होस् कि जीवन र जग तका बारेमा होस् केही सूत्र दिएका छन् जसको उत्पत्तिमा ईश्वरको त्यही अपरम्पार शक्तिको प्रभावलाई आधार मानिएको छ ।  पूर्वीय दर्शनमा त्यस्ता धेरै प्रमाणहरू

कसैले भन्छन्- जीवन त पानीको फोका हो कुनै पनि बेला फुट्न सक्छ र हावामा बिलाउन सक्छ, पञ्चतत्वको मिश्रण हो कुनै पनि बेलामा बिलाउन सक्छ । यो फगत भौतिक वस्तु हो, यसको नाश भएपछि कतै पनि कुनै अवशेष रहँदैन । फगत भौतिक तत्वहरुको नष्ट हुनु हो एक दिन, हुन्छ हुन्छ । 

तर कसैले भन्छन्- यो मानव जीवन त चौरासी लाख विभिन्न प्राणीगत जीवन घुमेर मात्र मानव जीवनमा परिणत हुन्छ । बडो मुस्किलले मात्र यो मानव जीवन पाइन्छ । पूर्व जन्ममा गरेको बडो पुण्यका प्रतापले मात्र यो जुनी पाइएको हो । यसको सदुपयोग गर्नुपर्छ । यसको सदुपयोग गर्ने भनेको परोपकार गर्ने र भगवद्भक्तिमा जीवनलाई समर्पित गर्ने हो । अनि मात्र पुनर्जन्म हुँदैन । र त्यसो भन्नेले  महाभारतको भीष्म पर्वमा श्रीकृष्णले नारायणका रुपमा आफ्ना मित्र नरका रुपमा रहेका अर्जुनलाई भनिएको भनेर मानिएको छ ।

अझ भनिएको छ- श्रीकृष्णले अर्जुनलाई विश्वरुप नै देखाएर आफू खराब कामको निमिट्यान्न पार्न यो संसारमा अवतरण भएको हुँ, जो जो मेरा शरणमा आउँछन् ती सबैलाई म आफूमा समाहित गरेर पुनर्जन्मको भारबाट मुक्ति दिलाउँछु तर म बारम्बार ती खराब शक्तिसँग लड्न र तिनलाई परास्त गर्न यो मृत संसारमा अवतारको रुपमा आइरहन्छु । सम्भवामि युगे युगे । म आफूलाई त थाहा हुन्छ म कहाँ छु तर अरूमा म समाहित हुँदा मेरो क्षमता मात्र म दिन्छु, र आवश्यकता समाप्त भएपछि उसलाई छोडेर जान्छु । उसलाई म प्रवेश गरेको पनि थाहा हुँदैन र म गएको त्यो बेलामा मात्र थाहा पाउँछ जब उसको क्षमतामा ह्रास आउने छ । त्यसका लागि उसले केही प्रयास पूर्व जन्ममा  गरेको हुन्छ, केही प्रयास यही जन्ममा गरेको हुन्छ र मात्र उसमा त्यो दैवी क्षमता आउँछ । त्यो क्षणभङ्गुर हुन्छ । सायद त्यसैले भनिएको होला, जीवन क्षण भङ्गुर छ । त्यसैले जे जे गर्ने हो , बेलैमा गर्नुपर्छ भनिएको होला । 

त्यसले के कुराको पुष्टि हुन्छ भने यो मृत्यु लोकमा आउनका लागि पहिले नै कुनै तयारी भएको हुन्छ जसलाई पूर्व जन्म भन्छौँ र त्यसपछिको पनि तयारी त्यही बेलामा हुन्छ जसलाई हामी  पुनर्जन्म भन्छौँ । हामी त फगत पात्र हौँ प्राणीहरू, जीवहरू , वनस्पतिहरू र यो संसारका दृश्य अदृश्य पदार्थहरू, अणुका कणहरू र विषाणुका कणहरू । कोही छ यसको अदृश्य सञ्चालक अनि व्यवस्थापक । त्यसले जसरी ठिक समयमा सूर्यको पदार्पण हुन्छ हाम्रो आँगनमा र आँखाबाट ओझेल भएको दृश्यले भ्रमित पारेको छ, समयबद्ध चक्रअनुसार , त्यसै गरी सम्पूर्ण ब्रह्माण्डको एउटा स्वचालित यन्त्रझैँ कसैको इसारामा चलिरहेको हुन्छ चलिरहेको हुन्छ । यस्तो कुरा लाखौँ वर्षदेखि, मानव सभ्यताको उत्पत्ति भएर चेतनाको सञ्चार हुन थालेदेखि सुनियो र भनिया तर त्यसलाई लेखिएन । वेदसमेतलाई लेखिने र सम्पादन गर्ने भएकाले होला, ती कृष्णलाई वेद व्यास भनियो र तिनैले पछिल्लो सभ्यताको लिपिबद्ध गर्ने अनुसन्धान गरेछन् । 

