३३ करोडको लागतमा पाँच पक्की पुल निर्माणको सम्झौता

३३ करोडको लागतमा पाँच पक्की पुल निर्माणको सम्झौता

लोकसंवाद संवाददाता  |  समाज  |  माघ १, २०७७

मकवानपुर । पुल अभावका कारण आवतजावतमा समस्या झेल्दै आएका स्थानीय बासिन्दाका लागि मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलामा  ३३ करोडको लागतमा पाँच पक्की पुलको निर्माणका लागि आज सम्झौता गरिएको छ ।  

मनहरि गाउँपालिका तथा  पुल निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीबीच आज सम्झौता भएको गाउँपालिकाले जनाएको छ । विभिन्न चार स्थानमा पुलको निर्माण गर्न हिराचन बानियाँ जेभी र एउटा पुलको निर्माणका लागि भैरवनारायण जेभीलाई ठेक्का दिइएको बताइएको छ ।  

गाउँपालिकाको  लागि टार  र वडा नं ४ को टुग्रा जोड्ने पुल, वडा नं ४ को गोलघर र  वडा नं ३ को मिलडाँडा जोडने पुल र कालिदमार जोड्ने पुल तथा वडा नं १ र २ लाई जोडने गरी पक्की पुल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।  
हाँडीखोला क्षेत्रमा खोला तथा खहरेमा पुल अभावको समस्या भोग्दै आएको त्यस क्षेत्रमा २४ महिनाभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । ती पुलको निर्माणपछि मनहरि गाउँपालिका–१ र २ का बासिन्दालाई हेटाँैडा उपमहानगरपालिका भएर मनहरि गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष उप्रेतीको भनाइ छ ।