भारतको दिल्ली प्रदेश सरकारले विद्यालय खुल्ने अध्ययन अध्यापन कार्य शुरु

भारतको दिल्ली प्रदेश सरकारले  विद्यालय खुल्ने अध्ययन अध्यापन कार्य शुरु

लोकसंवाद संवाददाता  |  विदेश  |  पुष २९, २०७७

 भारत ।  भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने निर्णय गरेको छ ।  भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको हो । 

सरकारले अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको बुधबार जानकारी दिएको छ । अन्य कक्षाको बारेमा भने केही बताइएको छैन ।  विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अविभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले जनाएका छन् । 

विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् ।  विद्यालयहरू यही जनवरी १८ तारिखदेखि सञ्चालन गर्ने तयारी भएको पनि उनीहरूले जानकारी दिएका छन् ।

दिल्लीमा गत वर्ष सन् २०२० को मार्चदेखि विद्यालयहरू बन्द नै रहेका थिए । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो ।  

यसअघि पनि विद्यालय खोल्ने तयारी भए पनि बन्द भएदेखि अहिले पहिलो पटक विद्यालय खोल्न लागिएको अधिकारीहरूले जनाएका छन् । भारतकै अन्य कतिपय प्रदेशहरूमा भने केही समय अगाडिदेखि पठन पाठन सञ्चालन गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण कम देखिएका ठाउँहरूमा पढाइ सञ्चालन गरिएको हो ।  

 दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीहरूलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ । नयाँदिल्लीमा मात्रै अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या तीन हजार १७९ रहेको छ ।