जापानमा गैरआवासीय विदेशीलाई जापान प्रवेशमा पुन: रोक !

जापानमा गैरआवासीय विदेशीलाई  जापान प्रवेशमा पुन:  रोक !

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २९, २०७७

जापान ।    जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ ।  कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।   

    प्रधानमन्त्री योशिहिडे सुगाले सबै देशका गैरआवासीय नागरिकलाई जापान प्रवेश गर्न नदिने बुधबार घोषणा गर्नुभयो ।  जापानले कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि देशका धेरै क्षेत्रमा सङ्कटकाल लगायतका कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेको छ ।

    पूर्व निर्धारित अत्यावश्यक यात्राका लागि भने कडा मापदण्ड पालना गरेर मात्रै प्रवेश गर्न दिने व्यवस्था पनि सरकारले गरेको छ । विदेशीलाई प्रवेश निषेध गर्ने निर्णय आगामी फेब्रअरी ७ तारिखसम्म लागू हुने अधिकारीहरूले जनाएका छन् । आवश्यकतानुसार सो अवधि लम्बिन पनि सक्ने उनीहरूले स्पष्ट पारेका छन् ।    जापानमा अहिले दैनिक हजारौँ सङ्क्रमित हुने गरेका छन् भने सङ्क्रमितहरूको सङ्ख्या पहिलाभन्दा बढी हुने गरेको छ ।