हामीसँग भएका श्रुति र स्मृतिको लेखन कार्य त धेरै पछि भएको कुरा महाभारतले पनि बताउँछ । जुन महाभारत, पहिले जय भनिन्थ्यो, त्यसैलाई पञ्चवेद पनि भनियो । अझै भनिन्छ । पञ्च वेद भनिनु पर्ने कारण के थियो भने त्यो बेलामा वेदको अध्ययन क्लिष्ट मानिन्थ्यो र एउटा वर्गलाईमात्र त्यसको अध्ययनको अनुमति थियो । त्यसैले वेदको समेत सबै ज्ञान राखेर तयार गरिएको तर सवैका लागि सुन्न, पढ्न र अध्ययन गर्न खुला गरिएकोले महाभारतको महत्त्व बढेको बुझ्न सकिन्छ । 

भनिन्छ, व्यासका लागि त्यस्तो पञ्चम वेद लिपिबद्ध गर्ने एक जना लिपिकर चाहियो । जे जे श्री कृष्ण द्वैपायन व्यासले भन्ने हो, त्यो छिटो छिटो लिपिबद्ध गर्नु पर्ने भयो । कारण थियो, समय थोरै छ । अनुमान गर्न सकिन्छ , त्यो बेलामा लिपिका विशेषज्ञ सायद गणेशमात्र थिए । अहिले पनि हामी विद्याका देवताको रुपमा गणेश र देवीको रुपमा सरस्वतीलाई मान्छौँ र परम्परागतरुपमा पूर्वीय सनातनधर्मीहरुले पूजा पनि गर्ने चलन छ । पूजा नगरे पनि गणेश र सरस्वतीलाई हामीले शिक्षा र विद्याका कुरुवंशको इतिहास लेख्नु थियो । व्यासलाई के हुँदैछ भविष्यमा थाहा थियो र त उनले जन्मेजयका लागि इतिहास लेखाए किनभने जन्मेजयले पक्कै बुझ्न खोज्नेछन् पुर्खाको इतिहास आफ्नो बुढाबाजेसँग जो त्रिकालदर्शी पनि हुन् र आधिकारिक वक्ता, रक्षक र सञ्चारक पनि हुन् अनि भगवानका अवतारमध्येका पनि हुन् अनि चिरञ्जीवी पनि हुन् । सबै झलझली देखेका छन् अनुपम क्षमताका आधारमा र त्यही कुरा लेखेका छन् । त्यस्तो लिपिकर हुन सक्ने अद्भुत व्यक्तित्व को हुन सक्थ्यो त त्यो बेलामा भनेर खोजियो, त्यस्तो लिपिज्ञ र लिपिकर त महादेवका पुत्र गणेशमात्र हुन सक्थे र भनियो पनि । उनले पनि एउटा अड्को थापे र भने-म त लेखुँला तर मेरो लेखाइको बेगसँग व्यासको कविताको बेग पनि उत्तिकै प्रवाहित हुनुपर्छ । कतै अडिनु हुँदैन । जव अडिनु पर्छ, म अलप हुनेछु । 

