चालु बजेटको ९ महिना : पुँजीगत खर्च ३५% मा सीमित

चालु बजेटको ९ महिना : पुँजीगत खर्च ३५% मा सीमित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २, २०७६

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना सकिए पनि विकास बजेट खर्चको स्थितिमा सुधार आउन सकेको छैन। दुई तिहाइ बहुमत र अर्थतन्त्रमा विज्ञ अर्थमन्त्री पाएको वर्तमान सरकारले विगत सरकारको तुलनामा खर्च बढाउने अपेक्षाविपरीत विकास खर्च निराशाजनक देखिएको हो।

सरकारले नौ महिनामा पुँजीगत (विकास) बजेटतर्फ गरेको खर्च बल्ल करिब ३५ प्रतिशत पुगेको छ। सरकारी आय–व्ययको तथ्यांक राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैत मसान्तसम्म एक खर्ब नौ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ। यो चालु बजेटमा राखिएको लक्ष्यको ३४.८७ प्रतिशत हो। सरकारले बजेटमा यो वर्ष तीन खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भए पनि मध्यावधि समीक्षाबाट उक्त लक्ष्य घटाएको छ। मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री युवराज खतिवडाले लक्ष्य अनुसार खर्च गर्न नसकिएको स्वीकार गर्दै बजेटको आकार घटाइएको जानकारी दिएका थिए।

कुल १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट मध्यावधि समीक्षाबाट घटाएर ११ खर्ब ९९ अर्बमा सीमित गरिएको छ। त्यस्तै, तीन खर्ब १३ अर्ब रुपैयाँको पुँजीगत बजेटलाई घटाएर दुई खर्ब ६५ अर्ब रुपैयाँमा झारेको छ। अर्थमन्त्री खतिवडाले आर्थिक वर्षको सुरुमा सन्तोषजनक नदेखिएको पुँजीगत खर्चले गति लिने बताउँदै आएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।