लोकसंवाद संवाददाता | समाज | बैशाख १, २०७६
लुक्ला विमानस्थलमा Asphalt Concrete रन वे छ । स्थानीयका अनुसार यो विमानस्थल सन् १९७१ देखि सञ्चालन भएको हो ।
एयरपोर्ट सन् १९६४ मा एडमण्ड हिलारीकै सुपरभिजनमा बन्न सुरु भएको थियो । तर, उनी त्यो ठाउँमा एयरपोर्ट बनाउन अनिच्छुक थिए भन्ने कुरा उतिबेलाका केही रिर्पोटले देखाएका छन् । उनी अन्यत्रै (अहिले बनेको ठाउँमा होइन) एयरपोर्ट बनाउन चाहान्थे । यसका लागि उनले स्थानीयको जग्गा लिने प्रयास पनि गरे । तर, केही स्थानीयले उनलाई साथ दिएनन् । त्यसपछि अहिलेकै ठाउँमा एयरपोर्ट बन्यो । जसका कारण यो एयरपोर्ट मोस्ट एक्सट्रिम एयरपोर्टको सूचीमा छ ।
एयरपोर्टमा पटक-पटक जहाज दुर्घटना भएका छन् । आज बिहान सोही एयरपोर्टमा दुर्घटनाको खबरले नयाँ वर्षको रमाइलोलाई खल्लो बनायो ।
मेरा मित्र रसुवाका दिनेश खड्काजी, जो लुक्ला जानका लागि नयाँ वर्षको अघिल्लो दिन नै रामेछापको मन्थली पुगिसकेका थिए ।
नयाँ वर्षको दिन एका बिहानै उनले नयाँ वर्षको शुभकामना भन्दै फोन गरे । मैले पनि उहाँलाई शुभकामना दिँदै शुभयात्रा भने । त्यसको केही बेरमै उनले मलाई फोनमार्फत् जहाज दुर्घटना भएको जानकारी गराए । मन आत्तियो । उनले सविस्तार भने, ‘मैले टिकट पाएको छैन बसन्तजी, उताबाट आउने जहाज टेकअफ हुने बेलामा दुर्घटना भएछ ।’
लुक्लामा के भएछ भनेर अनलाइनमा समाचार खोज्न थाले । त्यतिञ्जेलसम्म अनलाइनमा समाचार प्रकाशित भइसकेको थिएन ।
मन निकै भारी भयो । नेपाल प्रहरीका केही उच्च अधिकारीसँगको कुराकानीमा दुर्घटना भएको अपुष्ट खबर पाएँ ।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको जहाजले रामेछापको मन्थलीका लागि उडान भर्दै गर्दा रन वेबाट चिप्लिएर ल्याण्ड गरेको अवस्थामा रहेको मनाङ एयरको हेलिकप्टरमा ठोक्किएर दुर्घटना भएको रहेछ भन्ने जानकारी पाएँ ।
दुर्घटनाले मलाई सन् २०१३ को लुक्ला यात्रा सम्झना गरायो । त्यसयता म त्यहाँ गएको छैन । त्यहाँबाट फर्केको दिन पनि (सन् २०१३ सेप्टेम्बर २६ मा) एअर डाइनेस्टीको ९-एइएक्स कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो ।
लुक्ला विमानस्थललाई तेञ्जिङ–हिलारी एयरपोर्ट भनिन्छ । यी दुई सगरमाथा आरोहीको सम्मानमा एयरपोर्टको नाम राखिएको हो ।
यो विमानस्थल सगरमाथाको मुख्य प्रवेश नाका मानिन्छ ।
यो विमानस्थललाई सन् २०१० मा द हिस्ट्री च्यानलले ‘मोस्ट एक्सट्रिम एयरपोर्ट’ भनेको थियो ।
लुक्ला एयरपोर्टको Gradient ११.७ प्रतिशत छ । ( Gradient :The grade (also called slope, incline, gradient, mainfall, pitch or rise) of a physical feature, landform or constructed line refers to the tangent of the angle of that surface to the horizontal.)
d=run
Δh=rise
l=slopelength
α = angle of inclination
लुक्ला विमानस्थलको रन वे १७२९ फिट लामो र ९८ फिट चौडा छ । रन वेको तल्लो र माथिल्लो विन्दुको फरक १ सय ५० फिट छ, जुन १२ डिग्रीको कोणमा छ । एयरपोर्टको एलिभेसन ९ हजार तीन सय ३४ फिट छ ।
समुद्री सतहबाट करिव ९ हजार ३ सय ३४ फिटको उचाइमा अवस्थित लुक्लाको तेञ्जिङ-हिलारी विमानस्थलमा भएका दुर्घटनाको अवस्था निकै भयावह छ । सन् १९७३ अक्टुबर १५ मा भएको आरएनए-नाइन एन एबिसीदेखि आइतबार भएको समिट एयरको नाइन-एनएमएएचसम्मको दुर्घटनाको अवस्थाले त्यहाँको रन वे कति जोखिमपूर्ण छ भन्ने देखाउँछ । विज्ञको नजरमा यो विमानस्थल स्थानान्तरणबारे थुप्रै राय होलान् । कतिपय अवस्थामा मौसमी प्रतिकूलता र अन्य यान्त्रिक गडबडी पनि सहायक कारण होलान् ।
सगरमाथाको मूल प्रवेशद्वारका रूपमा रहेको यो विमानस्थलले अहिलेको वसन्त ऋतुको पर्यटकीय चापलाई कुन हदसम्म धान्न सक्ला र कति सुरक्षित बनाउन सक्ला ? हामी केवल अनुमान मात्रै गर्न सक्छौं ।
सन् २०१६ को एक तथ्यांकलाई हेर्ने हो भने विभिन्न एयरलाइन्सबाट लुक्ला पुग्ने यात्रुको संख्या १ लाख १९ हजार ८ सय १ देखिन्छ, जुन हरेक वर्ष बढ्दो क्रममा छ । सन् १९९१ जुन ९ मा आरएनएकै ९-एनएबिए जहाज दुर्घटनामा परेको थियो । त्यसैगरी सन् १९९२ सेप्टेम्बर २६ मा आरएनएकै ९-एनएसीआई, सन् २००४ मे २५ मा यती एयरलाइन्सको नाइन-एनएएफडी, सन् २००४ अक्टुवर १ मा सीता एयर, सन् २००५ जुन ३० मा गोर्खा एयरलाइन्स, सन् २००८ अक्टुवर ८ मा यती एयरलाइन्सको ९-एनएएफई कलसाइन रहेको जहाज दुर्घटनाग्रस्त भएको थियो । यसैगरी सन् २०१० अक्टुवर १२ मा सीता एयरको ९-एनएएचबी, सन् २०१३ सेप्टेम्बर २६ मा एयर डाइनेस्टीको ९-एनएइएक्स हेलिकप्टर दुर्घटनामा परेको थियो । समिट एयरको फ्लाइट ४०९ सन् २०१७ मे २७ मा दुर्घटनामा परेको थियो ।
पछिल्लो समय रामेछापको मन्थलीबाट लुक्लाका लागि दैनिक कम्तीमा १० देखि ३० वटासम्म फ्लाइट छन् ।