आखिर व्यासका लागि त्यो सबै भोलिको दृश्य पहिले नै लेख्नु थियो त्रिकालदर्शीे स्वप्नद्रष्टाको हैसियतले । त्यसलाई त्यो बेलामा जय नाम दिइएको थियो । अनि व्यासले यो समस्याको समाधान यसरी निकालेका रहेछन्- ठिकै छ, तर मैले भनेको कुरालाई त्यो बेलामा मात्र लिपिबद्ध गरियोस् जव त्यसलाई गणेशले अर्थ बुझेरमात्र लेख्नेछन् । अनि त व्यासले कतिपय कुराहरू रहस्यात्मक र गुत्थीसहितका शब्द र वाक्य भनेपछि त्यसको अर्थ खोज्दाखोज्दै समय लाग्न थाल्यो जसले गर्दा व्यासलाई पनि आफ्ना कल्पनाका वाक्यहरूलाई अघि बढाउन सहज भएको थियो रे । लेखाइ सम्पन्न गर्न पनि सम्भव भएको थियो रे र आज पनि हामीले त्यसलाई अक्षरमा देख्न पाएका छौँ । 

त्यही अठार पर्व महाभारतभित्रको भीष्म पितामहले युद्धको नायकत्व लिइरहेको बेलाको कथा हो, गीताको कथन, गीतको वाचन । एउटा नयाँ दर्शनको उत्पत्तिको प्रसव वेदनाको मध्यमा महाभारत रुपी विश्वयुद्ध भएको थियो र त्यो विश्वयुद्धको सूत्रपात पारिवारिक कलहले बीजारोपण गरेको थियो । त्यो पारिवारिक कलह धेरै पहिले देखिको प्रायोजन थियो भन्ने कुरा महाभारतको सर्सर्ती अध्ययनबाट पनि थाहा पाउन सकिन्छ । अनि त्यही महाभारतमा बोलिएको केही भनाइहरू नै दर्शनको केन्द्रबिन्दु मानिनु थियो , मानियो । 

अर्थात् श्रीमद्भगवत गीता जसलाई भनिन्छ, त्यो त्यहीँबाट, १८ पर्वमध्येको महाभारतको भीष्म पर्वबाट निकालिएको १८अध्यायको भावना हो । आज त्यही शिक्षा सार नै विश्वका अनुपम सिद्धान्त बनेको छ मानव जीवनका लागि , मानव जातिका लागि र विश्वको अनुपम खजाना मानिएको छ । 

प्रसङ्ग छ युद्ध विमुख हुन लागेका मित्र अर्जुनलाई युद्ध गर भन्ने आदेशसहितको मन्त्रणाको भाग । त्यहाँ कस्तो रहस्यात्मक अवस्था सृजित छ भने स्वयं श्रीकृष्ण आफू हतियार नउठाउने, कसैमाथि पनि आक्रमण नगर्ने र आफू अहिँसात्मक सिद्धान्तका प्रतिपादक देखिन्छन् तर अहिँसाको प्रयोगले हिँसाको अन्त्य गर्नु जरुरी छ भनेर आफ्नो जन्म यो मृत्युलोकमा भएको कुरामा उनी अत्यन्त सजग छन् र आफ्नो दैवी कर्तव्यप्रति अत्यन्त गर्व र उत्तरदायित्व वहन गर्नका लागि उन्मुख र बचनबद्ध देखिन्छन् । 

भगवानको गीत । भगवानबाट भनिएको गीत । भगवानका वारेमा गाइएको गीत, गीता । कतिपय कुराहरुमा जीवन र जगतलाई जोड्ने पक्षमा जोड दिइएको छ । शरीर नश्वर अनि त्यही शरीरभित्रको प्राणचाहिँ आत्माको रुपमा नश्वर अनि त्यो अजर अमर र जीवनान्तरण हुने आत्मा पुनर्जन्मको रुपमा देहान्तरण हुनेछ रे । निष्काम कर्म अनि परिणामप्रति विमोहभाव राख्नु पर्ने रे ! किन रे भने कर्मको परिणाम त आउँछ आउँछ जसमा कसैको पनि नियन्त्रण सम्भव छैन तर कर्म ने नगरे त कसरी परिणामका वारेमा सोच्न सकिन्छ र ?

त्यो मान्छेमात्र स्थितप्रज्ञ अर्थात् दृढ हो जो आफ्नो कर्मप्रति निष्ठावान छ तर परिणामप्रति आशावान त होला तर जे परिणाम आउँछ , त्यसलाई तत्काल स्वीकार गर्ने हिम्मत गरोस् । सवै कर्महरू ईश्वरप्रति समर्पण गर अर्थात् कुनै त्यस्तो शक्ति छ जसले सवै ब्रह्माण्ड सम्पादन गरिरहेको छ सूक्ष्मातिसूक्ष्म तरिकाले , त्यसैमा आफूलाई समर्पण गर अर्थात् सवै कर्म उसैमा समर्पण गर्दै परिणामको मोहबाट टाढा बस । किनभने परिणाम आउँछ आउँछ जुन तिम्रो नियन्त्रणभन्दा बनीबनाउ परिणामको रुपमा हुन्छ । सवैमा आफूजस्तै मान्ने वा समभावको गुणले मात्र कर्मयोगको अभ्यास हुनेछ र फलाफलको तृष्णाबाट टाढा जीवनको सम्मान गर्ने बानी बस्नेछ । 

यसरी यो सांसारिक जीवनमा, मृत्युलोकमा निष्काम कर्मले सबैको काम चल्ला ? या नियति भन्ने केही हुँदैन मात्र एउटा भ्रम हो ? या कर्मका लागि नियतिले डोर्‍याउनै पर्ने हो ? या कर्म साँच्चै परिणामका लागि नगरी परिणाम  निरपेक्ष भएर गर्ने हो ? या निरुद्देश्य पनि कुनै कर्म हुन्छ र ? परिणामको चिन्ता नगरी कर्म गर्ने प्रेरणा पनि प्राप्त हुन्छ र ? अनि त्यही गीताका अर्थहरू अझैसम्म पनि पूर्ण हुन सकेका छैनन् र अझै कैयौँ हजार वर्षसम्म अर्थ लगाइने छ जीवन र जगतका लागि एउटा अर्थ जुन कहिल्यै पूर्णता पाउने छैन ।

र अन्त्यमा, फेरि जीवनको एउटा अर्को महायात्राका वारेमा लेख्नु परेको छ । २०७७ साल पुस १५गते मेरी कान्छी दिदी अर्थात् पिताजीकी कान्छी बहिनी षोडशादेवी पौडेलेको यस धराधामबाट परमधामतर्फको यात्रा सुरु भयो । ८९ वर्षकी हुनुहुन्थ्यो । स्वास्थ्यमा खासै कुनै समस्या पनि थिएन । यस पटकको ठन्डाले उहाँलाई समाएछ । केही दिन पहिले मात्र नयाँ प्रविधिले साक्षात्कार गरेर कुरा भएको थियो । खुसी हुनुहुन्थ्यो । पुस १२ गते भाइ तारानाथ पौडेलले आमा अलि बिरामी हुनुहुन्छ भने । जानु पर्दथ्यो दिदीलाई भेट्न । के चाँजो परेन । भनौँ यति चाँडो हामीलाई छोडेर जानुहोला भन्ने लागेको थिएन । उहाँ धार्मिक हुनुहुन्थ्यो । श्रीकृष्ण प्रणामी धर्मकी साधिका हुनुहुन्थ्यो । पक्कै नै उहाँको विश्वास अनुसार अर्को जन्म नहोला र श्रीकृष्णको परमधाममा जानु भयो होला ।

उहाँको परमधाम गमनलाई हामीले अश्रुपुरसित आँखाले श्रद्धा सुमन दिनु पर्ने भयो । उहाँ परमधाम जानु भयो भन्ने विश्वास पनि मान्नु परेको छ , अव उहाँसँग भौतिकरुपमा फेरि भेट हुँदैन । भान्दाजु, भाइ , भान्जी दिदीहरु, बहिनीहरु सबैमा समवेदना । हामी पनि चिन्तित छौँ किनभने पिताजीहरू तीन भाइ, फुपूहरू ती नओटी मध्ये बाँकी कान्छी दिदीको पनि अव सामीप्य ता टुट्यो । समाप्त भयो । यो संसार यस्तै रहेछ भनेर चित्त बुझाउनु बाहेक अरु केही पनि रहेछ । गीताले भनेजस्तै भनौँ- उहाँको नश्वर शरीर हामीसँग नरहे पनि उहाँको अमर आत्मा यतै कतै छ , त्यसको शान्तिको कामना गरौँ । 

 

 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।